राजनीति ठूलो म्याराथन धावकले डौडिने दौड जस्तै हो : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर १६, सोमबार



भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले राजनीति गर्नेहरुका निम्ति हारजित मूल  कुरा नभएको बताउनुभएको छ । उहाँले निर्वाचन भनेको ठूलो म्याराथन धावकले दौडिने दौड जस्तै भएको बताउनुभयो । 

राजनीतिमा जनताको सुख र समृद्धिका निम्ति जो निरन्तर रुपमा लाग्दछ, उसलाई जनताले जिताउने बताउँदै राजनीति गर्ने सबै मुलुकको समृद्धि र जनताको सुखमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित कैशाल डाँडामा निर्माण हुने भ्यू टावरको शिल्यान्यास गर्दै बस्नेतले निर्वाचन प्रक्रिया भनेको जनताले आफ्नो मत प्रकट गर्ने प्रणाली भएकाले कुनै एउटा परिणामलाई आधार मानेर यस्तो गन्तव्यमा पुगियो भनेर जित्ने र हार्ने दुवैले ठान्न नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, हामीले राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यबद्धता भन्ने नारा अगाडि सारेका छौं, ‘म कृष्ण भँडेल जीलाई बधाई दिन चाहन्छु, समग्र भक्तपुरको विकासको जुन मार्ग हामीले अगाडि सारेका छौं, त्यसमा उहाँलाई सहकार्य गर्न म अनुरोध गर्दछु । हामी सबैको एउटै उद्देश्य भनेको भक्तपुरको समृद्धि र विकास नै हो ।’

भक्तपुर क्षेत्र नम्बर १ को निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार पराजित हुनुमा केही प्राविधिक कमजोरी रहेको स्वीकार्दै सांसद बस्नेतले आफूहरुले जानीजानी कुनै पनि कमजोरी नगरेका कारण यस्तो कमजोरीलाई भविष्यमा नदोहो¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीबाट कहिँकतै कमजोरी भएका छन् भने हामी सच्याउँछौं । जानेर हामीले गल्ती गरेका छैनौं, नजानेर गरेको गल्तीलाई तपाईले औल्याइदिनुभएको छ । भविष्यमा हामी यस्तो कमजोरी गर्नेछैनौं ।’

सांसद बस्नेतले कैलाशडाँडामा निर्माण हुन लागेको भ्यू टावर उपत्यका वरिपरिका २२ वटा भन्दा बढी हिमश्रृंखला अवलोकन गर्न सकिने बहुआयामिक भवन पनि हुने बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘यहाँबाट प्राकृतिक सुन्दरता र आधुनिक शहरीकरणको दृश्य अवलोकन गर्न सकिन्छ । यसलाई प्रबद्र्धन गर्नको निम्ति यहाँ होमस्टे व्यवस्थापन समिति गठन भएको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।’ 

स्थानीय उत्पादन, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यतालाई प्रबद्र्धन गर्दै यस क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले योजनाबद्ध कार्यक्रमहअरु अगाडि सारेको बताउँदै सांसद बस्नेतले यसको लागि भ्यू टावर निर्माण, होमस्टे, प्याराग्लाइडिङ लगायत यस क्षेत्रमा औद्योगिक क्षेत्र विस्तार गर्ने, इको भिलेजको अवधारणा समेत अगाडि सारिएको बताउनुभयो । 

उहाँले साँगामा उपत्यकाकै सबैभन्दा ठूलो झोलङ्गे पुल निर्माण हुँदै गरेको बताउँदै  नैचाल काक्राबारीका क्षेत्रलाई एउटा इको भिलेजको रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘घ्याम्पे डाँडादेखि अनन्तलिङ डाँडालाई ग्रामीण पर्यटनको विकास गर्न विविध कार्यक्रहरु अहिले अगाडि बढिरहेको छ ।’ 

सो कार्यक्रममा सांसद बस्नेतले उक्त क्षेत्रमा १० वटा होमस्टे सञ्चालन गर्नको निम्ति १/१ थान कम्बल, २ थान रिसानी २ थान डस्टबिन, २ थान ह्याङगर र २ थान डोरम्याट वितरण गर्नुभयो ।