उपसभामुखको हैसियतमा तुम्बाहाम्फेले सभामुखको उम्मेदवारी दिन मिल्दैन : देव गुरुङ

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ पौष २८, सोमबार


काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेदवार बन्न नपाउने बताउनुभएको छ । 

रिपोटर्स क्लबाद्वारा आयोजित साक्षात्कारमा बोल्दै गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उहाँले बताउनुभयो । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ ।’ गुरुङले भन्नुभयो । 

उपसभामुख पदमा रहेर सभामुखको उम्मेदवारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गर्नभएको हो । उहाँले उम्मेदवार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताउनुभयो । उहाँले संवैधानिक रुपमा सभामुखमा उम्मेदवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेदवार तय नगरेको समेत बताउनुभयो ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको समेत बताउनुभयो । उहाँले व्यक्तिगत इच्छा, आकांक्षा पूरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।

You may also like: