लकडाउनमा आफ्ना नानीलाई के गर्ने ?

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख २२, सोमबार


- राजु घिमिरे

कोरोना भाइरसको महामारीबाट बच्न र जोखिम कम गर्नका लागि हाम्रो देशको सरकारले २०७६ चैत्र ५ गते बेलुका सम्पूर्ण विद्यालय बन्द गर्ने र एसइइ परीक्षा समेत स्थगित भएको निर्णय गर्यो । यो समाचार सुन्ने बित्तिकै विशेष गरी एसइइ तयारीमा रहेका बालबालिका र उनीहरुका अभिभावकहरु निराश भए । 

यसैगरी कक्षा ११ र १२ का परीक्षाहरु समेत स्थगित भए । अब कहिले परीक्षा हुने होला भन्ने सबैमा खुल्दुली छ । भेटघाट भएका सबै अभिभावक र विद्यार्थीहरुको एउटै भनाई सुनिन्छ “परीक्षा सकिएको भए आनन्द हुने थियो, नसकिएर सा¥है चिन्ता भएको छ ।” एसइइ परीक्षा स्थगित भएको समाचार सुनेर ललितपुरस्थित एक विद्यालयमा पढ्ने बालिका टाउको दुखेर सामान्य विरामी नै परिन् ।  अभिभावकको राम्रो हेरचाह, परामर्श र साथीहरुसँग कुराकानी गरेपछि उनलाई सञ्चो भयो । 

दिउँसोसम्म परीक्षा हुने भनिएकोमा बेलुका एक्कासी नहुने भनेपछि परीक्षाको तयारी गरेर बसेका सबै बालबालिकाको मनमा डर, चिन्ता र अन्योलको वातावरण हुनु स्वभाविक नै हो । सम्पूर्ण तयारी पूरा भइसकेको थियो, विद्यालयको अतिरिक्त कक्षा पढेको थियो, ट्युशन पनि पढेको थियो, घरमा पनि मरि–मरि राती नसुती–नसुती पढेको थियो अनि परीक्षा दिन पाइएन, लौ अब यो भन्दा नराम्रो के हुन्छ ? हामी सबैले मनन गर्ने कुरा हो । एक्कासी आउने वा आई परेको कुराले जुन सुकै व्यक्तिहरुको पनि मनस्थितिमा असर गर्दछ र त्यसलाई व्यवस्थित गरी मनलाई सम्हाल्न केही समय लाग्दछ ।

प्रत्येक बर्ष बालबालिकालाई फागुनको अन्तिम तथा चैत्रको आधासम्म बार्षिक परीक्षासकेर केही समय फुर्सद हुन्छ । अनि यहि समयलाई मध्यनजर गरी बालबालिकाले आफ्नो मामाघर जाने, आफन्तकोमा जाने, रमाईला ठाँउहरु घुम्ने लगायतका योजनाहरु बनाएका हुन्छन् । तर यसपाली यी सबै योजनाहरु कोरोनाको कारणले सफल हुन सकेनन् । परीक्षा सकेर कतै गई हालेका बालबालिका बन्दाबन्दीमा परेर लामो समय अड्किएर बस्दा पीडा महसुस भएको छ । सधैँभरि आमाबुवासँग बसिरहेको र अनि यस्तो महामारीमा चाहिँ उहाँहरुबाट टाढा भएर बस्दा कस्तो महसुस होला ? 

हामी सबैले एकपटक बालबालिका भएर सौचौँ त । यो भन्दा चिन्ताजनक र पीडादायक अवस्था अरु नहुन सक्दछ । काठमाण्डौ चोभारका दिदीभाइ साँखु र भक्तपुरका दाजुबहिनी सर्लाही मामाघर र आफन्तकोमा गएका थिए ।  बन्दाबन्दीले दुई महिनादेखि उनीहरु उतै अड्किए । आमाबुवा र छोराछोरी आ–आफ्ना ठाउँमा चिन्तामा बसेका छन् । लिन जान तथा आउन सक्ने अवस्था छैन र त्यसैगरी आउन वा पुर्याउन सक्ने अवस्था पनि छैन । यस्ता कतिपय अभिभावक र बालबालिका खाना समेत नखाएर चिन्तित अवस्थामा बसेका छन् । दुवै पक्षलाई यस्ता कुराहरुले नराम्रोसँग पिरोलेको छ । वास्तवमा हालको स्थितिले परिवारका सदस्यहरुबीच हुने एकअर्काको महत्व र माया ममताको अभावको अवस्थामा हुने बेचैनीलाई पनि राम्रोसँग महसुस गराएको छ ।

दैनिकजसो समाचारमा कोरोनाको कारणले बालबालिकामा परेका प्रभावहरु हामीले सुनेका अनि हाम्रो घरपरिवार र समाजमा महसुस पनि गरेका छौँ । प्रत्येक परिवारमा कुनै न कुनै प्रकारले बालबालिकाको अवस्थामा असर गरेको छ । हामीलाई थाहा छ कि बालबालिकाको पहिलो पाठशाला परिवार हो अनि उनीहरु अहिले पहिलो पाठशालामा बन्द भएर बसेका छन् । पहिलो पाठशालाका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई सम्हाल्न परेको छ । उनीहरुलाई दाहोरो भूमिका निर्वाह गर्नु परिरहेको छ । बालबालिका र अभिभावकको लागि यो एउटा महत्वपूर्ण अवस्था पनि हो ।

सहभागितामुलक रुपमा बिहानदेखि बेलुका गर्ने क्रियाकलापहरुको सूची बनाएर काम गर्न सकिन्छ । आफूले नै त्यस्ता क्रियाकलापहरु तयार नगरी उनीहरुलाई नै तयार गर्न लगाउँदा राम्रो जिम्मेवारीको महसुस हुन्छ । कहिलेकाहिँ उनीहरुलाई क्रियाकलापहरुको सूची बनाउन अप्ठ्यारो भएको समयमा सहयोग गर्नु हाम्रो ठूलो दायित्व हो । बालबालिकासँग गर्न सक्ने क्रियाकलापहरुमध्ये योग अभ्यास गर्ने, ध्यान गर्ने, चित्र बनाउने, गीत गाउने, गीत सुन्ने, कथा कविता पढ्ने र सुनाउने, अन्ताक्षरी खेल्ने, खानाका परिकार बनाउने, सरसफाई गर्ने, भान्साका काम गर्ने, चलचित्र हेर्ने, समाचार हेर्ने र सुन्ने, खेलहरु खेल्ने, कागजका खेलौना बनाउने, परिवारका बारेमा छलफल गर्ने, फुल रोप्ने, तरकारी रोप्ने, आदि हुन सक्दछन् । यी सबै कार्यमा बालबालिकाको रुची नहुन सक्दछ त्यसैले उनीहरुका ईच्छा अनुसारका कार्यमा सहभागी गराउँदै बाँकी क्रियाकलापहरुमा रुची जगाउने प्रयत्न समेत गर्नुपर्दछ ।

प्रत्येक बर्ष कुनै न कुनै देश तथा स्थानमा अनेकौँ प्रकारका महामारी र संकट आईरहेका हुन्छन् । यस बर्षको कारोना भाईरसले संसारलाई चकित बनाएको छ । प्रत्येक घरपरिवार, समाज र देशले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको सामाना गर्नुपरेको छ । हामीले जिम्मेवार रुपमा हाम्रा बालबालिकालाई परिस्थिस्तिको सामना गर्न सिकाउँदा उनीहरुको क्षमताको विकास हुन्छ । यसले गर्दा उनीहरुको मनोभावना राम्रो हुन्छ र हामी पनि असल अभिभावक हुन सक्दछौँ । 

   - घिमिरे बालअधिकारकर्मी हुन् । 


 

You may also like: