‘सुरेन्द्र यादव काठमाण्डौ स्वइच्छाले आउनुभयो, त्यो बेग्लै पाटो हो’  पूर्व प्रम भट्टराई 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख २७, शनिबार


काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्ना पार्टीका नेता डा. सुरेन्द्र यादवको काठमाण्डौको सम्मको यात्रा कति स्वभाविक वा अस्वभाविक त्यस बारेमा छलफल हुनुपर्ने बताएका छन् । 

संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै डा. भट्टराईले प्रश्न गरे, ‘सांसद कति स्वइच्छाले आउनुभयो होला ? वा ल्याइयो होला ? त्यो बेग्लै पाटो हो । तर एउटा कमन सेन्सले हेर्दा लकडाउनको बेला महोत्तरीसम्म पुगेर सांसदलाई रातारात किन ल्याउनुपर्दथ्यो ?’  

‘यो कुनै पूर्वाग्रह राखेर भनिएको नभइ, यस्ता खालका गतिविधिहरुलाई कानुनी र विधिसम्मत ढंगले सम्बोधन होस् भन्ने हाम्रो चाहना हो, भट्टराईले भने । 

भट्टराईले आफ्नो पार्टीको सांसद डा. सुरेन्द्र यादवको काठमाण्डौ सम्मको यात्रा कति स्वभाविक वा अस्वभाविक हो त्यस बारेमा छलफल हुनुपर्ने बताए । 

भट्टराईले प्रधानमन्त्री स्वयंले अर्काे पार्टी फुटाउनलाई अध्यादेश ल्याएको भन्नुले नैतिक प्रश्न उब्जाएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री हामी सबैको अभिभावक हो, उहाँ स्वयंले अर्काे पार्टी फुटाउनलाई यो अध्यादेश ल्याएको हो भन्नुहुन्छ भने त्यो नैतिक प्रश्न उब्जियो नि ।’

यस्तै पूर्व सभामुख एवं नेकपाका सांसद सुवास नेवाङले सांसद अपहरणको कुराका बारेमा यसै अधिवेशनमा यथार्थ जानकारी सार्वजनिक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी कुनैपनि नाममा अपराधिक कार्यहरुको पक्षमा छैनौं । तर यथार्थ घटनाको बारेमा भने छलफल हुनु जरुरी छ । हामी र हाम्रो दल जसले संविधान निर्माणको दौरानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हामी सदैव सचेत छौं भन्न चाहन्छु ।’

You may also like: