लिपु लेकमा भारतले निर्माण गरेको सडकका बारेमा सरकारलाई पूर्व जानकारी थियो : परराष्ट्रमन्त्री ज्ञवाली 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ बैशाख २८, आईतबार


काठमाण्डौ । भारतले लिपु लेकमा नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडकका बारेमा सरकारलाई पूर्व जानकारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सरकारलाई यस बारेमा पूर्व जानकारी भएको बताएका छन् । 

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन ।’ उनकाअनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल अगाडि बढेका थिए ।’

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।