प्रहरी परिसर काठमाण्डौको निचोड : ‘सांसद सुरेन्द्र यादव अपहरणमा परेका होइनन् ’

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ जेष्ठ ४, आईतबार


काठमाण्डौ । प्रहरी परिसर काठमाडौंले सांसद सुरेन्द्र यादव अपहरणमा नपरेको निचोड निकालेको छ।

सो घटना अपहरण नभएको प्रमाणसहित शुक्रबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको प्रहरीले जनाएको छ।

सांसद यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए।

सुरुमा काठमाडौं प्रहरी परिसरले जाहेरी नलिएपनि सरकारी वकिल कार्यालयको पत्रपछि उजुरी दर्ता गर्दै अनुसन्धान थालेको थियो। अनुसन्धान सुरु गरेको एक सातामा प्रहरीले फाइल बुझाएको हो।

प्रहरीको अनुसन्धान टोलीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरेर मुचुल्का तयार गरेको थियो। यस्तै अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि प्रहरीले बुझाएको छ।

काठमाडौं प्रहरी परिसर श्रोतका अनुसार सर्लाहीको गौतम होटल, काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्ट र काठमाडौंको म्यारियट होटलको सीसीटीभी फुटेज पनि बुझाइएको छ। जसमा डा यादव हाँसी खुशी गाडी चडेको देखिन्छ। अझै काभ्रेको मिलन ज्योति गार्डेन होटलमात मासु र ब्ल्याक लेबल खाएको देखिन्छ। त्यस्तै मेरियट होटलमा त हातमा मोबाइल हल्लाउदै सबै भन्दा अगाडी प्रबेश गरेको देखिन्छ। अफ्नै परिचय पत्र राखेर चेक इन र चेक आउट गरेको देखिन्छ। 

१० गते बिहान गौतम होटलमा खाना खाएका आईजी र सांसदको टोलीले राति काठमाडौं आउने क्रममा काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्टमा खाना खाएका थिए।

यस्तै काठमाण्डौ बाट संगै गएका साँसद उमा संकर अरगरिहा, महोत्तरीबाट सुरेन्द्र यादव संगै काठमाडौ आएका २ नं प्रदेश सांसद कौशल यादव, उनका भिनाजु, भान्जा, पी एस ओ र  ड्राइभरको बयानमा सबैले अपहरण नभइ राजनैतिक वार्ता गर्न राजिखुसी काठमाडौ आएको स्वीकारेका छन । स्वयं डा सुरेन्द्र यादबले विभिन्न संचर माध्यममा दिएको अन्तरबार्ता र उनले प्रहरीमा दिएको बयानको आधारमा प्रहरीले अपहरण हुने कुनै प्रमाण र आधार नभेटेकोले यो प्रतिबेदन बुजाएको कुरा अनुसन्धानमा संलग्न प्रहरी बताउछन।

यीबाहेक पनि अपहरण होइन भन्ने अन्य प्रमाण फेला परेको प्रहरीको दाबी छ।

‘उजुरीमा भनेजस्तो फोन कब्जा गरेको र जबरजस्ती ल्याएको देखिँदैन, उहाँका परिवारका सदस्यहरु पनि सँगै आएका छन्। आउँदा बाटोमा केही नेताहरुसँग कुरा गरेको देखिन्छ,’ अनुसन्धान अधिकृतले भने।

‘अपहरण के का लागि गरियो भन्ने पनि हामीले हेर्नुपर्छ। मन्त्री बनाइदिन्छु भनेर उसैको फाइदाका लागि कसैले अपहरण गर्दैन,’ उनले भने ‘हामीले लिखित प्रमाण नै फेला पारेका छौं, जसले अपहरण होइन भन्ने पुष्टि गर्छ।’

प्रहरीले उनीहरु पुगेका तीन वटै होटलका कर्मचारीलाई समेत त्यहाँ रहँदाको अवस्थाबारे सोधपुछ गरेको थियो। त्यहाँ पनि अपहरण भएको भन्ने कसैबाट नआएको परिसरले जनायो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले आफूहरुले अपहरण नभएको प्रमाणसहित अनुसन्धानको फाइल बुझाएको र थप के हुने भन्ने सरकारी वकिल कार्यालयको हातमा रहेको बताए।

अब सरकारी वकिलको कार्यालयले मुद्दा दरपीट गरिदिन सक्छ। तर त्यसअघि उसले समेत मुद्दाको अनुसन्धान गर्नसक्छ। यदि पीडितले आरोप लगाएजस्तो अपहरण देखिने अवस्था भए वा प्रहरी अनुसन्धान चित्त बुझ्दो नभएमा पुनः प्रश्न गर्दै थप अनुसन्धान गर्न प्रहरीलाई नै फाइल फिर्ता पठाउन पनि सक्छ।

सरकारी वकिल कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरिरहेको बताए।

‘हामी अध्ययन गरिरहेका छौं। पुनः अनुसन्धान गर्ने, तामेलीमा राख्ने वा मुद्दा अगाडि बढाउने भन्ने अध्ययनपछि मात्रै निर्णय हुन्छ,’ उनले भने।

प्रहरीको अनुसन्धानमा चित्त बुझे सरकारी वकिलको कार्यालयले मुद्दा दरपिट गर्दै जिल्ला अदालत काठमाडौंलाई जानकारी गराउने छ। श्रोतका अनुसार आइतबार सरकारी वकिलको कार्यालयले महान्यायधिवक्ताको कार्यालयसँग पनि यस विषयमा छलफल गरेको छ।

आज भोलि नै सरकारी वकिलको कार्यालयले अदालतमा दरपिटको लागि पठाउने वा पुनः अनुसन्धानका लागि प्रहरीलाई नै फाइल फिर्ता पठाउने छ।