सरसफाइ र स्वच्छताका लागि घोषित कार्यक्रम कार्यान्वयन फितलो

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ जेष्ठ २०, मंगलबार


काठमाण्डौ । सरकारले सरसफाइ र स्वच्छताका लागि तय गरेका कार्यक्रमको कार्यान्वयन कमजोर भएको सरोकारवालाले बताएका छन् ।  
नेपाल पत्रकार मञ्चले आयोजना गरेको महिनावारी स्वच्छता बुझाइ बिषयक छलफलमा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । 

‘गत बर्ष सरकारले बार्षिक नीति तथा कार्यक्रममा स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याएको थियो । आगामी आर्थिक बर्षका लागि पनि यो कार्यक्रमले निरन्तरता पाएको छ । यो खुशीको कुरा हो तर, यस अवधिमा गएको बर्ष कति काम भयो भन्न सक्ने अवस्था छैन । यो एउटा उदाहरण मात्र हो ।’सरसफाइ र स्वच्छताका क्षेत्रमा काम गर्ने एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्य भने । 

अमात्यले भने, ‘गैरसरकारी संस्थाको क्षमतालाई बिश्वाश नगरेको, त्यहाँ भएको श्रोत, सीप र प्रबिधिलाई उपयोग नगरेका कारण सरकारलाई सघाउन पनि सजिलो छैन । सरकारले सरसफाइका क्षेत्रमा काम गर्नेका लागि घोषणा गरेका कार्यक्रममा अनौपचारिक क्षेत्र समेटिन नसकिनु अर्को आश्चर्यजनक कुरा हो ।’  

महामारीका समयमा महिलाहरुको महिनावारी रोकिँदैन । प्रतिकूल परिस्थितिमा महिनावारीसँग सम्बन्धित जटिलता कम गर्न पुरुष, परिवार र सरकारको दायित्व, स्वच्छतासँग खानेपानी सम्बन्धित पूर्वाधारको पर्याप्तता, दिगो विकासका लागि स्वच्छता सम्बन्धी सूचक पूरा गर्न निर्वाह गर्नुपर्ने क्षेत्रगत भूमिकामा आमसञ्चारको भूमिकाका बिषयमा पनि छलफल भएको थियो । 

जनचासोका बिषयलाई बिधागत पत्रकारितामार्फत उठान गरिरहेको बताउँदै छलफलमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोहीले खानेपानी र सरसफाइका बिषयलाई मुख्य मुद्दाका रुपमा उठाउन सहकर्मीहरुलाई आग्रह गरे । 

मञ्चका महासचिव विमल थापाले पत्रकारहरु पेशामा रहँदा पत्रकार भएतापनि बाँकी समय सामाजिक हुने धारणा राखे ।  थापाले भने, ‘समयलाई महसुस गरेर सामाजिक बिषयलाई उठाउनु पत्रकारको दायित्व हो ।’ 

‘खानेपानी, सरसफाइ र स्वच्छताले व्यक्तिको व्यक्तित्वसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय विकाससँग सम्बन्धित मुद्दा हो ।’ छलफलमा मञ्चका अन्तरराष्ट्रिय विभागका प्रमुख चन्द्रमणि भट्टराईले भने,‘दिगो विकास लक्ष्यलाई सूचक मानेर स्वच्छतासँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक बिषयमाथि नियमित निगरानी गर्नुपर्छ ।’  

छलफलपछि सहभागीहरुलाई महिनावारी स्वच्छतासँग सम्बन्धित सामाग्री प्रदान गरिएको थियो । 
 

You may also like: