कस्ता छन् काठमाडौंमा हात धुने ठाउँ ?

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ असार ५, शुक्रबार


काठमाडौं । बन्दाबन्दी (लकडाउन) क्रमशः खुकुलो हुँदै जाँदा काठमाडौंका सार्वजनिक ठाउँमा भएका हात धुने प्रणाली कस्ता छन् ? चासो बढ्न थालेको छ । घरबाट निस्केपछि चोक—चोकमा भनेजस्तै फरक—फरक आकार प्रकार, क्षमता र अवस्थितिमा हात धुने ठाउँ जडान भएका छन् । यी फरकमध्ये कुनचाहिँ प्रयोगमैत्री हुन् ? वचावटका दृष्टिले कुन उपयोगी हो ? भन्ने उपभोक्तालाई छुट्याउन सजिलो छैन । 

काठमाडौं उपत्यकामा देखिएका यस्ता हात धुने ठाउँमध्ये प्रविधिका हिसाबले दुई खालका देखिन्छन् । एकाथरि धारा खोलेर हात धुने परम्परागत प्रणालीका र एकाथरि हातको सट्टा खुट्टाले थिचेपछि साबुन पानी लिन सकिने प्रविधि । प्रविधि जुन होस्, यसरी हात धुने ठाउँ बनाउनुको पछाडिको कारण भनेको अन्यत्रबाट आफूमा भाइरस सरेर नआओस् भन्ने हो । 

यीमध्ये परम्परागत प्रणाली जडान गर्दा स्थानीय व्यक्ति—व्यक्ति आफैंं मिलेर, टोल सुधार समितिले वा साभाजिक संघ संस्थाले जडान गरेको पाइन्छ । अर्को (स्पर्श रहित बायाँ प्याडल दबाउँदा साबुनको झोल आउने, दायाँ प्याडल दबाउँदा पानी आउने, प्याडल दबाउन छोड्दा पानी वा साबुन बन्द हुने, हातले छोईरहनु नपर्ने) प्रणाली खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था गुथिले वाटर एड नेपालको सहयोग र स्थानीय तहसँगको समन्वयमा जडान गरेको हो ।  काठमाडौैं उपत्यका (काठमाडौं र ललितपुर महानगर, कीर्तिपुर, चन्द्रागिरी र भक्तपुरसहित) का विभिन्न ५० ठाउँमा यो प्रविधिभएको हातधुने ठाउँ राखिएका छन् । 

यस प्रकारको हात धुने ठाउँको प्रभावकारिताका बिषयमा प्रतिक्रिया दिँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन भन्नुहुन्छ, ‘यो हाम्रा लागि अनुकरणीय सिकाइ हो । यस्ता प्रबिधिलाई हामी प्रोत्साहन गर्छौ ।’ कीर्तिपुर नगरका प्रमुख रमेश महर्जन अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘कोभिड – १९ को भाइरस सतहमा ३ दिनसम्म बाँच्न भनिएको छ । यसबेला स्पर्श नगरी हात धुने प्रबिधि उपयुक्त प्रविधि हो । 

यस्ता धाराहरु सार्वजनिक स्थलसँगै अस्पताल, प्रहरी कार्यालयहरुमा पनि जडान गरिएका छन् । 

धाराको नललाई धेरै व्यक्तिले छुने हो भने कोरोना भाइरसको संक्रमण हातको माध्यमबाट फैलिन सक्छ । यो खतरा घटाउन हातले नछोइकन हात धुन मिल्ने प्रविधि ल्याइएको हो । गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुहुन्छ । यसको दिगोपना र प्रबिधि अनुकुल व्यवहार परिवर्तनका लागि स्थानीय तहले सोच्नुपर्छ । 

५०० लिटर पानी ट्याङ्कीको क्षमता भएको यो प्रबिधि जडान गर्न प्रतिस्थान ३५ हजार रुपैयाँ खर्च भएको गुथिले जनाएको छ । जडान भएको मितिदेखि ३ महिनासम्म दाताबाट प्राप्त भएको सहयोगबाट पानी र झोल साबुनको व्यवस्था गर्ने योजना छ । अमात्य भन्नुहुन्छ’ ‘प्रविधि देखेर समुदायले अपनत्व बोध गरेको देखेर खुशी लागेको छ । अब यसलाई बिस्तार गर्ने प्रयास गर्नेछु । 


 

You may also like: