सीसीएमसी बैठक : भदाै १ देखि अन्तर जिल्ला र हवाई यातायात खुला नगर्न सिफारिस

अनन्त सन्देश
२०७७ श्रावण २६, सोमबार

काठमाण्डौ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको हो । यस विषयमा ठोस निर्णय नभएको तर यो कार्यान्वयन गर्नु नहुने विषयमा धेरैको मत मिलेपछि सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।
‘भदौ १ गतेदेखि हवाई उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा लामो बिमर्स भएको छ’, मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने ।
बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको गुरागाईंले बताए ।
त्यसैगरी सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने भएको छ ।
सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । (आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार प्रकाशित छ । )