दसैँसम्म निषेधाज्ञा लगाउनु पर्ने ललितपुरका सीडीओको सुझाव

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ भाद्र २२, सोमबार


काठमाण्डौ । चाडपर्व र जात्रामा जनताको भावना गहिरोसँग गाँसिएको हुने भएकाले कोरोना भाइरस (कोभिड- १९)को बेला पनि मान्छेको भीडभाड बढ्ने भएकाले त्यसलाई रोक्नका लागि दसैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन गरेको उपसमितिको बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टले दसैँमा मान्छेको आवतजावत बढ्दा कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा रहेकाले त्यस्तो कदम चाल्नुपर्ने बताएका हुन् ।

तीजको बेलामा संक्रमण फैलिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै भट्टले भने, 'तीजको बेला हामीले तत्काल आदेश जारी गरेका थियौं र व्यवस्थापन भएको थियो । सबै मानिसहरू घरघरमा रहनुभएको थियो । अब हाम्रो अगाडि चाडबाड आइरहेका छन् । दसैँजस्तो ठूलो चाड आएको छ ।'

'चाडबड र रीतिरिवाजप्रति मान्छेहरूको अति ठूलो सेन्टिमेन्ट हुँदो रहेछ । त्यो अहिले हामीले अहिले बेरोहरिरहेका छौं,' रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारी भट्टले भने, 'जात्रा, संस्कृति, पर्व भनेपछि बरु ज्यान छाड्न पनि तयार हुर्ने मान्छेहरूको भावना हुँदो रहेछ । दसैँमा पनि यस्तो हुनसक्छ ।' (आजको कान्तिपुरमा समाचार प्रकाशित छ । )

You may also like: