भव्य काष्ठ कलाको एउटा नमूनाको रुपमा रहेको पनौतीको इन्द्रेश्वर महादेव

रत्न सायमी

२०७५ जेष्ठ १३, आईतबार


ऐतिहासिकताले भरिपूर्ण पनौती नगरमा इन्द्रेश्वर महादेवको मन्दिर रहेको छ । पनौतीको पुण्यमाता (प्राचीन नाम पुण्यवती) र रोशी खोलाको त्रिवेणी संगमको पश्चिम तर्फ ४६०० फिटको उचाईमा यो मन्दिर अवस्थित छ ।ऐतिहासिक सम्पदामा योअत्यन्त महत्वपूर्ण सम्पदा हो । सुवर्ण मोलम्वा युक्त गजुर रहेको यस मन्दिरमा ३ तहको छाना रहेको छ । नेपाली मन्दिर छाना शैलीमा बनेको यस मन्दिरमा पहिलो तलाको छाना ठूलो र फराकिलो रहेको छ । दुई तह झिंगटीका छाना छन् भने माथिल्लो तहको छाना सुवर्ण मोलम्वा युक्त रहेको छ । छानाहरुमा नुपूर घण्टा हुनुले मन्दिर आकर्षक देखिन्छ । 


इन्द्रेश्वर महादेव मन्दिरको निर्माण शैली अत्यन्त भव्य रहेकोले काष्ठ कलाको एउटा नमूनाको रुपमा लिन सकिन्छ । मन्दिरका चारैतिरका कलात्मक ढोका एवं तोरणहरु सुसज्जित रहेका छन् । द्वार अगाडि रहेका सिंहका शिला मूर्ति पनि आकर्षक छन् । पश्चिमद्वार अगाडि एउटा वसाहाको मूर्ति पनि रहेको छ । गर्भगृह भित्र एक ठूलो जलधारा सहितको शिवलिङ्ग रहेको छ । सोही शिवलिङ्गलाई सुवर्ण मोलम्वा युक्त चतुर्मुखी मुकुट वनाई पूजा आराधना गर्ने गरिएको छ । उक्त चतुर्मुखी मुकुट जयसिंहरामले बनाइ दिएका हुन । सो शिवलिङ्गमा गजुर पनि राखिएको छ । 


शुरुमा यो मन्दिर एक तलाको मात्र थियो भनिन्छ । एक तला, दुइ तला र त्यसैगरी तेश्रो तला वनाएको वताइन्छ । यसको प्रमाणको रुपमा त्यहाँ गजुरहरु रहेका छन् ।यस मन्दिरको टँुडालहरु विशेष उल्लेखनिय रहेका छन् । पूर्वतर्फ रहेका टँुडालहरुमा यक्ष, यक्षिणी, गोपिनीहरु, दक्षिण तर्पm पाँच पाण्डवका मूर्तिहरु, पश्चिमतर्पm राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्न र हनुमान, उत्तरतर्पm चामुण्ड, महेश्वरी, भैरव र भगवतीका मूर्तिहरु कुदिएका छन् । मन्दिरको पहिलो तलामा तत्कालिन चित्रकारहरुले कोरेको आकर्षक चित्रहरु देख्न सकिन्छ । फराकिलो चोक भित्र यो मन्दिर रहनु एउटा विशेषताको रुपमा लिन सकिन्छ । 


यस मन्दिरको अगाडि तोलानारायणको मन्दिर रहेको छ । मन्दिर भित्रको मूर्ति भव्य देख्न सकिन्छ । यो मन्दिरको निर्माण जयसिंहरामले गरेको इतिहासमा उल्लेख रहेको छ । यस्तै मन्दिरको पश्चिम उत्तर तर्पm काशीविश्वेश्वरको कलात्मक मन्दिर अवस्थित छ । यस्तैगरी यहाँ गौरी शंकर, शिवलिङ्गहरु, सत्यनारायण, लक्ष्मीनारायण, गौरीनारायण, शेषनारायण, सूर्यनारायण, श्रीकृष्णनारायण लगायतका मूर्ति एवं देवलहरु रहेका छन् । दक्षिण तर्पm उन्मत्त भैरवको मन्दिर रहेको छ भने चोकको उत्तर कुनामा गौतम ऋषिकी पत्नी अहिल्याको प्रतीक शिला रहेको छ ।


मन्दिरको ऐतिहासिकताको अध्ययनमा यो मन्दिरको निर्माण यहि समयमा भएको भन्ने यकिन प्रमाण अहिलेसम्म पाइएको छैन केहि इतिहासहरुमा बाह्रौं र तेह्रौं शताव्दीमा वनेको हुन भनि उल्लेख रहेका छन् ।यस मन्दिरलाई काठमाडौंको काष्ठमण्डप जतिकै पुरानो पनि भनिन्छ ।‘पनौती’ नामक परिचयात्मक पुस्तकमा सूर्यप्रसाद लाकोजुले बनेपाकी युवराज्ञी विरमादेवीले वि.सं. १३५१ मा इन्द्रकुटको (इन्द्रेश्वरलिङ्ग) स्थापना गरेको उल्लेख भएपनि प्रामाणिक रुपमा मन्दिर निर्माण तिथिमिति हालसम्म पाइएको छैन । इन्द्रेश्वर मन्दिरको पश्चिम ढोकाको माथि दलिनमा राखिएको चाँदीपत्रमा सम्वत् ७८४ शिवरात्रीको दिनमा मुक्तिराज भारोले सुनको तीनतले छत्र चढाएको उल्लेख छ । इन्द्रेश्वर मन्दिरको दक्षिणी ढोका नजिकै रहेको चाँदीपत्रमा सम्वत ९७३ माघ कृष्ण द्वितिया तिथिमा देवलको पश्चिम पट्टिको सुनको छाना बनाएर भैरवसिंह चन्द्रमणिले चढाएको उल्लेख रहेको व्यहोरा उल्लेख गरेका छन् ।


इन्द्रेश्वर महादेव उत्पत्तिका सम्वन्धमा हिमवत्खण्ड पुराणको प्रशंग जोडिन्छ । जस अनुसार गौतम नामक ऋषिको अहिल्या नामकी पत्नी थिइन् । ऋषि स्नान गर्न बाहिर गएको अवस्थामा इन्द्रले ऋषिको छद्रमभेष धारण गरी अहिल्याको सतीत्व हरण गरेको थियो । ऋषि घरमा आउदा त्यस अवस्थालाई देखेर छद्रमभेषी इन्द्रलाई हजारौं योनी हुने र पत्नीलाई शिला हुने श्राप दिए । त्यसपछि इन्द्रले बृहस्पतिको परामर्शमा शिवको आराधना गर्नु भनेकोले इन्द्रले शिवको र इन्द्रायणीले पार्वतीको आराधना गर्दा शिव पार्वती प्रशन्न भइ “अन्य सवै योनी जाने छ तर ऋषिको श्राप नटर्ने भएकोले एक योनी निधारमा बाँकी रहने छ । त्यो लिङ्गको नाम तिम्रै नामबाट इन्द्रेश्वर हुनेछ । त्यस तीर्थमा जसले स्नान गरी इन्दे्रश्वरको पूजा गर्दछ त्यसले इच्छामाफिकको फल प्राप्त गर्दछ” भनि वरदान दिएको उल्लेख रहेको छ । 


यस मन्दिरमा हाल रमेश प्रसाद जंगम पूजारी रहेका छन् । मन्दिरमा नित्य पूजा र आरती पूजा लगायत विविध पर्व पूजा सञ्चालन हुदै आइरहको छ । मन्दिर पूजा सञ्चालनमा हाल विविध कथिनाइ रहेको पूजारी बताउनु हुन्छ । १५÷२० वर्ष पहिलेसम्म पूजा परम्परा राम्रोसंग सञ्चालनमा रहेकोमा गुठी जग्गा रैतानी परिवर्तन गरिए पछि मन्दिरमा राखिएको जग्गाबाट आम्दानी हुन छोडेको छ । विना आयश्रोत नै पूजा सञ्चालन गर्नु परेको छ । हाल स्थानीय निकाय एवं गुठी संस्थानबाट कुनै सहयोग प्राप्त नभएकोले नित्य पूजा लगायत जात्रा पर्वहरु वन्द हुने क्रममा रहेको जानकारी दिनु हुदै सम्वन्धित निकायको ध्यानाकर्षण गराए ।


काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका ऐतिहासिक सम्पदाको एउटा भण्डार हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकीय दृष्टिकोणवाट पनि महत्वपूर्ण स्थानलाई ऐतिहासिक रुपमा नै बचाई राख्नु आजको आवश्यकता रहेको स्थानीय राजेन्द्र महाजु बताउदछन् । यस्तो गौरवशाली सम्पदा रहेको स्थानमा सम्वन्धित निकायको ध्यान जानु विशेष महत्वको विषय हो ।