११ औ“ नेपाल फेष्टिवल टोकियोमा ‘नेपालमय रह्यो कोमाजावा पार्क’

प्रा. डा.उत्तम कर्माचार्य

२०७५ भाद्र १८, सोमबार


जापान । टोकियो कोमाजावा पार्कमा शनिबार र आईतबार आयोजना गरिएको ११ औँ नेपाल फेष्टिवल भव्यताका साथ सम्पन्न भएको छ ।

करिव डेढलाख बढीले अवलोकन गरेको नेपाल फेष्टिवल नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ एनआरएनए जापानको संयुक्त आयोजनामा भएको थियो ।

नेपाल आईडलका विजेताहरु बुद्ध लामा, निसान भट्टराई, प्रताप दास तथा चर्चित उद्घोषक सुशील नेपाल सहभागि रहेको कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । यस्तै अन्जली अधिकारी सहित स्थानिय कलाकारहरुले स्टेज अगाडि सहभागी दर्शकलाई नचाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । जातीय पहिरनमा सजिएका सहभागी जातीय संघसंस्थाका मौलिक गीत तथा नृत्यले कोमाजावा पार्क नेपालमय भएको थियो ।

यसैगरी जापानीहरुले समेत कार्यक्रममा नेपाल बारेमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । नेपाल र नेपाली सँस्कृतिलाई माया गर्ने हजारौ जापानीहरुको सहभागिता रहेको कार्यक्रममा जापानीहरुले नेपाली गीतमा नाचेर मनोरञ्जन गरेका थिए ।
१३ वटा नेपाली मौलिक खाना परिकारका स्टल तथा २५ वटा व्यवसायीक स्टल रहेका कार्यक्रममा आईतबारको दोश्रो दिन रक्षा वन्धनका लागि नेपाली पूजारीहरु सहित डोरो बाँध्ने कार्यक्रम गरिएको थियो ।


शनिवारको पहिलो दिन टोकियो कोमाजावा पार्कमा फेष्टिवलको औपचारिक रुपमा बेलुन उडाएर उद्घाटन गरिएको थियो । फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालका लागि जापानी पूर्वराजदूत मासासी ओगावा, गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसी यूवा संयोजक सुदन थापा, आईसीसी प्रवक्ता भूषण घिमिरे, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, उपसंयोजक पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।

उद्घाटन अवसरमा राजदूत प्रतिभा राणाले नेपाल जापान सम्बन्ध प्रगाढ रहेको स्मरण गराउँदै नेपालको सुन्दरता प्रचार प्रसारका लागि नेपाल फेस्टिवल उचित अवसर भएको बताउनुभयो । जापानमा रहेका ८० हजार बढी नेपालीले नेपालको सुन्दरताको बयान जापानीलाई गर्न सके नेपालको पर्यटन विकासमा टेवा पुग्ने धारणा राख्दै राणाले नेपालको हितको लागि हुने सबै कार्यक्रमहरुमा दूतावासको सहयोग र सहकार्य रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावाले नेपाल जापान सम्बन्ध धेरै पूरानो भएको स्मरण गराउदै जापानमा गरिने नेपालीका यस्ता कार्यक्रमहरुले अझ सम्बन्ध राम्रो हुँदै जाने बताउनुभयो ।

गैरआवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले पर्यटन प्रबद्र्धन मुलुक समृद्धिको प्रभावकारी बिकल्प भएको धारणा राख्दै जापानीहरुलाई नेपालप्रति आकर्षित गर्न नेपाल फेस्टिवल महत्वपूर्ण भएको बताउनुभयो । एसिया इासिफिक संयोजक थापाले जहाँ रहेपनि नेपालीहरुले नेपाली कला र पहिचानलाई कायम राख्न आगह गर्नुभयो ।

 फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी र एनआरएनएका अध्यक्ष टासी वाङ्दी लामाले फेस्टिवलमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै समापन अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी अध्यक्ष भवन भट्टले समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीहरुले उल्लेख्य सहयोगको अपेक्षा राखेको जानकारी दिनुभयो । यस्तै नेपाल र नेपालीको पहिचानका लागि फेष्टिवलले जापानीहरुमा राम्रो छाप छाड्न मद्धत पुग्ने भएकाले कार्यक्रमको निरन्तरताका लागि जापानवासी नेपालीहरुमा अपिल गर्नुभयो ।

सोही अवसरमा गैरआवासीय नेपाली संघ कोरिया अध्यक्ष लक्ष्मी गुरूङ, हङकङ अध्यक्ष टिका गुरूङ तथा वेल्जियमका अध्यक्ष लोक दाहाल तथा विभिन्न पदाधिकारी सहभागिता रहेको थियो भने एनआरएनए जापानका क्षेत्रीय समिति तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।