नेपालमा पानी जहाज ल्याउने सम्भावना बढ्यो

अनन्त सन्देश

२०७५ कार्तिक २६, सोमबार


एजेन्सी । भारतको महत्वाकांक्षी जलमार्ग योजना सुरु भएसँगै नेपालमा पानी जहाज ल्याउने सपना पूरा हुने संकेत देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसमा एक महत्वाकांक्षी भनिएका दुईवटा विशाल जलमार्ग योजना उद्घाटन गरेसँगै नेपालको लागि समेत सकारात्मक संकेत देखिएको हो । 

भारतको बनारसमा उद्घाटन हुने उक्त योजनाबाट नेपाल, चीन, बंगलादेश समेत जोडिने बताइएको छ । 

दोश्रो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नेपालमा पानी जहाज ल्याउने घोषणा गरेका थिए । उक्त योजना भारतीय जलमार्गको योजनासँग सम्बन्धित छ । भारतको जलमार्ग योजना जति चाँडै सम्पन्न भयो नेपालमा पानी जहाज ल्याउने योजना पनि उत्तिकै चाँडो सम्पन्न हुने पनि अपेक्षा गरिएको छ ।

यसअघि नै नेपालको प्राविधिक टोलीले भारतको गंगा नदी (एनडब्लू–१)को निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्ने बताइएको छ । यस्तै भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुबै पक्षबीच छलफल गर्ने सहमति भइसकेको छ । यी पहल मूलतः नेपालमा पानी जहाज ल्याउनका लागि लक्षित छन् ।

प्रयागराज–हल्दिया जलमार्गको पूरा दूरी १ हजार ६ सय २० किलोमिटर छ । जुन परियोजना सम्पन्न भएपछि भारतकै अहिलेसम्मको सबैभन्दा लामो जलमार्ग हुनेछ ।