गुटगत राजनीति हावी भएको छ : लेखनाथ न्यौपाने पूर्व सांसद एवं नेता नेपाली काँग्रेस

अनन्त सन्देश

२०७५ मंसिर २, आईतबार


नेपालको राजनीति निष्ठामा भन्दा स्वार्थमा केन्द्रित हुन पुगेको विश्लेषण गर्न थालिएको छ । राजनीति समाजको विकासका निम्ति हुनुपर्नेमा व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा राजनीतिप्रति नै नैराश्यता पैदा हुन पुगेको छ । यो अवस्था किन सिर्जना भयो त ? नेतृत्वले जिम्मेवारी लिन नसक्दा पार्टी संगठित रुपमा अगाडि बढ्न सक्दछ त ? पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता लेखनाथ न्यौपानेसँग समसामयिक राजनीतिका बिषयमा अनन्त सन्देशका विमल थापाले गरेको कुराकानीको सारांश:

नेपालको पुरानो राजनीतिज्ञ हुनुहुन्छ, अहिलेको तपाईको दिनचर्या कसरी चलिरहेको छ ?
म अहिले मेरा पुराना राजनीतिककर्मी साथीहरुसँग भेटघाट गर्छु । राजनीतिक बिषयमा छलफलहरु गर्छु । पत्रपत्रिका र पुस्तकहरु अध्ययन गर्छु । यसरी नै दिनहरु बितिरहेको छ । म २००७ सालदेखि राजनीतिमा क्रियाशील भएको थिएँ । २०११ सालदेखि म नेपाली काँग्रेसको सदस्य भएँ । त्यो बेलादेखि अहिलेको अवस्थालाई हेर्दा मलाई साह्रै नराम्रो लागेको छ । किनभने, जुन कुरा सोचेर म पार्टीमा लागेको थिएँ, त्यो पूरा हुन सकेन । अहिलेको राजनीति निष्ठामा भन्दा पैसामा बढी केन्द्रित हुन पुग्यो । इमान्दार कार्यकर्ता पछाडि पारिए । जोसँग पैसा छ, त्यो मात्र अगाडि बढ्न सक्ने अवस्था सिर्जना भयो । यसले गर्दा म अहिले निराश नै भएको छु । पार्टीको नीति र लाइन हेर्दा मलाई दुःख लागेको छ ।

अहिले विगत केही समययता सक्रिय राजनीतिमा देखिनुहुन्न, के गर्दै हुनुहुन्छ ?
मैले अहिले साथीहरुसँग सम्वादमा जुटिरहेको हुन्छु । मुलुकको राजनीति बिग्रिएको बारेमा उहाँहरुबाट पनि चिन्ता व्यक्त भइरहेको छ । उहाँहरुको चिन्ताले मात्र पनि भएन, जसले काम गर्नुपर्ने हो, उनीहरु लोभमा फँसे । अहिले यस्तो समेत देखिएको छ कि, पैसा खर्च गरेर रक्सी दोकानहरुमा बसेर राजनीतिक बिषयमा छलफल हुन थालेको छ । पार्टी सञ्चालन कसरी गर्ने ? इमान्दारिताको कदर कसरी गर्ने भन्ने बिषयमा चिन्तन नै छैन । चुनाव आयो पैसा खर्च गरेर चुनाव जितिहालिन्छ, किन पार्टीप्रति वफादार हुनुप¥यो भन्ने जस्ता व्यवहार देखिने गरेको छ ।

तपाईहरुले जुन सपना देखेर प्रजातन्त्रको लागि लड्नुभएको थियो, अहिले आएर त्यो कत्तिको सार्थक भएको देख्नुहुन्छ ?
अहिले जनताहरुबाट निर्वाचित प्रतिनिधिहरु नीति बनाउने ठाउँमा गएका छन् । त्यो अत्यन्तै स्वागतयोग्य कदम हो । तर उनीहरु जनताप्रति इमान्दार हुन् र जनताको समस्या निराकरण गर्न क्रियाशील हुन् भन्ने मेरो धारणा हो । तर यसो हुन सकेन । त्यसमा झन् बढवा भयो । नत्र त जनताको कुरबानीपश्चात प्रजातन्त्र प्राप्त भयो र जनताबाट निर्वाचित प्रतिनिधिहरुको सरकार बनेको छ । यसबाट जनतालाई सुख हुनुपर्नेमा दुःख पो हुन थालेको छ । अहिले विकृतिका रुपमा देखिएको भ्रष्टाचार र अनियमितताले जनतालाई सास्ती बढेको छ । त्यस्तै पछिल्लो पटक हेर्ने हो भने सरकारले जनतालाई ढाड सेक्ने गरी कर बढाएको छ । जो माथि पुग्यो उसको लागि सुविधा बढाउनुपर्ने तर सर्वसाधारण जनतालाई चाहिँ सास्ती थपिने ? नेतृत्वले यस बिषयमा ध्यान दिन सकेन । जसको कारण अपेक्षा गरिएअनुसारको उपलब्धी हासिल गर्न सकिएन । नेपालमा कम्युनिष्ट पार्टीहरुले ल्याएको नीति तथा कार्यक्रमहरु हेर्दा म पनि आशावादी थिएँ । जुन तहसम्म यसको प्रतिफल पुग्नु पर्दथ्यो, त्यो पुग्न सकेन । तल्लो तहसम्म यस्ता कार्यक्रमहरुले प्रभाव पार्न सकेको छैन । तल्लो तहमा शोषण भएर माथिल्लो तह सुविधाभोगी हुनपुग्यो । अहिले नेतृत्वले करोडौं रुपैयाँको गाडी चढ्ने भएका छन् । यसले जनतालाई अझैपनि परिवर्तनले खासै छुन सकेको छैन ।

नेपालमा पटक–पटक भएका राजनीतिक आन्दोलनबाट भएका परिवर्तनले जनताको जीवनमा खासै परिवर्तन ल्याउन नसकेकै हो त ?
निश्चित रुपमा परिवर्तन हुन सकेन । जनताले जुन विश्वासका साथ आफ्ना प्रतिनिधिहरुलाई पठाएका थिए, उनीहरुले जनताको विश्वासअनुसार काम गर्न नसकेकै हुन् । यो सबै पार्टीमा लागू भएको छ । सरकारमा नेतृत्वमा पुगेपछि जनअपेक्षाअनुसार काम गर्न नसक्नु नेपालको राजनीतिक दलहरुको कमजोरी रह्यो । अहिले पाँचबर्षसम्मको नेतृत्व गर्ने हैसियतमा सरकार रहेको छ । यसले गरेका कामहरुप्रति सबैले सकारात्मक सोच्न सकून् । यो मेरो पनि अपेक्षा हो । तर यसको संकेत राम्रो देखिएको छैन । अहिले झन् भ्रष्टाचार र अनियमितता मौलाएको छ । हिंसा र बलात्कार जस्ता जघन्य घटनाहरु समेत भइरहेका छन् । यसलाई नियन्त्रण गर्न सरकार असक्षम भएको छ । कञ्चनपुरकै घटनाले सरकारको मात्रै होइन, मुलुकै निम्ति समेत नराम्रो सन्देश दिएको छ । गृहमन्त्रीले अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । यसमा नेपाली काँग्रेसले त सहयोग नै गरेको हो । यो सरकार पाँच बर्षसम्म चलोस् भनेर नेपाली काँग्रेसले समर्थन नै गरेको हो । यसरी हेर्दा हामीले आशा गर्ने ठाउँ कमजोर देख्छु । अर्काे कुरा २०१६ सालको निर्वाचनमा काँग्रेसले ७४ सिट र कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । त्यो बेला काँग्रेसको नेतृत्वमा सरकार बन्यो । तर १८ महिनापनि टिकेन किन त ? त्यो बेलामा हामीले जसको जोत उसको पोत हुनुपर्छ भनेका थियौं । त्यतिखेर हामीले पाटनमा जुलुस गर्दा पाटनका जनताले यसको विरोध गरे । त्यसको तत्पर्य थियो, पाटनमा कम्युनिष्टहरुको बाहुल्यता थियो । त्यसैको आधारमा राजा पनि शामन्तीको चँगुलमा परे । त्यसैलाई लिएर राजाले २०१७ सालको घटना घटाए । कार्तिक २८ गते हामीहरुले जसको जोत उसको पोत हुनुपर्छ भनेर जुलुस ग¥यौं । पुष १ गते राजाले विगठन गरिदिए । त्यसपछि राजाले भूमिसुधार त ल्याएँ, त्यसमा तीन खण्ड तल्सीनलाई १ खण्ड मोहीलाई । जसको जोत उसको पोत भनेर हामीले नारा लगाएको त झन् उल्टो पो भयो । अब अहिले किसानको हकलाई कहिँ छुँदै छोइएन । यसर्थ, जति नेपाली जनताले सोचेका छन्, त्यो हुन नसकेको पक्कै पनि हो ।

यसो हुनुमा संसदीय राजनीतिक व्यवस्थाको कमजोरी रह्यो कि, नेतृत्व गर्नेहरुको कमजोरी रह्यो ?
मलाई के लाग्छ भने कम्युनिष्टहरुमा अलिकति मनमोहन जीले गर्नुभयो । त्यसपछि आधाआधी कँग्रेसले ग¥यो । जस्तो बृद्धभत्ताको सवालमा बढाएर लगिएको हो । यो राम्रै थियो । तर जुन रुपले सोचिएको थियो, त्यो रुपमा भएन । म सबैभन्दा बढी किसानको पक्षको मान्छे हुँ । किसानको हक र सुविधा भएन । हामी हिजो जुन थिचोमिचोमा परेका थियौं । आजपनि त्यही छ । खै जमिन के भइरहेको छ अहिलेसम्म ? किसानको हक के भइरहेको छ ? त्यो केहीपनि देखिँदैन । नेपालमा अर्काे नेता भनेको विपी कोइराला हुन् । किनभने उहाँले जुन नीति अवलम्बन गर्नुभएको थियो, त्यसलाई पालना हुन दिइएन् । त्यो अहिलेपनि दिइएको छैन । विपीको नीति थियो, राष्ट्रियता जोगाउनुपर्दछ भनेर २०२८ सालमा सशस्त्र क्रान्ति गर्ने भनेर । त्यतिखेर चीनले के भन्यो भने भारतबाट नेपालमा आक्रमण भयो भने चीनमा आक्रमण भएको सम्झनेछ । विपी कोइरालाले देशको लागि बचाउनुपर्छ भनेर समर्थन गर्नुभयो । राजाको गर्धन मुनि मेरो गर्धन माथि भनेर आउनुभयो । त्यसको अर्थ थियो, राजाको काँध थाप्ने कँग्रेस हुन्छ भन्ने नै थियो । तर त्यसको गलत अर्थ लगाएर विपीलाई फाँसी दिनुपर्छ भनेर पञ्चहरुले नारा समेत लगाए । काँग्रेसले नेपालबाट राजसंस्थालाई अस्वीकार गरेकै होइन । नेपालबाट राजसंस्था ज्ञानेन्द्र आफैले ओखलेका हुन् । ज्ञानेन्द्रमा जागेको शक्तिको मोहका कारण नेपालबाट राजसंस्था अन्त्य भयो । अहिले पार्टीमा लाग्ने व्यक्तिहरु जनताको लागि भन्ने गरेका छन् । हामीले पनि यसै भन्छौं । तर जनताको लागि हामीले गरेका हो कि नगरेको हो । मैले हेर्दा नगरेकै हो । यसमा सुधार ल्याउनुनै पर्दछ । अर्काे कुरा कम्युनिष्टहरु मध्ये माओवादी प्रजातन्त्र मान्दैनथे । यदि मान्थे भने उनीहरुले सशस्त्र आन्दोलन गरेर १७ हजार मानिसको ज्यान किन लिएको ? अस्तिसम्म धर्मकर्म नगर्ने प्रचण्ड आज आएर तातोपानीमा डुबेको देखेको थिएँ । तुलनात्मक रुपमा तत्कालीन एमालेले राम्रो गरेका थिए । तत्कालीन एमालेका तर्फबाट मदन भण्डारीले राम्रो गरेका थिए । उनले यही बहुदलीय व्यवस्थालाई नै मानेका थिए । अहिले दुईवटा कम्युनिष्ट पार्टीहरु मिल्ने भनेका छन् । मिल्न सके त्यो अति राम्रो हो, तर मिल्ने लक्षण देखिँदैन ।

तपाईले के आधार देख्नुहुन्छ ? जसको कारणले दुईवटा कम्युनिष्ट पार्टीहरु मिल्न सक्दैनन् ।
उनीहरुका धेरै कमजोरी देखिएका छन् । अहिले भागवण्डा मिलाउन मात्र केन्द्रित भएको देखिन्छ । कुनैपनि पार्टीमा दुईवटा अध्यक्ष नै हुँदैन । यसले मनमुटाव छ भन्ने स्पष्ट देखिन्छ । हुन त एमाले पनि झापा आन्दोलनबाट आएको हो । हतियार त उठाएकै थियो । तरपनि माओवादीले धेरै मानिस मारेका छन् र जनतासँग धेरै सम्पत्ति उठाएका छन् । अहिले धनीमा हेर्ने हो भने धेरै माओवादी छन् । कुनैबेला एमाले सिध्याउन हिडेको माओवादी एमालेसँग मिल्छ कसरी ? मलाई त दीर्घकालिन रुपमा पार्टी एक हुन्छ भन्नेमा प्रसस्त शंका रहेको छ । किनकी एमाले र माओवादीको नीति नै मिल्दैन । भोलि मिलेर अगाडि बढे त राम्रै हो, तर मलाई मिल्छन् जस्तो चाहिँ लाग्दैन ।
 

विपी कोइरालाले देशको लागि बचाउनुपर्छ भनेर समर्थन गर्नुभयो । राजाको गर्धन मुनि मेरो गर्धन माथि भनेर आउनुभयो । त्यसको अर्थ थियो, राजाको काँध थाप्ने कँग्रेस हुन्छ भन्ने नै थियो । तर त्यसको गलत अर्थ लगाएर विपीलाई फाँसी दिनुपर्छ भनेर पञ्चहरुले नारा समेत लगाए ।

नेपाली काँग्रेस पार्टी पनि विभिन्न गुट उपगुटबाट अगाडि बढिरहेको छ । यसले पार्टीलाई इतिहासकै कमजोर बनाएको छ भन्ने तपाईलाई लाग्दैन ?
एकदमै कमजोर बनाएको छ । पार्टीभित्रको गुट उपगुटकै कारण अहिले पार्टी इतिहासकै कमजोर अवस्थामा रहेको छ । प्रजातान्त्रिक व्यवस्थामा पार्टीभित्र गुट उपगुट हुनुलाई अस्वभाविक मान्न सकिँदैन । तर हामीकहाँ गुट उपगुट संस्थागत रुपमा अगाडि बढ्न खोजेको देखिन्छ, जुन अत्यन्तै खतराजनक हुने गर्दछ । जुनसुकै गुट भएतापनि पार्टीको संस्थागत निर्णय मान्नु सबैको दायित्व र जिम्मेवारी हो । पार्टीमा बहुमतका निर्णयलाई सबैले स्वीकार्नुपर्दछ । अहिलेसम्म पार्टीभित्र कुनैपनि समितिहरु बन्न नसक्नुमा नेतृत्व गर्नुभएका सभापति शेरबहादुर जीले नै जिम्मा लिनुपर्दछ । उहाँले अहिलेसम्म पनि महासमितिको बैठक बोलाउनुभएन । असन्तुष्ट साथीहरुको चित्त बुझाउनुपर्ने सो गर्न सक्नुभएन । यो सबै जिम्मेवारी नेतृत्वको हो । अरुले गुट बनाउँदा सबैलाई समेटेर जान नसक्नु नेतृत्वको कमजोरी अवश्यपनि भएकै मान्नुपर्दछ ।

निर्वाचनमा नेपाली काँग्रेसले अनपेक्षित रुपमा प्राप्त परिणामको जिम्मेवारी नेतृत्वले मात्र लिनुपर्दछ भन्ने आवाज पार्टीभित्रै उठ्न थालेको छ । यो कत्तिको न्यायोचित हो त ?
सबैभन्दा पहिला त टिकट वितरण गर्दा केन्द्रीय कार्यसमितिले निर्णय गरेर वितरण गरिएको कि सभापति स्वयंले निर्णय गरेका हुन्, त्यो बुझ्नु जरुरी छ । टिकट कस्तालाई दिनुपर्दथ्यो ? भन्नेमा पार्टी सभापति स्वयंले वितरण गरेका हुन् । टिकट वितरणमा पार्टी सभापतिले निर्णय गरेपछि हारको जिम्मेवारी लिनुपर्दैन ? जिम्मेवारी लिएर गल्ती भयो म अब यस्तो गर्दिन भन्नुप¥यो नि त । हाम्रो भनाइ त्यति मात्र हो । अहिले पार्टीले चुनाव हारेको छैन, उम्मेदवारले मात्र हारेको हो । किनभने निर्वाचनमा उम्मेदवार छनौट गर्दा उचित व्यक्ति छनौट गर्न नसकिएकै हो ।

आगामी महासमितिको बैठकमा के बिषयले प्रमुखता पाउनेछ त ?
महासमितिको बैठकमा पार्टीको आन्तरिक बिषय नै बढी उठ्छ । पार्टी सञ्चालनका कमीकमजोरीकै समीक्षा हुने हो । पार्टी चलायमान हुन किन सकेनन् ? विभिन्न कमिटीहरु किन गठन हुन सकेनन् ? जस्ता बिषयमा छलफल हुन्छ भने आगामी दिनमा कसरी जाने भन्ने बिषयमा पनि छलफल हुन्छ ।

महासमितिको बैठकपश्चात नेपाली काँग्रेसभित्रको गुट उपगुट समाप्त होला त ?
महासमितिको बैठकपश्चात नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्छ । मेरो व्यक्तिगत विचारमा कम्युनिष्टहरु त एक हुनुपर्छ भन्ने धारणा छ भनेपछि नेपाली काँग्रेसमा नहोला र ? अबको आवश्यकता भनेको नेपालमा बढीमा ३ पार्टी नत्र  २ पार्टी भएपनि चल्छ । धेरै पार्टीहरु हुँदा प्रजातान्त्रिक परिपार्टीमा राम्रो हुँदैन भन्ने त देखिसकियो त ।  पार्टी मिल्नुको कुनै विकल्प छैन ।

विगतमा भक्तपुरबाट तपाई पनि संसदमा निर्वाचित भएर जानुभयो । तपाईको कार्यकाल कस्तो रह्यो भनेर समीक्षा गर्न सकिन्छ ?
मैले त्यतिखेर काम गर्दा भक्तपुर जिल्लामा औंलामा गन्न सकिने नेपाली काँग्रेस कार्यकर्ताहरु थिए । मैले आफूले नेतृत्व गर्दा भक्तपुर जिल्लाभरि नै काँग्रेस संगठन विस्तार भएको हो । सोही कारण २०४८,  २०५६ र २०७० सालको निर्वाचनमा काँग्रेस विजयी भएको हो । त्यो बीचमा हामीले निर्वाचन हार्नुको कारण आन्तरिक नै थियो । त्यतिञ्जेल पनि उम्मेदवार छनौट गर्दा कमजोरी भयो जसको कारण निर्वाचनमा पराजय भोग्न बाध्य भइयो । त्यसको दोष नेतृत्वले लिनुपर्दछ । हैन भने अहिलेपनि भक्तपुरमा नेपाली काँग्रेसको संगठन राम्रो छ । स्वभाविक रुपमा कुनैपनि पार्टीले जनतालाई विश्वास दिलाउन सकेनन् भने त्यसको विकल्प खोज्छन् ।

भक्तपुरमा नेपाली काँग्रेसले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा त्यसको प्रत्यक्ष फाइदा अन्य पार्टीलाई भयो भनी विश्लेषण गर्दा कत्तिको सही हुन्छ ?
त्यो स्वभाविकै हो । नेपाली काँग्रेसले राम्रो मात्र गरेको थियो म पनि भन्दिन । कुनै कुनै ठाउँमा त्रुटी पनि गरेको छ । नेपाली काँग्रेसले नराम्रो मात्र गरेको छैन, धेरै राम्रो पनि गरेको छ । त्यसको साथै नेपाली काँग्रेसले जनअपेक्षाअनुसार काम गर्न नसकेकै हो । त्यो त्रुटीलाई सच्याउने हाम्रो कर्तव्य हो । तर अपेक्षाकृत रुपमा सच्चिन नसक्दा जनताले विपक्षीलाई मत दिएका हुन् । यो कुरा अहिले निर्वाचित हुने पार्टीमा पनि लागू हुन्छ ।

आगामी दिनमा नेपाली काँग्रेसको अवस्था कस्तो होला त ?
नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्छ । जसको कारण नेपाली काँग्रेसको अवस्था राम्रो हुन्छ । किनभने एमालेले जुन रुपबाट विकास गर्नुपर्दथ्यो, त्यो जानेन । उनीहरुले विपक्षीको कुनै वास्ता नै नगकिरन विकास गरेका छन् । त्यसले न त उनीहरुको पार्टीलाई फाइदा पु¥याउँछ न त मुुलुकलाई नै । स्वभाविक रुपमा महासमितिको बैठक पश्चात हामी जिम्मेवार प्रतिपक्षका रुपमा उभिन्छौ ।