सामाजिक सञ्जालको दुरुपयोग

विमलकुमार
विमलकुमार

२०७५ मंसिर ९, आईतबार


प्रविधिको विकासँगै सहज पहुँच र विस्तारका कारणले मानिसको जीवनशैलीलाई सहज त बनाएको छ, सँगै यसको दुरुपयोगले भयानक रुप पनि निम्त्याएको छ । पछिल्लो समयमा परिचित वा अपरिचित व्यक्तिहरुसँग नजिक हुन, आफ्ना भावना वा सन्देशहरु अरु समक्ष पु¥याउने सजिलो माध्यमका रुपमा फेसबुक, ट्वीटर, भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोगमा व्यापकता आएको छ । तर यस्ता सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ? र यसका दुरगामी प्रभावका बारेमा यथेष्ट जानकारी नहुँदा गम्भीर खालका दुर्घटना समेत हुन सक्दछ भन्नेमा यसका प्रयोकर्ता जानकार हुनु जरुरी छ । 

सामाजिक सञ्जालको मूल ध्येय सामाजिक सद्भाव कायम गर्दै आधुनिक दिनचर्यालाई अझ व्यवस्थित बनाउने नै हो । तर, नेपालको सन्दर्भमा अहिले जतिपनि सामाजिक सञ्जाल प्रयोगकर्ता युवायुवती, बालिका तथा प्रौढहरु एवं सर्वसाधारणहरु यसको सदुपयोग कसरी गर्ने भन्नेमा अभ्यस्त हुन सकेका देखिँदैनन् ।

सामाजिक सञ्जालको दुरुपयोग भएको थुप्रै घटनाहरु सार्वजनिक हुँदै गर्दा यसको गम्भीर परिणामहरु पनि सार्वजनिक हुँदै आएका छन् । खासगरी अपराध मनोबृत्ति भएका व्यक्तिहरुले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई निशाना बनाउने गरेको उदाहरणहरु नेपालभित्र र बाहिर देखिँदै आएका छन् । 

राजधानीको सामाखुशीमा केही समयअघि १४ बर्षीय बालकले आत्महत्या गरेको घटना सार्वजनिक हुनपुग्यो । उक्त घटनाका बारेमा प्रहरीेले अनुसन्धान गर्दा उनको आत्महत्याको कारण थियो सामाजिक सञ्जालमा उनले आफ्नी सहपाठीका बारेमा सामाजिक सञ्जालमा गरेको दुरुपयोग । साथी साथीबीचमा भएको झगडाको कारण फेसबुकमा उनले केटी साथीको नक्कली खाता खोलेर अश्लील सामग्री राखेको सार्वजनिक भएपछि उनले आत्तिएर आत्महत्या नै गरेका थिए । 
प्रहरीका अनुसार पछिल्ला समयमा सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्रहत्या गर्ने घटना ह्वात्तै बढेका छन् । 
मोबाइल फोनमै सहजै इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढ्नु स्वभाविकै हो । यसको प्रयोगकर्तामा कम उमेर र अपरिपक्व उमेर समूहका व्यक्तिहरुका पहुँच नियन्त्रण गर्न र दुरुपयोग हुनबाट रोक्न पर्याप्त सचेतनाको अभावका कारण विभिन्न खालका गम्भीर दुर्घटनाहरु हुने गरेको निष्कर्ष प्रहरीको छ । 

एउटा अनुमानित तथ्याङ्कअनुसार नेपालमा करिव ८२ लाख फेसबुक प्रयोगकर्ता छन् । यो क्रम दिनानुदिन बढिरहेको तथ्याङ्कले देखाउँछ । जसमा १८ देखि २४ वर्ष उमेर समूहको संख्या सबैभन्दा धेरै रहेको सामाजिक सञ्जालको प्रयोगबारे अनुसन्धानरत संस्थाले बताउँदै आएका छन् । जुन उमेर समूह सामाजिक सञ्जालमा प्रवेश गर्दा आफू दुरुपयोगमा पर्न सक्ने र अन्जानमा अपराध गर्न सक्ने सम्भावना बढी देखिएको छ । 

अहिलेसम्म पनि नेपालमा विद्यालय र परिवारभित्रै पनि इन्टरनेट प्रयोग गर्दा बढ्न सक्ने जोखिमका बारेमा यथेष्ट जानकारी दिन सक्ने संयन्त्र नै छ्रैन । यसो भन्दै गर्दा यस्ता दुरगामी प्रभावलाई नियन्त्रण गर्नको निम्ति प्रयोगलाई नै निरुत्साहित गर्नु पनि उपयुक्त हुँदैन । सामाजिक सञ्जालभित्रका विकृत पक्षलाई मात्र केलाउनु कुनैपनि हालतमा न्यायोचित हुन सक्दैन । तर, यसको सदुपयोग कसरी गर्ने भन्नेमा यसका प्रयोगकर्तालाई सचेतना अभिबृद्धि गर्नु भनेको सही बाटो हुन सक्दछ । 
नेपालमा सामाजिक सञ्जालको दुरुपयोग भएको घटनाहरु अधिकांशतः नबुझेर नै भएका देखिन्छन् । खासगरी सामाजिक सञ्जालको दुरुपयोगका कारण यसले पार्ने दूरगामी प्रभावका बारेमा आवश्यक जानकारी हुन नसक्दा पनि धेरै घटनाहरु हुने गरेका छन् । यसको व्यवहारिक पक्षका बारेमा जति मानिसहरुलाई जानकारी छ, त्यसको कानुनी पक्षका बारेमा यसका प्रयोगकर्ताले बुझ्नु जरुरी छ । 

अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्विष्ट एसेप्ट गर्ने फेसबुक, ट्वीटर, भाइबर, इस्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पु¥याउने, अश्लील भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको छ । यी सबै कार्यहरु कानुन विपरीत हो भन्नेमा यसका प्रयोगकर्ताले बुझ्न नसक्दा पनि कतिपय कानुनी कारबाहीको दायरामा आइपश्चात मात्र छर्लङ्ग हुने गरेका छन् । 
सामाजिक सञ्जालको दुरुपयोग गरी विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले आफ्ना सम्पर्कमा आउने परिचित वा अपरिचित व्यक्तिहरुसँग कुनैपनि खाले व्यक्तिगत कुराहरु अनावश्यक रुपमा शेयर गर्नु हुँदैन । त्यतिमात्र होइन सामाजिक सञ्जालमा आफूले गर्ने पोष्टहरुका बारेमा समेत यथेष्ट जानकारी हुनु जरुरी छ । जुनसुकै खालका आफ्ना व्यक्तिगत तस्वीर, सन्दर्भ सामग्री वा सम्पर्क नम्बरहरु कुनैपनि हालतमा शेयर गर्नु हुँदैन । त्यतिमात्र होइन, आफ्ना निजी जीवनसँग सम्बन्धित गतिविधिहरु जसका बारेमा सार्वजनिक सरोकार र चासो आवश्यक छैन भने ती कुराहरु सामाजिक सञ्जालमा पोष्ट नगर्दा नै जाति हो । यस्ता कुराहरुलाई अपराध मनोबृत्ति भएकाहरुले सुक्ष्म ढंगले नियालिरहेका हुन सक्दछन् । जसबाट कुनैपनिखाले अपराधिक घटनाहरु सिर्जना हुन सक्दछन् । 

पछिल्लो पटक सामाजिक सञ्जालमा अरुका बारेमा अनर्गल प्रचार गर्ने र अश्लील भिडियो वा तस्वीरहरु सार्वजनिक गर्ने कार्यले बढवा पाइरहेको छ । यस्ता कुनै पनि कुकृत्य सामाजिक अपराधप्रति परिलक्षित रहेका छन् । अझ यस्ता गतिविधिहरुलाई प्रश्रय दिने वातावरण सिर्जना हुन नदिन जति यसका प्रयोगकर्ता सहज हुनु जरुरी छ । त्यति नै यस्ता गतिविधिहरुलाई निरुत्साहित पार्न सबै उत्तिकै चनाखो हुनु पनि जरुरी छ ।