बालयौन दुर्व्यवहार, संरक्षण सीप र कानुनी पक्ष

युवराज घिमिरे
युवराज घिमिरे

२०७५ मंसिर २३, आईतबार


‘नचिनेको मानिसले दिएको कुरा नखानु र नचिनेको मानिसको मानिसको गाडीमा नचड्नु है नानी’  रौतहट की १३ बर्षीया शर्मिला (नाम परिवर्तन) लाई बजार हिडने बेलामा आमाले भनिन् । शर्मिला पनि आमाले भनेको कुरा सुन्थिन् र टेर्थिन् पनि । त्यसै दिन उनलाई फर्कन अलि ढिला भो । बजारबाट आउने बेलामा गाउँकै नजिकैको छिमेकी भेटिन् । उसले सँगै बाइकमा जाउँला हतार नगर भन्यो र उनले त्यो छिमेकी अंकललाई विश्वास गरिन् र चिनैकै छिमेकीले उ माथि विश्वासघात ग¥यो ।  

बालबालिकालाई कसरी सिकाइन्छ र बालबालिकाले कसरी लिन्छन् यो महत्वपूर्ण हुन्छ । शर्मिलाकी आमालाई नचिनेका वा अपरिचितबाट मात्र यौन दुर्व्यवहार हुन्छ भन्ने एउटा बुझाइ थियो । छोरीलाई त्यही सिकाइन्,  तर एक अध्ययन अनुसार बालबालिका माथि भएका यौन दुर्व्यवहारका घटनाहरुमा ८७ प्रतिशत घटना चिनेका मान्छेबाट हुन्छ ।

बालयौन दुर्व्यवहारका घटनाहरुलाई केलाउँदा ठूलो संख्यामा बालबालिकाहरु यौन दुर्व्यवहारको चपेटामा परेको कुरा देखिन्छ । भनिन्छ जति घटनाहरु प्रहरीमा रिपोर्ट हुन्छन् त्यो भनेको घटनाका ४५ प्रतिशत जति मात्र हुन् । बाकी ५५ प्रतिशत घटनाहरु बीचैमा गुपचुप हुन्छन् । त्यसमाथि पनि नछोइकन गरिने दुर्व्यवहार वा बलत्कार बाहेकका घटना रिपोर्टिङ् नै हुँदैन । 

बालबालिकाको संरक्षण गर्न अभिभावकले एकदमै ख्याल गर्नुपर्दछ । उनीहरुलाई संरक्षणका सीपहरु प्रदान गर्नुपर्दछ । दुर्व्यवहारमा परेका बालबालिकाले न्याय पाउनु पर्दछ । यसमा कुनै अलमल हुनु हँदैन । हाम्रो प्रहरी बालमैत्री हुनुपर्दछ र अनुसन्धान प्रणाली बालमैत्री हुनुपर्छ र न्यायलय बालमैत्री हुनुपर्दछ । दुव्र्यवहारमा परेपछि न्यायको लागि आन्दोलन गर्नु नपरोस्, समाजमा रहेका वयस्क तथा परिवारले बालबालिकाको संरक्षण भनेको 

१.सबै बालबालिकाको अधिकारको प्रत्याभूति गरी जोखिममा पर्नै नदिनु 

२.जोखिमको खतरामा रहेकालाई समयमै सहयोग गर्नु  

३.हानी वा दुर्व्यवहारमा परेका बालबालिकाको घटना व्यवस्थापन र पुनस्र्थापना 

यी ३ कुराहरु अभिभावक तथा परिवारले बुझनु जरुरी रहेको छ । बालबालिकाहरुलाई यौनदुर्व्यवहारमा पर्नबाट जोगाउन अभिभावकहरुले संरक्षणका सीपहरु सिकाउनु पर्दछ । 

अहिले धेरै बालबालिकाहरु जीवनउपयोगी सीप र संरक्षण सीपका अभावमा इन्टरनेट लगायत अन्य माध्ययमबाट यौन दुर्व्यवहारको चपेटामा परिरहेका छन् । तसर्थ बालबालिकालाई परिवारमै बालयौन दुर्व्यवहारबाट बच्ने उपायहरुबारे सीप सिकाउन आवश्यक रहेको देखिन्छ ।  ‘क्या बोर बाबा र मामु पनि भोलि बेलुका मात्र आउने रे पोखराबाट, दादा पनि संधै ढिला आउने, एकलै एकलै घर बस्दा टेन्सन भइ सक्यो’  भक्तपुर लोकन्थली बस्ने १५ बर्षीय एक बालिकाले फेस बुक स्टाटसमा लेखिन्  त्यस पछि उनको मेसेन्जरमा म आऊ त साथी सँगै रमाइलो गरौंला जस्ता अन्य केही छाडा शब्द राखेर पनि सन्देश आउन थाल्यो । त्यस्ता सन्देश र फोटोले उनी लामो समयसम्म तनाबमा रहिन् । 
 काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका बस्ने नौलेनी मावि मा कक्षा ९ मा पढ्ने एक बालिकाका ८०० जना साथीहरु छन्  । उनीलाई कसैले साथी बन्न ्म्यासेज पठायो की स्वीकार गरिहाल्छिन्, तर उनलाई अहिले म्यासेन्जरमा नचाहिदो तस्वीर आउने गरेकोले फेस बुक बन्द गरिन् । 

हाम्रा बालबालिकालाई कस्तो म्यासेज हाल्ने, कस्तो साथी स्विकार गर्ने भन्ने कुराको छलफल बा आमाबाट कहिल्यै हुँदैन । त्यसकारण बालबालिकाहरु इन्टरनेटको माध्यमबाट पनि यौन दुर्व्यवहारमा परेका छन् । त्यसैले बालबालिकालाई मोवाइल र ल्यापटप अनि इन्टरनेटको सुविधा दिने मात्र हैन,  उनीहरुलाई कसरी प्रयोग गर्ने र दुर्व्यवहारविरुद्धका सीप सिकाउनु पर्दछ ।

बालबालिकाहरु विद्यालय, बजार, मेला पात तथा साथी भाई, सम्मेलन, आफन्तको तथा टयुसन पढ्न जाने गर्छन्  । यात्रा गरिरहेका हुन्छन् । यदि यात्रामा उनीहरु माथि कसैले छुने चलाउने ग¥यो भने तुरुन्त प्रतिकार गरी नजिकका अरु व्यक्तिसँग सहयोग लिन सिकाउनु पर्दछ ।  ट्यूसन पढ्न जाँदा पनि एकलै मात्र नजाने समुहमा मात्र पठाउने गर्नु पर्दछ । बालयौन दुव्र्यवहारका ८० प्रतिशत घटना एक बालक वा बालिका र एक बयस्क भएको बेला भएको कुरा अध्ययनले देखाएको छ । ट्यूसन पढ्न गएको बेला वा आफन्त वा साथीकोमा त्यस्तो घटनामा कसैले अश्लील शब्द भन्यो वा छुन चलाउन खोज्यो भने विरोध गर्ने त्यो बेला भीड भए तिर भाग्ने र तुरुन्त आमा बा  तथा नजिकको प्रहरीलाई खबर गर्नु पर्दछ भनेर सिकाउनु पर्दछ ।

बालबालिकाहरु मोबाइल बोके पनि त्यसको व्याट्री तथा बेलेन्स बारे त्यति ध्यान नदिइ एकहोरो चलाउन सक्छन् । यस्तो बेला उनीहरुले आपत पर्दा परिवारमा खबर गर्न सक्दैनन । त्यसैले जहाकहिँ जाँदा पनि बालबालिकाले मोवाइलको व्याट्री पूरा राख्ने र फोन गर्ने मिल्ने गरि ब्यालेन्स राख्ने कुरा सिकाउनु बा आमाको जिम्मेवारी हुन्छ भने बालबालिकाले पनि कहाँ जादैछु को–को छौं र कतिखेर फर्कदै छौं भनेर सही सूचना दिन पर्दछ । मोवाइल र म्यासेजमा कसैले नराम्रो कुरा लेखेमा त्यसको उत्तर नलेख्ने र त्यसलाई नमेटीकन प्रहरी र परिवारलाई देखाउने कुरा बालबालिकालाई सिकाउने । 

कहिंकतैबाट फर्कदा समयमै फर्कने, परिवारका बारे र आफ्ना व्यक्तिगत कुरा अरुलाई नभन्ने र यदि आफू र आफू जस्तै साथीलाई दुर्व्यवहार हिंसा र शोषण भएमा वा देखिएमा नजिकको प्रहरी, प्रहरीको नं १०० र नेपाल सरकारले सञ्चालन गरेको पैसा नलाग्ने फोन १०९८ मा फोन गर्ने कुरा सँधै सिकाउने र बालबालिकासँग अधिकतम समय बिताउने काम अभिभावकले गर्नुपर्दछ ।

नेपालको संविधानले प्रत्येक बालबालिकालाई दुर्व्यवहार र शोषणबाट संरक्षित हुने अधिकारबारे धारा ३९ मा ब्याख्या गरेको छ ।  यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ ले दफा ६६ को उफदफा ३ अन्तर्गत बालबालिका विरुद्ध गरिने क्रियाकलापलाई बालबालिकाविरुद्ध हुने यौन दुर्व्यवहार भनेको छ । ती अन्तर्गत अश्लील श्रव्यदृश्य, अश्लील चित्र तथा अश्लील सामग्री देखाउने, बालबालिकाको वास्तविक वा अश्लील चित्र भण्डारन गर्ने वा वितरण गर्ने, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने र धम्की दिने, अश्लील कार्य तथा सामग्री निर्माणमा सहयोग गर्ने, यौनजन्य मनसायले शरीरका संवेदनशील अंगमा छुने, छुन लगाउने र यौनजन्य अंग प्रदर्शन गर्ने र गर्न लगाउने, कामबासना, यौनसन्तुष्टी,यौन जन्य सेवा यौनजन्य कार्यमा बालबालिकाको  प्रयोग  यौन दुर्व्यवहार भनेको छ ।  ्

मुलुकी अपराध (संहिता) ऐन, २०७४  परिच्छेद १८ को करणी कसुर सम्बन्धी महलमा कसैले जबरजस्ती करणी गर्न हुँदैन । साथै  कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ  भनेर प्रष्ट उल्लेख छ । साथै गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ भन्ने कुरा पनि ऐनमा उल्लेख छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ( फौजदारी आचार संहिताले) ले जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ :
(क) दश वर्षभन्दा कम उमेरकी बालिका भए सोह्र वर्षदेखि बीस वर्षसम्म, 
(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखि सोह्र वर्षसम्म, 
(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म
घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म, 
(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म भनेर सजाय तोकेको छ । 

प्रत्येक बालबालिकालाई न्यायको हक र अपराधीले सजाय पाउनु पर्दछ । यो हाम्रो संविधान र कानुनले प्रष्ट पारेको छ । तर पनि हामी अभिभावक तथा समाजले कुनै पनि बालबालिकालाई यौन दुर्व्यवहार तथा शोषणमा पर्न नदिनको लागि मिलेर काम गर्नु पर्ने आवश्यकता देखिएको छ ।   

लेखक बालअधिकारकर्मी हुन् ।