भक्तपुर सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा जेसुम यात्राको तेश्रो श्रृंखला

विमल थापा
विमल थापा

२०७५ मंसिर २९, शनिबार


भक्तपुर । कला, सँस्कृति र साहित्यले मानिसलाई एकत्रित मात्र गर्दैन, यसले भूगोल र भाषाले सिर्जित दूरीलाई समेत निकट र आत्मीय बनाउने गर्दछ ।  

पश्चिमा दर्शन र सिद्धान्तले अचेडिरहेको पूर्वीय सभ्यतामाथिको गहिरो चिन्तनलाई आत्मसाथ गर्नु त्यति सहज नभएको तर्क गरिरहेका थिए कवि एवं नाटककार फूलमान बल । सन्दर्भ थियो भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित अनन्तलिङ्ग डाँडामा आयोजित जेसुम यात्रा तेश्रो श्रृंखलाको । 

मानिस विविध कारण र तत्वले गर्दा अशान्त बन्न पुग्दछ । जब उ भित्रको छटपटाहट उद्देलित हुने ठाउँ हुँदैन, तब उसका निम्ति सहज र भरपर्दाे माध्यम बन्नजान्छ कला, सँस्कृति र साहित्य । यसैलाई आत्मसाथ गर्दै उत्साही युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरुले एउटा सिर्जनात्मक यात्राको शुभारम्भ गरेका थिए आजभन्दा ३ महिना अगाडि । यो अभियानको नाम जुराए ‘जेसुम सिर्जना यात्रा’ । 

यात्राकी अभियन्ता अनिता लामा भन्छिन्, ‘सामाज नकारात्मकवादबाट उन्मूख रहेका बेला जेसुम यात्राले सकारात्मक सोच र चिन्तनमा लाग्नलाई प्रेरित गर्छ । यसको निम्ति कला, सँस्कृति र साहित्य नै भरपर्दाे माध्यम हुन सक्दछ भन्ने हामीले ठान्यौ ।’

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को पुछार (मध्यपुर थिमी)को सिमानाबाट झण्डै दुई घण्टाको पैदल यात्रापछि जेसुम यात्रामा सहभागी सर्जकहरु काठमाण्डौ उपत्यकालाई नजिकबाट नियाल्न सकिने वडाको उच्च भाग अनन्तलिङ्ग डाँडामा पुगेका थिए । 

केही क्षणको विश्रामपछि मनै लोभ्याउने उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै वरिपरिका हिमाली भू–भाग सहितको दृश्यलाई चित्रका माध्यमबाट आफ्नो क्यानभासमा कोर्न थाले कलाकार लालकाजी लामा । 

त्यसो त कवियत्री एवं यात्राकी अभियन्ता अनिता लामा आफूले यात्रा गर्दाको अनुभूतिसहित कविता सिर्जना गर्नपट्टि तल्लीन हुन थालिन् । उनले यात्राका क्रममा देखेका स्थानीय जनजीवनलाई शब्दका माध्यमबाट सिर्जनात्मक स्वरुप दिन थालिन् । 
ए तर्खाल (तर्खगाल) !
तर्खाल तिम्रो हावाले छोएपछि चस्स 
घामले भन्यो 
यो बाटैबाटो जाउ
जब बाटोमा डोरिएँ घामसँगै
धुँलोले भन्यो 
शीतैशीतको तिर्खा मेटेर
जंगलैजंगल जाउ । 
यात्रामा असहज भएपछि
यसरी मैले घाम छलें
हावा छलें
धुँलो छलें
तर ए तर्खाल
तिम्रो सानो थुम्केली पहाडमा
एउटा दृश्यले मलाई छल्नै दिएन
उकालो लागेको पैंताला गल्नै दिएन ....

यात्राका अर्का अभियन्ता एवं पत्रकार बालकृष्ण बस्नेत यस्तो यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैमा सकारात्मक सन्देश भएको बताउँछन् । उनी भन्छन्,‘समाजमा हुने गरेका नकारात्मक टिप्पणी र विचारहरुले गाँज्दै गएको वर्तमान अवस्थामा जेसुम यात्रा सकारात्मक सोचको एउटा फलदायी कदम हुन सक्दछ ।’

कार्यक्रममा कलाकारहरु लालकाजी लामा, दिपेन्द्र वनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभासमा चित्र बनाउँदै गर्दा समालोचक एवं साहित्यकार सुरेश हातेकाले, साहित्यकार अनन्त वाग्ले, पुष्कर बुढाथोकी, रमेश कँडेललेले शब्दका माध्यमबाट सिर्जना बुन्न व्यस्त थिए । 

यस्तो सिर्जनात्मक यात्रालाई थप हौसला प्रदान गर्न भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पनि आफूले विगतमा सिर्जना गरेको कविता वाचन गरेका थिए । राजनीतिक र सामाजिक बिषयबस्तुमा आधारित बस्नेतको सिर्जनाले साहित्यकार एवं कलाकारहरुलाई थप रोमान्चित बनाइरहेको थियो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत समेतको सहभागिता रहेको थियो भने जेसुम सिर्जना यात्रा तेश्रो श्रृंखलाको व्यवस्थापन स्थानीय सहदेव न्यौपानेले गरेका थिए ।