‘उ रनपाओ’ जसले चीनकै सबैभन्दा समृद्ध गाउँ बनाए !

विमल थापा
विमल थापा

२०७५ पौष १, आईतबार


सन् १९२८ मा चीनको चियाङ्सु प्रान्तको एक अति विपन्न गाउँ ख्वासीमा जन्मिएका चीनका एकजना अग्रज किसान ‘उ रनपाओ’ ले एउटा अद्भूत सपना बुने । उनले आफ्नो गाउँलाई चीनकै सबैभन्दा सुखी र समृद्ध गाउँ कसरी बनाउन सकिन्छ भनेर मनन् मात्र गरेनन्, यसको निम्ति एउटा आधार समेत तय गरे । सन् १९६१ मा आफ्नो गाउँका करिब ३०० व्यक्तिहरुसहित दैनिक १५–१६ घण्टा कडा परिश्रम गरी चीनकै समृद्ध गाउँ बनाउने घोषणा गरे । 

एउटा सामान्य किसानले बुनेको सपना साकार हुन्छ भन्नेमा धेरैको विश्वास थिएन । तर आफूले घोषणा गरेको झण्डै २० बर्षमा आफ्नो गाउँलाई उनले चीनको सबैभन्दा समृद्ध गाउँका रुपमा विकास गरिछाडे । 

अहिले उक्त गाउँमा जसले जति पढेपनि पढाइ शुल्क र विरामी हुँदा उपचार खर्च लाग्दैन । खान पनि लगभग निःशुल्क जस्तै छ । पर्यटन प्रबद्र्धनका लागि आफ्नै सुविधा सम्पन्न ७४ तल्लाको लङ् सी इन्टरनेशनल नामक प्रसिद्ध होटल छ । गाउँका सबै घरमा २–३ वटा अत्याधुनिक कार र घरभित्र अत्याधुनिक उपकरणहरु छन् । यस गाउँबाट विदेशमा पढ्न गएका सतप्रतिशत विद्यार्थीहरु गाउँमै फर्किएर त्यही काम गर्छन् । 

‘उ रनपाओ’ ले चीनकै समृद्ध गाउँका रुपमा विकास गर्ने सपना बुन्दा उनको गाउँको क्षेत्रफल मात्र ०.९ वर्ग किलोमिटर थियो । तर उनको गाउँको समृद्धि देखेर छिमेकी गाउँहरुपनि उनको गाउँ ख्वासीमा मिसिन थाले । हाल यसको क्षेत्रफल ३० वर्ग किलोमिटर छ भने यो गाउँमा ३० हजार जनसंख्या रहेको छ । सन् १०१२ को तथ्याङ्कअनुसार त्यस गाउँको प्रतिव्यक्ति बार्षिक आय ८८ लाख युआनभन्दा बढी छ । उक्त गाउँको एक बर्षको आम्दानीले चीनको अन्य यस्तै १०० वटा गाउँ बनाउन सक्ने क्षमता राख्दछ । 

यो चमत्कार कसरी सम्भव भयो त ? ख्वासीको वैभव र समृद्धि हेर्न स्वदेश तथा विदेशबाट बार्षिक २० लाख पर्यटक आउने गरेका छन् । यसमा विभिन्न देशका राष्ट्र प्रमुखदेखि, सरकारप्रमुख तथा विशिष्ट व्यक्तिहरु समेत पर्दछन् । ‘उ रनपाओ’ न त दार्शनिक थिए, न त राजनेता नै थिए । उनी केवल एउटा सामान्य किसान थिए । उनलाई लाग्यो कृषि प्रणालीलाई व्यवस्थित र आधुनिकीकरण गर्ने हो भने गाउँको समृद्धि अवश्य सम्भव छ । उनी आधुनिक खेतीको व्यवहारिकता तर्फ बढी केन्द्रित हुन थाले । आफ्ना गाउँका सबैलाई अहोरात्र कृषि क्षेत्रमा खटिन प्रेरित गरे । जसको परिणाम स्वरुप ख्वासी गाउँले अहिले संसारकै धनी गाउँका रुपमा प्रसिद्धि कमाएको छ । 

चीनको राजनीतिमा जसरी तङ सियाओ पिङलाई आर्थिक समृद्धि र विकासका पथप्रदर्शक मानिन्छ । त्यसरी नै ‘उ रनपाओ’ लाई पनि चीनको समृद्धिमा आधुनिक खेतीको व्यवहारिक ज्ञानबाट विद्धान बनेका आर्थिक अभियन्ता मान्ने गरिन्छ । 
व्यक्ति, समाज र राष्ट्रको समृद्धिका लागि कुनै राजनीतिकवाद नै आवश्यक पर्दछ भन्ने छैन । यदि दृढ इच्छाशक्ति र सांगठानिक नेतृत्व क्षमता भएका व्यक्ति हुने हो भने समाज बदलिन धेरै समय लाग्दैन भन्ने एउटा ज्वलन्त उदाहरण ‘उ रनपाओ’ हुन भन्दा फरक पर्दैन । 

नेपाल चीनको छिमेकी राष्ट्रमात्र होइन । चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा समेत धेरै पूरानो छ । चीनले जुन गतिमा आफ्नो समृद्धि हासिल गरेको छ, त्यसको प्रतिफल अप्रत्यक्ष रुपमा लिन सक्नुपर्दथ्यो, सो लिन  भने सकेन भन्न सकिन्छ । 

हामीले ‘उ रनपाओ’ को ख्वासी गाउँको उदाहरण लिने मात्र हो भने पनि नेपालको समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्नेमा धेरै आधारहरु देखिन्छन् । जसरी ख्वासी गाउँले आफ्नो समृद्धिको निम्ति कृषिलाई आफ्नो आधार तत्वका रुपमा स्वीका¥यो । त्यसरी नै नेपालको समृद्धि पनि कृृषिमा नै बढी केन्द्रित हुनु जरुरी छ भन्नेमा दुईमत छैन । 

अहिले हामी व्यापार घाटाको अवस्थामा छौं । यहाँ नै उत्पादन हुन सक्ने धेरैजसो बस्तुहरुमा समेत हामी आयातमा निर्भर हुन थालेका छौं । त्यसमा कृषि उपभोग्य बस्तुहरुको मात्रा धेरै हुनु स्वभाविक नै हो । अहिले हामीले दिनहुँ प्रयोगमा ल्याउने खाद्य सामग्री, फलफूल, तरकारी तथा फूलजन्य उत्पादनहरु समेत कि त भारतबाट आयात गर्छाै भने कि त चीनबाट भित्र्याउने गर्दछौं । यो अवस्थामा हाम्रो अर्थतन्त्र निर्यातमा भन्दा आयातमा बढी केन्द्रित देखिन्छ । यसले समृद्धि हासिल गर्न कठिनाइ भएको छ । 

अहिले पहिलोपटक बहुमतको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको छ । अनि उसले ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा अगाडि सारेको छ । हेर्दा र सुन्दा अति नै प्रिय लाग्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न अत्यन्तै चुनौतीपूर्ण अवस्था विद्यमान रहेको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ कसरी बन्न सक्दछन् भन्नेमा स्पष्ट दृष्टिकोण अझैपनि सार्वजनिक हुन सकिरहेको छैन । राज्यले के कस्ता कुराहरुमा लगानी गर्ने ? र अबको कति बर्षभित्रमा मुलुक समृद्धिको बाटोमा अगाडि बढ्नेछ ? अनि यसको निम्ति गुरुयोजना के–कस्तो हुनेछ ? त्यसको स्पष्ट खाका सार्वजनिक भएको देखिँदैन । केवल राजनीतिक लोकप्रियताको निम्ति मात्र यस्ता नारा सार्वजनिक भएका हुन् भने भोलिका दिनमा कम्युनिष्ट नेतृत्वमाथिको जनविश्वासमा कुठराघात हुने निश्चित छ । 

हाम्रो मुलुकको भू–बनोट र अवस्थित अनुसार हामीले आफ्नो उत्पादन के–कुरामा बढी केन्द्रित गर्ने भन्नेमा गहिरो सोचाइ आवश्यक छ । खासगरी अहिलेको सरकारले अगाडि सारेको र छिमेकी मित्रराष्ट्र चीनले पनि तत्परता देखाएको नेपालम्म रेलमार्ग जोड्ने परियोजना सार्थक बनाउन अवश्यक पनि जरुरी हो । तर त्यो सँगै हामी कनेक्टीभिटीका माध्यमबाट संसारसँग जोडिन चाहन्छौ भने नेपालमा आयात मात्र गरेर समृद्धि हासिल हुनै सक्दैन । यहाँबाट संसारमा पु¥याउने हाम्रा उत्पादनहरु के–के हुन् ?  यदि कृषिमा हामी निर्भर हुने र आर्थिक समृद्धिको राम्रो आधार कृषिलाई मान्ने हो भने अहिलेदेखि नै कृषिमा आधुनिक प्रविधिसहित उत्पादनमुखी गतिविधिहरुमा हाम्रो ध्यान जानु जरुरी छ । मानौ भोलि नेपाल कनेक्टीभिटीका माध्यमबाट संसारसँग जोडियो भने नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने कृषि उपजहरु हामीले बाहिर निर्यात् गर्न सक्ने कि नसक्ने ? धेरै परको कुरा नसोचौं, छिमेकी मित्रराष्ट्र भारत र चीनले हजारौं टन नेपाली स्याउँको माग ग¥यो भने त्यो निर्यात गर्न हामी सक्ने कि नसक्ने ? यदि हामीले यो सोच र चिन्तनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने इच्छाशक्ति कायम गर्दैनौ भने ‘सुखी नेपाली र समृद्ध नेपाल’ व्यवहारिक रुपमा सार्थक होला ?