भक्तपुरलाई शैक्षिक हब बनाइनेछ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ पौष ६, शुक्रबार



भक्तपुर । पूर्व उद्योग मन्त्री एवं प्रतिनिधि सभा सदस्य महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य तथा शैक्षिक हबका रुपमा विकास गरिने बताउनुभएको छ । 

चँखु प्रकाश समूहको १५ औं बार्षिकोत्सवमा आयोजित भक्तपुर जिल्ला विद्यालय स्तरीय पाँचौ नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै सांसद बस्नेतले विद्यार्थी उमेर भनेको पवित्र र स्वच्छ उमेर भएकाले उनीहरुसँग नैतिक बल हुने बताउनुभएको छ । 
विद्यार्थीहरुको नैतिक बललाई सामाजिक विकासको सवालमा लगाउनुपर्ने बताउँदै सांसद बस्नेतले भन्नुभयो,‘हामीसँग हाम्रा पूर्खाहरुले दिनुभएको कला, सँस्कृति, सम्पदा र सभ्यता छ, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’

भूगोलको हिसाबले नेपालको सानो जिल्ला भएपनि कला, सँस्कृति र सम्पदाको हिसाबले भक्तपुर संसारकै धनी जिल्ला भएको सांसद बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकाले प्रस्तुत गर्नुभएको नृत्यका माध्यमबाट हाम्रो कला, सँस्कृति र सभ्यतालाई जोगाइरहनुभएको छ, यसमा हामीले गौरव गर्नुपर्दछ ।’ 

हाम्रो सँस्कृति र सभ्यताविरुद्धका कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउँदै बस्नेतले यदि  कसैले यसो  ग¥यो भने भाइबहिनीहरुले प्रश्न उठाउनुपर्ने बस्नेतले बताउनुभयो । 

भक्तपुरमा विगत ४२ हप्तादेखि हनुमन्ते नदी सरसफाइ अभियान सञ्चालन भइरहेको बताउँदै सांसद बस्नेतले हाम्रो सभ्यता र सँस्कृतिलाई जोगाउन हाम्रो शहर तथा नदी सफा हुनुपर्दछ बताउनुभयो । 

उहाँले भन्नुभयो,‘समग्र मुलुकको सरसफाइमा ध्यान दिने हो भने हाम्रो घर आँगन देखि व्यक्तिगत रुपमा पनि सफा हुनु जरुरी छ ।’ 

भक्तपुरलाई समृद्ध र विकसित बनाउनको निम्ति अहिले विशेष कार्यक्रमहरु अगाडि बढाइएको बताउँदै सांसद बस्नेतले स्वच्छ, सुन्दर र हरियाली भक्तपुर निर्माण गर्न हनुमन्ते नदीको दायाँ वाँया २०/२० मिटरको बाटो बाटो निर्माण सुरु भएको बताउनुभयो । 

उहाँले भक्तपुरको परम्परागत बस्तीहरुको संरक्षणको निम्ति नेपाल सरकारसँग सम्झौता गर्न लागेको समेत बताउनभयो । उहाँले भन्नुभयो, ‘हामी नेपालकै सबैभन्दा ठूलो रंगाशाला यही सिपाडोल–नंखेलमा बनाउँदैछौ ।’

बस्नेतले भक्तपुरको गठ्ठाघरमा हामी पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको सभागृह बनाउने प्रक्रिया अगाडि बढेको बताउँदै ७ सय रोपनी जग्गामा वीर अस्पताल निर्माण प्रक्रिया समेत अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सूर्यविनायकमा प्राणी उद्यान केन्द्र बनाउँदैछौ भने ग्रामीण भेगका सबै बाटोहरुलाई सुधार कार्य अगाडि बढेको छ ।’

सांसद बस्नेतले भौतिक रुपमा विकास गरेर मात्र नहुने बताउँदै भक्तपुरलाई सभ्य, सफा र सुन्दर सुरक्षित, उज्यालो तथा हरियालीयुक्त, कला, सँस्कृति, सम्पदा संरक्षण भएको बनाउनको निम्ति सबैको सहयोग जरुरी भएको बताउनुभयो ।

 

जिल्लाका २५ वटा विद्यालयले सहभागिता जनाएको पाँचौ भक्तपुर जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगितामा चाणक्य मावि प्रथम, चरखण्डी विद्या मन्दिर द्वितीय, पारागन बोर्डिङ स्कूल तृतीय भएका थिए । यस्तै सान्त्वता पुरस्कार प्राप्त गर्नेहरुमा मेरी गोल्ड विद्यालय तथा आदर्श ज्योति मावि रहेका छन् भने उत्कृष्ट नृत्य निर्देशक क्रियटिक स्कूल, उत्कृष्ट भेषभूषा ओम ज्ञानमन्दिर तथा विशेष पुरस्कार ह्याप्पी नेट विद्यालयले प्राप्त गरेका छन् । 

प्रतियोगितामा पुरस्कृत विद्यालयका सहभागीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा पाँचौ पटकसम्म निरन्तर रुपमा भक्तपुर जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गर्न विशेष योगदान पु¥याएवापत संस्थाका सचिव राजु प्रजापतिलाई सम्मान गरिएको थियो ।