अस्ताए लोकगीतका नक्षत्र गायक बुद्धिकृष्ण लामिछाने

रमेश गिरी
रमेश गिरी

२०७५ पौष १३, शुक्रबार


भक्तपुर । 
    “पिँढीमा बसेर मेरै बाटो हेरेर
    मेरी आमा रुदिहुन मलाई सम्झेर
    परदेशी छोरा नआउँदा
    चिठीपत्र नपाउँदा
    मनमा विरह चल्दो हो आँसुले धोती भिज्दो हो”

यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीत मार्फत पस्केर आमनागरिकको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले आज आफ्नै आँगनमा देशत्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा त्यसैगरि रसाए । 

आँगनमा लडिरहेको उहाँको देहलाई हेरेर आँसु पुछ्नेहरु “पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुदिहुन मलाई सम्झेर....” गीतको चर्चा गरिरहेको सुनिन्थ्यिो । उहाँको छोरी सम्झना भन्छिन्–“यो गीतमा जस्तै उहाँको प्यारो पिढीँमा झण्डै आधा जीवन विताउनु भएका बुबाले आज त्यही पिढीँ पनि छाडेर जानुभयो ।”

२०१२ साल साउन १ गते जन्मिनुभई एकसय भन्दा बढी जिवन्तपरक गीत गाएर नेपाली गीत संगीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गर्नुभई हृदयघातका कारण विगत ७ बर्षअघि पारालाईसिस भई घरमै थलिनुभएका लोकगायक लामिछानेले ६३ वर्षको उमेरमा आज अपरान्ह आफ्नै निवास चाँगुनारायण नगपालिकामा ७ स्थित चारघर चौतारामा देहत्याग गर्नुभएको हो । 

‘घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिऊँ यो जोबन...।’

विरहका मात्रै होईन यस्ता जवानीको गीत गाउने यी वरिष्ठ साधकले घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाईरहनुहन्थ्यो । भेट्न जानेहरुसंग हात जोड्दै विरहका गीत र विरहको जिन्दगीको सम्झना गराउँदा उहाँको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन मनि कट्क्क काट्थ्यो, आँसु तप्प चुहिन्थ्यो ।

गायिका कोमल वलीसंग लामिछानेले आएको गीत “तिम्रो र मेरो मायाको डोरो बेरौ कि फनफानी......” मात्रै नभई “फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दै छु भारी बोक्दैछु......।” जस्ता उहाँले गाएको गाउँघरको यथार्थ जीवन बोकेको गीतहरु पनि उत्तिकै चर्चामा आए । जति उहाँको जीवनका पीडा र व्यथाहरु चर्चामा आएका थिए । 
औषधि उपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोग बाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थतालाई पनि गीत मार्फत ल्याउनुभयो । 

“पर्नु पर्यो पिर जेठा,
मलाई पर्यो पिर
एउटा थाप्ला दुईटा नाम्लो 
ज्यानलाई पर्यो पिर.....”

दुईटी श्रीमति ल्यादाँ कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढंगले गाउँने गायक लामिछानेको पार्थिव शरीरलाई विदाई गर्न समेत कान्छी श्रीमति र कान्छी श्रीमतिबाट जन्मिएको एक छोरी नआएको चर्चा वागेश्वरी ७ महादेव मन्दिर नजिकै रहेको घाँटमा उहाँको देह जलिरहदाँ चलेको थियो ।

टीकाराम लामिछाने र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मनु भई सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पुरा गर्न रेडियो नेपालमा स्वर परीक्षण पास गरेर २०३६ सालमा मै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो– ‘घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर...’ । 

यो गीत चर्चित भएसंगै उहाँले गाउँनु भएका ‘गाई त बाँध्ने पातलो दाम्लो...’, ‘पर्नु पर्यो पीर जेठा मलाई पर्यो पीर...’, ‘भयो डामाडोल...’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर...’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँ कि फनफनी कान्छी...’ लगायत गीत गाउँदै  गीतियात्रामा अगाडि बढ्नु भएको उहाँकी श्रीमति दुर्गादेवी बताउनुहुन्छे । 

श्रीमतिसंगै दुई छोरा र ६ छोरी रहेका लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उहाँको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिढीँमा न कोही नेतापुगे, न कोही सरकारी प्रतिनिधी नै । घाटमा उहाँको देह जलिरहदासम्म पनि कोही कलाकर्मी र गायकगायिका श्रद्धाञ्जली अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक श्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए ।