बर्ष २०१८ : समृद्धिको पाइलातर्फ !

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ पौष १७, मंगलबार


अनन्त सन्देश न्यूज डेक्स :

काठमाडौँ– अंग्रेजी सम्बत् सन् २०१८ विदा भएको छ । विश्व मञ्चमा सन् २०१८मा विभिन्न घटनाहरुको उतार चढाव र अविष्मरणीय रहे जस्तै नेपालमा पनि केही महत्वपूर्ण उपलब्धी सहित केही चुनौतीहरु पनिसँगै सिर्जना हुन पुगे । सन् १०१८ लाई औपचारिक रुपमा विदाइ गरी सन् २०१९ लाई स्वागत गर्दैगर्दा नेपालमा मूलतः यो बर्ष केही ऐतिहासिक उपलब्धी पनि हासिल भएको छ । खासगरी यो बर्ष निर्वाचन र ऐतिहासिक रुपमा संघीयता कार्यान्वयनको बर्षका रुपमा पनि लिन सकिन्छ । 
 

राजनीतिक उपलब्धी :
सन् २०१८ को प्रारम्भमा पहिलो पटक संविधान सभाबाट जारी संविधानले व्यवस्था गरेबमोजिम तत्कालिन नेपाली काँग्रेस नेतृत्वको सरकारले संघ र प्रदेश सभाको निर्वाचन सम्पन्न ग¥यो । संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यका लागि निर्वाचन सम्पन्न भयो । नेपालको इतिहासमा विक्रम सम्बत् २०१५ पछि पहिलोपटक झण्डै दुईतिहाइ नजिकको परिणाम प्राप्त गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भयो । फागुन ३ गते तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भयो ।  
यस्तै प्रदेशसभाको निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् गठन भई मुलुकमा पहिलोपटक सङ्घीयता कार्यान्वयन भएको छ । संविधानअनुसार माघ २४ गते राष्ट्रियसभाको निर्वाचन पनि यही वर्ष भयो । संविधानमा दुई सदनात्मक संघीय संसद्को व्यवस्था छ । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

संघीय संसद्को निर्वाचनपछि दुवै सदनका सदस्यको फागुन २० गते शपथ र २१ गते पहिलो बैठक बसेको थियो । संविधान कार्यान्वयनकै सिलसिलामा यसै वर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैजना पुनः सोही पदमा निर्वाचित भए । 
संविधान कार्यान्वयनको चरणअन्तर्गत यसै वर्ष सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भयो । निर्वाचनमा गठबन्धन गरेका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा भयो ।

जेठ १८ गते उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भयो । असार ४ गते राष्ट्रियसभाका सदस्यको पदावधि निर्धारण गरियो । यही वर्ष असार १ गते पहिलो पटक सातै प्रदेशमा एकसाथ सातै प्रदेश सरकारले बजेट प्रस्तुत गरे । यसै वर्ष राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा चक्रिय प्रणालीअन्र्तगत महन्त ठाकुरपछि राजेन्द्र महतोले नेतृत्व लिए ।

यसै वर्ष जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिए । सन् २०१८ मै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले साउन १८ गते नियुक्तिका लागि अयोग्य भन्दै अस्वीकृत गरेपछि उनीपछिको दोस्रो वरियताका न्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बने । प्रधानन्यायाधीश मिश्रको कार्यकाल सकिएकाले संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सिरफारिश गरी सुनुावाइको प्रक्रिया अघि बढेको छ ।

ठूलो चासो र बहसका बीच भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भयो । भदौ २४ गतेदेखि प्रधान सेनापतिमा नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा नियुक्त भए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रमुख आयुक्तका रुपमा नवीनकुमार घिमिरेलाई असोज ४ गते पायो । यसै वर्षको असोज ४ गते संघीय संसद्का समितिले नेतृत्व पाए । यसै वर्ष सरकारले विभिन्न मुलुकमा रिक्त राजदूत नियुक्तिका लागि आठजनालाई सिफारिससमेत गर्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण वैशाख (२८ र २९) र काठमाडौँमा भएको बिम्स्टेकको चौथो सम्मेलन शिखर सम्मेलन (भदौ १४ र १५) पनि यस वर्ष नेपालको राजनीतिमा अविष्मरणीय रहे । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमण पनि चर्चाको बिषय बन्यो । 

युनिभर्सल पिस फाउण्डेशनको आयोजनामा काठमाडौँमा भएको एशिया प्रशान्त सम्मेलनको आलोचनात्मक टिप्पणीले ठूलै चर्चा पायो । प्रदेश सरकार गठन भएको एक वर्ष नबित्दै सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी र प्रदेश नं ३ का केशव स्थापितलाई बर्खास्त गरिएका खबरले पनि राम्रै चर्चा पायो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसको महासमितिको बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भयो । महासमिति बैठकमा जसरी असुन्तुष्टीका स्वरहरु स्वयं महासमिति सदस्यहरमा देखा परे, सोही दिन सुरु भएको नेकपाको स्थायी समितिको बैठकमा पनि ठूलै राजनीतिक बहस हुनपुग्यो ।

कमजोर प्रेस स्वतन्त्रता :
संयुक्तराज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलमा साउदी राजघरानाकोे उच्चतहको आदेशमै अक्टोबर २ मा विभत्स हत्या भयो । 
अमेरिकी अखबार दी वासिङटन पोस्टका स्तम्भकार समेत रहेका खशोग्जीको शव तीन महिना बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । 

अमेरिकामै मुख्यालय रहेको कमिटी टू प्रोटेक्ट जर्ना्लिस्ट (सीपीजे)ले प्रदर्शनका क्रममा पत्रकारलाई गिरफ्तारी र आक्रमण हुने गरेको, सत्तासीनहरुले प्रेसलाई त्रसित पार्ने किसिमका शब्दाडम्बर प्रयोग गरिरहेको तथा सूचनाको पहुँचमा जानीबुझी अबरुद्ध पारिएको भन्दै चिन्ता व्यक्त गरेको छ । अमेरिकी इतिहासमै पहिलोपटक सीपीजेले अमेरिकामा मिडिया मिसन पठाएर प्रेसको अवस्थाबारे जानकारी लिएको छ । 

अन्तर्राष्ट्रिय प्रेसको अवस्थाबारे सूक्ष्म अध्ययन र वकालत गर्ने संस्थाहरुले सन् २०१८ प्रेस स्वतन्त्रताका दृष्टिबाट अँध्यारो वर्ष रहेको बताएका छ । आलोचनात्मक पत्रकारलाई थुन्ने, कानुनी कारबाही गर्ने वा विश्वसनीयतालाई अवमूल्यन गर्ने कार्य भएका छन् । सन् २०१८ मा झण्डै ७८ जना पत्रकार मारिएका छन् । 

यसैगरी फ्रान्समा मुख्यालय रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सन् २०१८ मा ८० जना पत्रकार मारिएका र ३४८ जना थुनामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । जेलमा रहेकामध्ये चीनमा ६० जना, इरानमा २८ जना, साउदी अरेबियामा २८ जना, इजिप्टमा ३८ जना र टर्कीमा ३३ जना छन् । सन् २०१८ मा विश्वभर ६० जना पत्रकार विभिन्न समूहको कब्जामा छन् र खासगरी यी घटना सिरिया, यमन, इराक समेतका मध्यपूर्वका देशमा बढी पाइएको छ । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार विश्वभर अझै ६१ जना पत्रकारको अवस्था अज्ञात छ । दक्षिण एसियाली मुलुकमध्ये भारतमा पाँचजना, अफगानिस्तानमा १३ जना र पाकिस्तानमा १ जना पत्रकारको हत्या भएको छ ।

मानवीय क्षतिको बर्ष :
मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।

एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु प¥यो । सबैभन्दा कहालीलाग्दो घटनाको रुपमा यो वर्ष बंगदेशबाट आएको युएस एयर–बंगला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । 

जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु भयो ।

धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर, गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्को गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो ।

असोजमा दाङको तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगन्जमा ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जिप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो ।

कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौँडास्थित बतासेबाट एउटा जिप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे ।

दाङमा मंसिरमा चितवनबाट बेहुली लिएर बाँके हिँडेका दुलाहाका बाबुआमासहित ६ जनाको दुर्घटनामा मृत्यु भयो । दुर्घटना मंसिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्वसाधारणले ज्यान गुमाउन पुगे ।

डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से१प २९३ नम्बरको स्कुल बस गत मंसिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनुपर्यो ।
यही पुसमा दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो ।

बाढीपहिरोबाट पनि सन् २०१८ को वर्ष दुःखद बन्न पुग्यो । सुतिरहेका वेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे । राति सुतिरहेका वेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौजनाको मृत्यु भयो । भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँचजनाको मृत्यु भयो ।

विशिष्ट व्यक्तिको निधन

सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए ।

कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । 

मंसिरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । 

सन् २०१८ मा नेपाली कांग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करिब ६ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भयो ।

मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली कांग्रेसका अर्का नेता पूर्वमन्त्री खुमबहादुर खड्काको गत चैतमा निधन भयो । 

कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । 

यही वर्ष असारमा एशियाकै अब्बल न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको न्युरो अस्पताल बाँसबारीमा निधन भएको हो । 

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । 

व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । 

साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । 

वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो भने लोकगायक बुद्धिकृष्ण लामिछानेको पौष १३ गते निधन भयो । 

खेलकूदमा ऐतिहासिक सफलता :
नेपाली खेलकुद क्षेत्रले ऐतिहासिक सफलता प्राप्त गर्नुका साथै अविस्मरणीय क्षण पनि बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक पनि जित्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च बनाउन यस वर्ष पनि क्रिकेट, फुटबल, शारीरिक सुगठन, प्याराग्लाइडिङ लगायतका केही खेलहरुमात्र अगाडि रहे । चार वर्षसम्मको लागि नेपाल वान डे अर्थात् एकदिवसीय प्लेइङ राष्ट्र बन्यो । 

यसवर्ष थुपै राष्ट्रिय तथा मोफसलका घरेलु क्रिकेट प्रतियोगिताहरु पनि सफलतापूर्वक सम्पन्न भयो । त्यसैले यो वर्ष नेपाली क्रिकेटको लागि निक्कै फलदायी भयो । 
यता नेपाली टिमकै सदस्य युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिग खेल्नमा व्यस्त छन् । १८ वर्षे युवा लेग स्पिनर सन्दिपले सन् २०१८ मा क्रिके खेलेरै करोडपति समेत बने ।

यस्तै शारीरिक सुगठन खेलमा महेश्वरले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै सबैलाई चकित पारे । 
महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । 

यसैवर्ष नेपालले अर्को ऐतिहासिक सफलता पनि हात पा¥यो । साहसिक र मनोरञ्जनको रुपमा लिइएको प्याराग्लाइडिङले एशियाली खेलकुदमा रजत पदक जित्यो । 

अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार
सन् २०१८ नेपालले विश्वसँग सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिबृद्धि गर्नमा उल्लेख्य रह्यो । अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्दै पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई उच्च महत्वका साथ कार्यान्वयन र प्रभावकारी कूटनीति सञ्चालनमा प्रेरक वर्ष रह्यो ।

खासगरी उदीयमान शक्तिराष्ट्र चीन र लोभलाग्दो आर्थिक बृद्धिदर हासिल गरिरहेको अर्को छिमेकी देश भारतसँगको सम्बन्धलाई परस्पर सम्मान र विश्वासका आधारमा आपसी लाभ प्रबद्र्धन गर्नमा नेपाल सरकारको ध्यान केन्द्रित रह्यो । दुवै देशसँगको सम्बन्धलाई अझ प्रगाढ र पारस्परिक हितमा क्रियाशील बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको औपचारिक भ्रमणले चीन र भारतसँगको सम्बन्धले नयाँ गति र आयाम प्राप्त ग¥यो । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनले सन् २०१८ मा पनि निरन्तरता पायो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले कतार र पोल्याण्डको भ्रमण गरेर ती मुलुकबाट देश विकासमा सहयोग र सद्भाव मात्र आर्जन भएन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन पोल्याण्डकै क्यातोविचमा एकत्रित भएका विश्व नेताहरूसँग समसामयिक विषयमा विचारविमर्श गरेर ती देशसँगको नेपालको सम्बन्ध नवीकरणमा योगदान गर्ने काम भयो । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि एक महिनाकै अन्तरालमा नेपालको भ्रमण भयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा पनि भएको प्रधानमन्त्री मोदीको भ्रमण आपसी सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी रह्यो । बिम्स्टेकको शिखर सम्मेलनको सफलताले नेपालको सम्मेलन कूटनीतिमा नयाँ आयाम थप्यो र क्षेत्रीयस्तरमा नेपालले राष्ट्राध्यक्ष–सरकार प्रमुख सम्मिलित बृहत्स्तरका सभासम्मेलन सहजै सम्पन्न गर्न सक्ने सन्देश विश्व मञ्चमा प्रवाह भयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिने सिलसिलामा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई भेटेर नेपालको विकासका प्राथमिकताबारे जानकारी मात्र गराएनन् अल्पविकसित एवं भूपरिवेष्ठित देशका विकासका चाहना साकार पार्न नैतिक सहयोग, सद्भाव र समर्थन जुटाए । प्रधानमन्त्रीको कोष्टारिका भ्रमण नेपालको शान्ति प्रक्रियाबारे जानकारी गराउन र द्विपक्षीय सम्बन्ध मजबुत बनाउन सहयोगी रह्यो ।

संयुक्त राष्ट्रसंघ, अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरू, विश्व बैंक, एशियाली विकास बैंक, एशियन इन्फ्रास्ट्रक्चर बैंकलगायत अन्तर्रा्िष्ट्रय एवं क्षेत्रीय वित्तीय संघ–संगठनसँगको सम्बन्ध मजबुत रह्यो भने एशियाली को–अपरेशन डाइलग, सांघाइ को–अपरेशन अर्गनाइजेशनलगायत क्षेत्रीय संस्थाबाट पनि सहयोग प्राप्त भयो । विश्व बैंकका उच्च अधिकारीको नेपाल भ्रमण, बालीमा उक्त बैंकको सम्मेलन र त्यसमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबाट भएका वार्ताले नेपालको आर्थिक विकासमा लगानी जुटाउन सघाउ पुग्यो भने जर्मनीसँगको द्विपक्षीय वार्तामा ठूलो सहायता रकमको प्रतिबद्धता प्राप्त भयो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिका बैठक भए पनि १९ औँ शिखर सम्मेलनको अवसर भने जुटेन यो वर्ष पाकिस्तानलाई ।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महराको चीन भ्रमण तथा चिनियाँ पर्यटनमन्त्रीको नेपाल भ्रमणले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि सुमधुर रहेको नेपाल र चीनबीचको छ दशकभन्दा पुरानो सम्बन्धलाई अझ पल्लवित तुल्याउन मद्दत पु¥यायो । उपप्रधानमन्त्रीद्वयबाट भएका विदेश भ्रमणले पनि नेपालको सम्बन्ध अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन बल मिल्यो ।

देशका परिपक्व कूटनीतिज्ञ परराष्ट्रमन्त्रीको भारत, अमेरिका, जापान, थाइल्याण्ड, चीन, मङ्गोलिया, बेल्जियम, अष्ट्रिया, पोर्चुगल अजरवैजान, लग्जेम्बर्ग भ्रमणले सद्भाव र साझेदारी प्रबद्र्धनमा जोड दियो भने नेपाली श्रमिकका निम्ति जापानले रोजगारीका अवसर यही वर्ष खुला ग¥यो । दक्षिण तथा दक्षिण पूर्वी एशियाका एक दर्जन मुलुक रहेको कोलम्बो प्रसेसको मन्त्रिस्तरीय बैठक पनि राजधानीमा सफलतापूर्वक सम्पन्न भयो ।

क्षेत्रीय, बहुपक्षीय र द्विपक्षीय तहमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र परराष्ट्र सचिवबाट आफ्ना समकक्षीसँग भएका भेटवार्ताले मुलुकको कूटनीतिक परिधि विस्तारमा योगदान भयो भने पारस्परिक सम्बन्धलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय चासोका साझा बिषयमा निकट सम्पर्कमा रहेर सहकार्य गर्न तथा एकअर्कालाई नजिकबाट बुझ्न गठन भएका परराष्ट्र सचिवस्तरीय परामर्श संयन्त्रका बैठक बाक्लै भए ।

क्यानाडा, ब्राजिल, डेनमार्क, इजरायल र अष्ट्रेलियासँग पहिलोपटक परामर्श संयन्त्रको बैठक भयो भने बेल्जियम, डेनमार्क र मंगोलियासँग परामर्श संयन्त्र स्थापना गरियो । युरोपेली संघको दशौं संयुक्त आयोगको बैठकका साथसाथै र भारत, अमेरिका, बंगलादेश, स्वीट्जरल्याण्ड, म्यान्मा र रुसी महासंघसँग पनि द्विपक्षीय परामर्श बैठक भए । जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन तथा पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य बढाउन यसै वर्ष नेपाल–भारत रामायण सर्किट तथा विधायकहरूको मञ्च अष्ट्रेलिया–नेपाल संसदीय समूह गठन भयो ।
सन् २०१८ मा रुवाण्डा, सुरिनामलगायत देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर नेपालले विश्वका एक सय ६३ देशमा आफूलाई विस्तारित ग¥यो भने संयोगले यसै वर्ष नेपाल–भारत र नेपाल–अमेरिका सम्बन्ध ७० औँ वर्षमा प्रवेश ग¥यो । इजिप्ट र जर्मनीसँग दौत्य सम्बन्ध स्थापना गरेको पनि ६० वर्ष पुगेछ यसैसाल । दुई सय वर्षभन्दा पुरानो नेपाल र बेलायतबीचको सम्बन्धलाई यो वर्ष अझ घनीभूत तुल्याउने प्रयास दुवै पक्षबाट भयो । यसैक्रममा बेलायतका रक्षा राज्यमन्त्री र विदेश मामिला राज्यमन्त्रीले नेपालको भ्रमण गरेर नेपालको वास्तविक वस्तुस्थिति बुझे । परराष्ट्र सचिव शंकरदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डलले लण्डन र प्यारिस पुगेर गरेका परामर्श बैठकले भावी दिनमा नेपालको हितमा भएका कामको परिणाम देखाउने छ ।

श्रीलंका र म्यान्माका राष्ट्रपति, कम्बोडिया र पाकिस्तानका प्रधानमन्त्री क्रमशः हुन सेन र शाहिद खक्कान अब्बासी तथा म्यान्माका सरकार प्रमुख आङ सान सुची अनि सर्बियाका उपप्रधानमन्त्रीको नेपाल भ्रमणले पनि ती देशसँगको आत्मीयता बृद्धिमा सहयोग पु¥यो । भूटानकी राजमाता तथा थाइल्याण्डकी राजकुमारीबाट पनि यो वर्ष नेपालको धार्मिक भ्रमण भए ।