काठमाण्डौ आसपासका डाँडामा हिँउ 

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ पौष २३, सोमबार



काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ ।

सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ ।

त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ ।