समृद्धिका लागि युवा स्वरोजगार

विमल थापा
विमल थापा

२०७५ पौष २९, आईतबार


अर्घाखाँची स्थायी घर भएका पुष्कर केसीले काठमाण्डौमा व्यवसायिक गोलभेँडा खेती गर्न थालेको १० बर्ष बित्न लाग्यो । उनले काठमाण्डौको रामकोटमा ४० रोपनी जग्गा भाडामा लिएर गोलभेडा लगायतका तरकारीजन्य खेती गर्दै आएका छन् । त्यसो त उनको व्यवसायिक तरकारीबारीमा उनी मात्र होइन, अन्य १० जनालाई नियमित रुपमा रोजगारी पनि दिइरहेका छन् । उनी भन्छन्, ‘तरकारीको सम्भावना प्रसस्त छ, मात्र मिहिनेत र राज्यले आफूहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने सहज वातावरण तयार गर्नु जरुरी छ ।’  

अहिले पछिल्लो समयमा पुष्करको जस्तो व्यवसायिक कृषि प्रणालीलाई अँगाल्ने युवा जनशक्ति बढ्दो छ । कतिपयले विदेश पुगेर आफूले भोगेका वास्तविक पीडाबाट अबका दिनमा स्वदेशमै केही गर्ने सोचका साथ अगाडि बढेका छन् त कतिपयले युवाहरुले उद्यमशीलतामा प्राप्त गरेको सफलताबाट प्रेरित हुँदै यतातर्फ आकर्षित हुन थालेका छन् । 
 

त्यसो त जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै गोरखा स्थायी घर भएका संगीता पन्त शारीरिक रुपमा अपाङ्ग छिन् । तर उनको आफूले सिकेको हस्तकलाको सीपलाई अरु दिदीबहिनीहरुसम्म पु¥याउने अठोट गरिन् । तत्पश्चात आजभन्दा १० बर्ष अगाडि उनले १२ जना अपाङ्ग महिलाहरुलाई समेटेर आफूले सिकेको सीप सिकाउने कार्यलाई अगाडि बढाइन् । तर उनको लागि खासै कसैले पनि सहयोग गर्न तत्परता देखाएन् । समाजमा अपाङ्ग व्यक्तिहरुले पनि केही गर्न सक्छन् र ? भनी हेयका दृष्टिले हेर्ने प्रचलन यद्यपि कायमै थियो । उनको लागि आवश्यक पर्ने ठाउँ समेत भाडामा दिन हिचकिचाउने समुदाय पनि धेरै भेटिए । अन्ततः उनले खाली ठाउँमा टहरा बनाएर आफ्नो लक्षित कार्यलाई अगाडि बढाउन थालिन् । यतिञ्जेल केही सहयोगी हातहरुले सद्भाव र सहयोग गरेका थिए । 

आफूले सुरुमा तालिममा सहभागी गराएका अपाङ्ग महिलाहरुलाई तालिम पश्चात विभिन्न उत्पादनमूलक गतिविधिहरुमा लगाउन थालिन् । जब ती महिलाहरुले आफूले दिएको तालिम मुताविक विभिन्न हस्तकलाका सामानहरु उत्पादन गर्न थालेँ, उनीमा अझ बढी आत्मविश्वास बढ्न थाल्यो । क्रमशः उनका उत्पादनहरु बजारमा विक्री वितरण गर्न थालिन् । जसबाट राम्रो आम्दानीको श्रोत जुट्न थाल्यो । त्यतिमात्र होइन, अहिले संगीतासँग ५५ जना अपाङ्ग महिलाहरुले विभिन्न सीपमूलक तालिम प्राप्त गरी नियमित रुपमा हस्तकलाका सामानहरु उत्पादन गरिरहेका छन् । उनले यसलाई त्यतिमा मात्र सीमित गरेकी छैनन् सयौं भन्दा बढी महिलाहरुलाई घरमै बसेर पनि गर्न सकिने विभिन्न सीपमूलक गतिविधिहरुमा समेट्न भ्याएकी छिन् । उनको यो उत्साह र लगनशीलताले अहिले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । 

यस्तै नुवाकोट अमारेका उत्साही युवा अमृत तिवारीले पनि बाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । कुनैबेला जागिरको खोजीमा राजधानीमा भौतारिएका तिवारीले जब आफूले जागिरमा सफलता प्राप्त गर्न सकेनन् । तब उनलाई लाग्यो कि आफ्नै गाउँ फर्किर केही व्यवसायिक कार्य गर्न पाए त जागिर नै किन खानु प¥यो ? नभन्दै उनले आफ्नै गाउँमा गएर व्यवसायिक रुपमा बाख्रा पालन गरेर राम्रो आम्दानी गरेका छन् । कुनैपनि उनको व्यवसायप्रति नकारात्मक टिप्पणी गर्ने जमात अहिले उनको प्रगति देखेर लोभिएको छ । 

युवाहरु समाज परिवर्तनका संवाहक हुन् भन्दै गर्दा नेपालमा युवाहरुले समाजका परिवर्तनको निम्ति गरेका योगदानलाई राष्ट्रले मूल्याङ्कन गर्न कत्तिको सकेको छ ? त्यतिमात्र होइन, युवाहरु स्वयंले पनि आफूमा भएको क्षमताको कति हदसम्म पहिचान गर्न सकेको छ ? र सोही बमोजिम आफूलाई सामाजिक रुपान्तरणको क्षेत्रमा कत्तिको समाहित गर्न सकेको छ भन्ने बिषय जहिलेपनि टड्कारो रुपमा उब्जिने गरेको छ हाम्रो समाजमा । 
नेपालको वर्तमान व्यवस्था अनुसार १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेको जनशक्तिलाई युवाको परिभाषाभित्र राखेको पाइन्छ । यद्यपि, कुनैपनि सिर्जनशील जनशक्तिलाई उमेरको हद कायम गरेर कुनै एउटा निश्चित क्षेत्रमा संकूचित गर्न मिल्दैन भनेर तर्क गर्नेहरु पनि प्रसस्त भेटिन्छन् । यसरी उमेर हदबन्दी कायम गर्दा कतिपय अवस्थामा उसको क्षमतालाई नजरअन्दाज गरिएको ठान्नेहरु पनि नभएका होइनन् । 
अहिलेको परिवेशमा नेपालबाट दैनिक १७०० को हाराहारीमा युवा जनशक्ति रोजगारीको खोजीमा परदेश जाने गरेको अवस्था छ । यसरी विदेशिने युवाहरु जनशक्ति कतिपय आफ्नो दक्षता अनुसार कामको खोजीमा विदेशिएका छन् त अधिकांश अदक्ष कामदारका रुपमा पनि विदेश गएका छन् । उनीहरु अत्यन्तै निकृष्ट र शारीरिक रुपमा जोखिमयुक्त काम गर्न बाध्य हुने गरेका छन् । जसको प्रत्यक्ष उदाहरण नियमित जस्तै काठको बाकसमा नेपाल फर्किएका तिनै युवाजनशक्तिको भौतिक शरीरको तथ्याङ्कले पुष्टी गर्दै आएको छ । 

एकातिर युवाजनशक्ति कामको खोजीमा भौतारिँदै गरेको अवस्था छ भने अर्काेतर्फ नेपालमै पनि युवाजनशक्तिका निम्ति प्रसस्त सम्भावनाको ढोका खुल्दै गरेको अवस्था छ । युवाका साथसाथ आवाज नेपालले आयोजना गरेको युवा सम्मेलनमा यस क्षेत्रमा विज्ञ विशेषज्ञहरुले यस्तो बताएका हुन् । 

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख नारायणकृष्ण श्रेष्ठले यदि युवाहरुमा स्वदेशमै केही गरौं भन्ने सोच छ र उनीहरुमा सिर्जनशीलता विद्यमान छ भने राज्यले उनीहरुको सिर्जनशीलतालाई कदर गर्दै उद्यमशीलतालाई विकास गर्न विशेष प्रोत्साह गर्ने बताए । उनले भने, ‘कुनैपनि उत्पादनमूलक गतिविधि मार्फत स्वदेशै काम गर्न चाहने युवा जनशक्तिलाई राज्यले विशेष सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।’
त्यसो त सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले युवा लक्षित कार्यक्रमलाई चालू आर्थिक बर्षमा २५ लाख विनियोजन गरेको बताए । उनले भने, ‘युवा जनशक्ति समाज विकासका निम्ति अत्यन्तै उर्वर जनशक्ति हो । त्यसले हामीले पनि युवा जनशक्तिलाई परिचालन गरी नगरपालिकाभित्र रोजगारी सिर्जना गर्नको विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएका छौं ।’ 

त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद गौतमले मुलुकको समृद्धि युवाहरुको हातमा भएको बताए । उनले युवा जनशक्तिलाई सिर्जनशील गतिविधिमा लाग्न प्रेरित गर्ने उद्देश्यले नै सरकारले युवा लक्षित स्वरोजगार कोषको व्यवस्था गरेको बताए । 

अहिले नीतिगत रुपमा युवाहरुका लागि लक्षित कार्यक्रमहरु नभएका होइनन् । तर त्यसको व्यवहारिक कार्यान्वयन गर्ने पक्षमा केही कमिकमजोरी अवश्यपनि देखा परिरहेका छन् । खासगरी युवा लक्षित कार्यक्रमबाट लाभान्वित हुनुपर्ने जनशक्तिले कतिपयले त सरकारले अगाडि सारेको कार्यक्रमहरुका बारेमा जानकारी नै नपाएको बताए भने कतिपयले यसका प्रक्रियागत झण्झटका बारेमा समेत टिप्पणी गरेका छन् । 

स्वभाविक रुपमा मुलुकको समृद्धि कुनै एउटा निकाय वा संस्थाको मात्र होइन । समृद्धिको निम्ति सबै तह र तप्काको भूमिका उल्लेखनीय हुने गर्दछ । अझ उर्जाशील जनशक्तिका रुपमा रहेको युवा जनशक्तिलाई सही ढंगले परिचालन गर्न सकेमा मुलुकभित्रै थुप्रै सम्भावनाको ढोका खोल्न सकिन्छ र सिर्जनशील युवाहरुलाई स्वदेशमै अवसरको निम्ति प्रेरित गर्नु जरुरी छ । यदि सिर्जनशील युवाहरुलाई सकारात्मक सोच र चिन्तनका साथ मुलुकभित्रै क्रियाशील बनाउने हो भने हामीले देखेको समृद्धि त्यति टाढा छैन । 

 व्यवसाय सञ्चालन गर्नको निम्ति कसरी ऋण लिने ? 
नेपाल सरकारले साना व्यापार र व्यवसाय गर्ने युवालाई ऋण दिने व्यव्यस्था गरेको छ । यदि विदेशबाट फर्केर नेपालमा व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाईंले पनि यो ऋण लिन सक्नुहुन्छ । 

ऋण कस्तो व्यावसायलाई दिइन्छ ?
व्यावसायिक खेती तथा पशुपन्छीपालन
कृषि तथा वन्य उद्योग
घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय
सहरबजार क्षेत्रमा रिक्सा, ठेलागाडा जस्ता आफुलाई रोजगार दिने र ग्राहकलाई सेवा दिने व्यावसाय
परम्परागत सिप प्रयोग हुने व्यवसाय
पर्यटन, होमस्टे सम्बन्धी व्यवसाय
स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने व्यवसाय

ऋण कस्तो मान्छेलाई दिइन्छ ?
१८ देखि ५० वर्ष सम्म उमेरको
सबै शिक्षित, अर्ध्शिक्षित वा अशिक्षित
कुनै पनि पेसा, व्यवसायमा नलागेको र आयआर्जन नगर्ने बेरोजगार व्यक्तिहरू
द्वन्द्वपीडित व्यक्ति, अपाङ्ग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने व्यवसायलाई विशेष प्राथमिकता दिइन्छ

कति ऋण दिइन्छ ?
एक जनालाई बढीमा २ लाख रुपैयाँसम्म ऋण दिइन्छ

धितो के राख्नु पर्छ ?
ऋण लिएर लगानी गरिएको व्यवसायलाई नै ऋण चुक्ता नगरुन्जेलसम्मको लागि धितो मानिन्छ

ऋणमा कति ब्याज लाग्छ ?
यस कोषले ऋण दिने संस्थाहरूलाई ६ देखि ७ प्रतिशत वार्षिक ब्याजदरमा ऋण दिन्छ र ती संस्थाहरूले वार्षिक १२ प्रतिशत ब्याजदरमा स्वरोजगार ऋण लिन चाहने युवाहरूलाई ऋण दिन्छ
समयमै किस्ता चुक्ता ग¥यो भने त्यसमा लागेको ब्याजको साठी प्रतिशत रकम फिर्ता हुन्छ

बिमा गर्नु पर्छ कि पर्दैन ?
ऋण लिने मान्छे र व्यवसाय दुबैको बिमा गर्नुपर्छ

कहाँ सम्पर्क गर्ने ?
यस कोषसँग कर्जा सम्झौता गरेको बैंक, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ

के–के कागज–पत्र चाहिन्छ ?
अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र (सरकारी निकाय, अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था जुनसुकै निकायबाट लिइएको तालिमको प्रमाणपत्र)
नागरिकताको प्रमाणपत्र
आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजनाको विवरण
आफू र परिवारको सम्पत्ति विवरण

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना
नेपाल सरकारबाट वि.स. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो । कोषमार्फत बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैङ्क र वित्तीय सस्थाहरूमार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गरिनेछ । निःशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाहरूको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्नेछ ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिनेछ । त्यस्तो कर्जाबापत् प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम रुपैयाँ दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम रुपैयाँ ५० लाख प्रदान गरिनेछ ।