तत्कालिन युद्धमा अंग्रेज फौजलाई सिमभन्ज्याङ्ग तर्फ मोडिन वाध्य पारिएको इतिहास रहेको चिसापानी गढी

रत्न सायमी
रत्न सायमी

२०७५ माघ १४, सोमबार


मकवानपुर जिल्ला, चिसापानी गाउँपालिका वडा नं. ६ स्थीत चिसापानी गढी नेपालको इतिहासमा उल्लेखित महत्वपूर्ण किल्लाहरु मध्य एक हो । यो सैनिक तथा प्रशासनिक दृटिकोणले एउटा महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । मकवानपुर जिल्लाको करिव वीच भागमा यो गढी अवस्थीत छ । 
    हेटौडाबाट भैंसे, भीमफेदी, कुलेखानी हुदै काठमाण्डौं जाने मार्गको नजिक यो गढी रहेको छ । गढी सुरक्षाको लागि यसका चारैतर्फ खोल्साको निर्माण गरिएको छ । यो खोल्सा पार गर्न पूल विना सकिदैन । गढीको मूलद्वार प्रवेश गर्न यहाँ काठको पूल राखिएको छ । समय अनुसार जिर्णोद्धारको अभावमा यहाँको खोल्सा जिर्ण वन्दै गइरहेको छ । 
    चारै तर्फ पर्खालको निर्माणले गढीलाई सुरक्षा प्रदान गरेको आभाष मिल्दछ । यो पर्खाल निर्माणमा तोप हान्ने स्थानहरु पनि वनाइएका छन् । यहाँ चारै तर्फ तोपहरु राखिएका छन् । यस दृष्यले हामी कुनै रणभूमिमा छौं की भन्ने आभाष पर्दछ । पहाडै पहाडहरुको बीच भागमा यो गढी रहनु एउटा विशेषता मान्नु पर्दछ । यो परिसर भित्र साना र ठूला समेत गरी जम्मा ७ वटा तोपहरु रहेका छन् । यहाँको सवैभन्दा ठूलो तोप काली तोप हो । बटुक भैरब मन्दिरका पूजारी मान बहादुर पौडेलका अनुसार सो काली तोपले तत्कालिन समयमा रक्सौलसम्म मार हान्ने गरिएको आफुले सुनेको कुराको जानकारी गराउनु भयो । यसैगरी पर्खाल छेउमा राखिएको अन्य तोपहरुले पूर्वमा बागमती, दक्षिणमा भीमफेदी सुपिङ्ग, हेटौडा, रातमाटे, पथलैया र पश्चिम तर्पmको तोपले पोखरामा मार हान्ने गरेको जानकारी आफुले पाएको वताउनु भयो ।

चिसापानी गढीको ऐतिहासिकताका सम्वन्धमा नेपाल एकिकरण हुनु भन्दा अगाडि वि.सं. १८०१ आसपासमा मकवानपुरमा राज्य गरेर वसेका सेन राजाको सक्रियतामा स्थानीय महत गाउँका वासिन्दाहरुले यस गढीको निर्माण गरेको भन्ने स्थानीयहरुको भनाइ रहेको छ । विभिन्न कालखण्डमा चिसापानी गढी जिर्ण हुदै गएको थियो । नेपाल अंग्रेज युद्धको समयमा (ई.सं. १८१४–१६) उक्त गढीलाई पुनः निर्माण गरी वलियो वनाएको इतिहासमा पाइन्छ । तत्कालिन नेपाल अंग्रेज युद्धको समयमा व्रितिस कर्नेल निकोलको नेतृत्वमा रहेको अंग्रेज फौज सो गढीको मजवुत किल्लाको कारण अगाडि वढ्न नसकी सिमभन्ज्याङ्ग तर्पm मोडिन वाध्य पारिएको इतिहास रहेको छ । सो समयमा उक्त गढीका कमाण्डरकाजी चामु भण्डारी थिए । नेपाल एकिकरण पश्चात पनि यस गढीलाई सैनिक, प्रशासनिक, व्यावसायिक, परराष्ट्र तथा अध्यागमनको रुपमा प्रयोग गरिएको इतिहासमा उल्लेख रहेका छन् ।
    चिसापानी गढी परिसर भित्र बटुक भैरब मन्दिर रहेको छ । यी भैरब शक्ति उपासनासँग सम्वन्धित रहेको पाइन्छ । चारैतर्पm गाह्रो उठाइ जस्तापाताको छाना छाएको एउटा घरको स्वरुपमा रहेको मन्दिर नै बटुक भैरबको मन्दिर हो । गर्भगृहमा विशेष आशन माथि बटुक भैरब स्थापना गरी राखेको पाइन्छ । सो बटुक भैरबलाई ध्वजापताकाःले छोपी राखेको अवस्थामा देखिन्छ । पूजा आराधना सोही ध्वजा पताकाः वरपर गर्ने, उक्त भैरबलाई देखाउन नमिल्ने पूजारी पौडेल वताउनु हन्छ । 

सोहीगर्भगृहमा अर्को एक भैरव पनि रहेका छन् । उक्त भैरवलाई कालो भैरव भन्ने गरिन्छ । सो कालो भैरव त्यही रहेको सानो तोप भित्र स्थापना गरी राखेको छ । तोप भित्र स्थापना गरिएको कारण कसैले पनि हेर्न नसक्ने पूजारी पौडेलले जानकारी दिनु भयो । मन्दिरको अगाडि वलि पूजाको लागि मौलो स्थापना गरिएको छ । यहाँ साउन महिना वाहेक अन्य महिनाहरुमा मंगलवार मात्र वलि पूजा गरिन्छ । मंगलवार पनि एकादशी वा औंशी तिथी प¥यो भने वलि पूजा गरिदैन । साउन महिनामा भगवानलाई रोट वनाएर चढाउने परम्परा रहेको छ । बटुक भैरवको विशेष पूजा वडा दशैंको नवमीको दिन हुने गरिएको छ । 
    बटुक भैरबको ऐतिहासिकताका सम्वन्धमा ऐतिहासिक महत्व रहेको यो पुरानो मन्दिर हो । यी भैरब सेन राजाको पालामा शक्ति उपासनाका लागि शक्तिपीठको रुपमा स्थापना गरिएको विश्वास गरिन्छ । बटुक भैरबको उपासना तथा शक्ति स्वरुपमा नेपाली सेनाको बटुकदल कम्पनी खडा भएको र बटुक निशाना वि.सं. १८५२ असारदेखि २०२६ साउन १ गतेसम्म यसै स्थानमा रहेको सैनिक इतिहासमा पाइन्छ । 
  

 बटुक भैरव मन्दिर अगाडि पुरानो ऐतिहासिक घण्टाहरु रहेका छन् । त्यसमध्य एउटामा सम्वत् १९४९ र अर्कोमा सम्वत् १९८५ उल्लेख रहेका छन् । यस परिसर भित्र शिवलिङ्ग आकृति वनाइ महादेव स्थापना गरिएको छ । यसैगरी प्रतिकात्मक शिलालाई सरस्वती र गणेश मानी पूजा आराधना गरिएका छन् । गढी परिसर भित्र काली तोप राखिएको भवन तत्कालिन समयमा सैनिक निवास गर्ने स्थान रहेको वताइन्छ । यहाँ भित्रका सैनिक भवन तथा मन्दिर जिर्ण अवस्थाका रहेका छन् । सामरिक महत्वका सरकारी सम्पत्ति रहेको यस स्थानमा सुरक्षाको व्यवस्था भएको देखिदैन । 

नेपाली सेनाले यस प्राङ्गणमा ४० फिट अग्लो स्तम्भमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । सो राष्ट्रिय झण्डा फहराउने क्रममा नेपाली सेनाद्वारा शिलालेख जारी गरिएको छ । सो शिलालेखमा नेपाली सेनाले ऐतिहासिक महत्व, पुरातात्विक संरचना एवम् सम्वर्धन गर्ने लक्ष्य अनुरुप यस चिसापानी गढी प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गर्ने कार्य मिति २०७३।९।२५ मा सम्पन्न भएको उल्लेख गरिएको छ ।
  

 राष्ट्रिय महत्व रहेको गढीको सुरक्षा व्यवस्था अत्यन्त कमजोर रहेको देखिन्छ । त्यहाँ कुनै कर्मचारीको व्यवस्था रहेको जानकारी पाइएन । पूजा गर्ने समयमा पूजारीले गढीको मूलद्वार खोलिन्छ भने अन्य समयमा वन्द रहेको हुन्छ । भित्र राष्ट्रिय झण्डा फहराएको भए पनि दिनभर सो स्थान सुनसान अवस्थामाा देखिन्छ । वाह्य तथा आन्तरिक पर्यटकलाई त्यो स्थान दृष्यावलोकनका लागि अत्यन्त महत्वपूर्ण रहेपनि भित्र आवत जावतको कुनै व्यवस्था भएको देखिदैन । पूजारीको आयश्रोतको लागि पनि त्यहाँ कुनै व्यवस्था नभएको पूजारी स्वय्म वताउनु हुन्छ । उहाँको भनाइ अनुसार भक्तजनहरुले दक्षिणा वापत दिएको रकमबाट आफु र मन्दिरको व्यवहार चलाउनु परेको छ । यसमा स्थानीय निकाय एवम् सरकारी स्तरबाट कुनै व्यवस्था नभएको पूजारी जानकारी गराउनु हुन्छ । 

चिसापानी गढीको विविध पक्षको उल्लेखमा यस गढी भित्र महिलाहरुलाई प्रवेश निषेध गरिएको छ । महिलाहरुलाई प्रवेश निषेध हुनुको सम्वन्धमा बटुक भैरब भोग खाने देवता भएको र तत्कालिन समयमा महिलाहरुलाई युद्धमा सामेल नगरिने हुदा महिलाहरुलाई प्रवेश निषेध गरिएको भन्ने मान्यता रही आएको वुझिन्छ ।