व्यवस्थापनको लापरबाहीका कारण भक्तपुर अस्पतालमा ११ महिनादेखि थन्कियो डायलोसिस मेसिन

रमेश गिरी
रमेश गिरी

२०७५ माघ १६, बुधबार


भक्तपुर । भक्तपुर अस्पतालमा डायलोसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई वटा मेशिन थन्किएर बसेको छ । 

जर्मनको एक दाता संस्थाले दिएको दुई करोड मूल्य बराबरको दुईवटा डायलोसिस मेशिन चिसो भुईमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । 
अस्पताल व्यबस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का डायलोसिस मेसिन सञ्चालन गर्न अस्पतालको मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटालाई आफू अध्यक्ष हुँदा देखि नै पटक–पटक भन्दा पनि अटेर गरेर मेसिन थन्क्याएर राखेको बताउनुभयो ।

खड्काले भन्नुभयो ‘म अध्यक्ष हुँदा दाता संस्थालाई गुहारेर दुई करोड पर्ने दुई वटा डायलोसिस मेसिन ल्याए, मैले मेसिन सञ्चालनमा ल्याउन खोजेको थिएँ तर सकिन, अहिले पनि मैले पटक पटक त्यो मेशिन सञ्चालनमा ल्याउन मेसुलाई भन्दै आएको छु, तर मेसिन सञ्चालनमा आएन, अब दाता संस्थाले मेशिन नै फिर्ता लगेर अरु अस्पताललाई दिन्छु भन्दैछ ।’
दाता संस्थाले केही दिन अघि मात्रै त्यो मेसिनबाट कति जना विरामीले सेवा पाए भनेर सोधे पनि मेसिन सञ्चालनमा नआएको जानकारी पाएपछि मेसिन सञ्चालनमा नल्याए अर्को अस्पताललाई दिने जानकारी गराएको उहाँले बताउनुभयो । 

उक्त मेसिन सञ्चालनमा आए थप रु. तीन करोड बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको दाता संस्थाबाट उक्त सहयोग समेत नआउने अबस्थामा पुगेको खड्काको भनाई छ । 

अस्पतालको चिसो भुईमा मेसिन थन्क्याएर राख्दा खिया पर्न थालेका छ । अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले भने अस्पतालमा डायलोसिस मेसिन आएको आफूले हल्ला मात्रै सुनेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कसले मेसिन ल्यायो, कसरी मेसिन आयो, के मेसिन हो, कुन अवस्थामा छ, सञ्चालनमा आउँछ कि आउँदैन, यसबारे मलाई केही थाहा छैन, म प्रशासन प्रमुख भएपनि मेसिन आउँदा र आएपछि पनि मलाई जानकारी गराएको छैन, यसबारे मलाई केही थाहा छैन, मेसुलाई सोध्नु्स् ।’

अस्पतालकी मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले जनशक्ति र पूर्वाधार अभावका कारण अस्पतालले डायलोसिस मेसिन सञ्चालन गर्न नसक्ने बताउनुभयो । मेसिन अरु अस्पताललाई दिन पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले नमान्दा थन्काउनु परेको बताउदै अब नयाँ अध्यक्ष आएकाले के गर्ने भन्नेबारेमा छलफल गरिने बताउनुभयो । 

भक्तपुर अस्पतालसँगै जोडिएको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलोसिस गर्ने विरामीले मेसिन नपाउँदा ४०० विरामीले नियमित रुपमा डायलोसिस गर्न पालो कुरेर बसेका छन् । केन्द्रका केही मेसिन बिग्रिएको र विरामीको चाप अत्याधिक रुपमा बढेपछि मेसिन अभावमा विरामीले पालो कुर्नु परेको छ भने सँगैको भक्तपुर अस्पतालमा भने आएको मेसिन ११ महिनादेखि थन्किएर बसेको छ ।

एउटा मेसिनले एक दिनमा आठ जना विरामीको डायलोसिस गर्न सकिने र दुईवटा मेसिन थन्किदा दैनिक १६ जना विरामीले यो सेवाबाट बञ्चित हुन परेको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवं भक्तपुर अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले सक्षम नेतृत्व नहुँदा भक्तपुर अस्पतालको सेवा लथालिङ्ग भएको गुनासो चौतर्फी आएको बताउनुभयो । अस्पतालमा आएको मेसिन समेत थन्किनु नराम्रो भएको बताउदै उहाँले आफू अध्यक्ष हुँदा आईसियू सञ्चालन गर्न ल्याएको मेसिन वर्षौसम्म थन्काएर राखेको र चातर्फी दबाब दिएपछि बल्ल आइसियू सञ्चालन नगरी हाईकेयर युनिट सञ्चालनमा आएको बताउनुभयो । 

अस्पतालका अर्का पूर्व अध्यक्ष सुरेश न्यौपानेले भने डायलोसिस मेसिन खिया लाग्ने अबस्थामा पगेको आफूले जानकारी पाएको बताउदै अस्पतालका हालै नियुक्त अध्यक्ष र अस्पताल प्रशासनसँग उक्त मेसिनको व्यबस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । 

अस्पतालका अध्यक्ष मिलन सुवालले आफू आएपछि अस्पतालको बेथिति अन्त्य गर्न र थन्किएर रहेको डायलोसिस मेसिनलाई सञ्चालन गर्ने वा सेवा प्रदायक अर्को अस्पताललाई हस्तान्तरण गर्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो ।