बजेट अभावमा विकास रोकिँदैन: सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २०, आईतबार


भक्तपुर ।  पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले भक्तपुरमा बजेटको अभावमा कुनैपनि विकास निर्माणका कार्य नरोकिने बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित दक्षिणबाराही उद्यान सामुदायिक बन उपभोक्ता समितिको साधारण सभा उद्घाटन गर्दै सांसद बस्नेतले भक्तपुर विकासका दृष्टिकोणले मुलुककै नमूना जिल्ला बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजधानीसँग सिमाना जोडिएतापनि हिजो विकासका मामिलामा ओझेलमा परेको भक्तपुर अबको पाँच बर्षमा मुलुककै नमूना जिल्ला हुनेछ ।’

बस्नेतले मुलुकको संघीय संरचनाअनुसार अहिले तीनवटै तहका लागि भक्तपुरको विकास प्राथमिकतामा पार्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहले विनियोजन गरेका बजेट प्राथमिकताका साथ जिल्लामा पर्न थालेका छन् । यसबाट बढी भन्दा बढी लाभ जिल्लाबासीले लिनु जरुरी छ ।’

अहिले जिल्लाको विकास निर्माण कार्य संघ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा पार्न आफूहरु क्रियाशील रहेको बताउँदै सांसद बस्नेतले यो प्रदेशमा संघ र प्रदेशबाट सबैभन्दा बढी बजेट ल्याउन सफल भएको बताउनुभयो । 

संघीय सांसदका हैसियतले जिल्लामा संघीय बजेट सबैभन्दा बढी ल्याउने प्रयत्नमा आफू क्रियाशील भएको बस्नेतले बताउनुभयो । आफ्नो पहल र प्रयासमा नै अहिले जिल्लामा यसैहप्ता मात्र ४० करोडको विकास बजेट ल्याउन सक्षम भएको उहाँले बताउनुभयो । 

विकासमा हरेक क्षेत्रको साझेदारी आवश्यक भएको बताउँदै सांसद बस्नेतले भक्तपुरमा विकासका कार्य तीब्र गतिमा अगाडि बढ्नुमा स्थानीय जनताको सहयोग र सक्रियताले पनि प्रमुख भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिलान्यास भएको डेड महिनामा हनुमन्ते करिडोरमा ३ किलोमिटर पर्खाल निर्माण सम्पन्न हुनु आफैमा उल्लेखनीय प्रगति मान्न सकिन्छ ।’ 

बस्नेतले तीब्र गतिमा विकास हुनको लागि सरकारको बजेट मात्र मुख्य कुरा नभएको बताउँदै छिटो विकासका कार्य अगाडि बढ्नुमा स्थानीय नागरिकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
उहाँले भन्नुभयो,‘विकासको महत्व बुझेका स्थानीय व्यक्तिहरु भएका कारण हनुमन्ते करिडोरमा तीब्र गतिमा काम भइरहेको छ ।’

हनुमन्तेमा थप चारवटा ठूला पूलहरु निर्माण गरेको प्रसङ्ग जोड्दै सांसद बस्नेतले यो क्षेत्रमा साना ११ वटा पुल निर्माण हुँदै गरेको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको साँगाको कैलाशपति महादेवमा उपत्यकाकै सबैभन्दा राम्रो झोलुङ्गेपुल निर्माण प्रक्रिया अगाडि बढेको समेत बताउनुभयो । 

भक्तपुरलाई समृद्ध बनाउने अभियान अन्तर्गत आफूहरु क्रियाशील भएको बताउँदै सांसद बस्नेतले राज्यको शून्य लगानीमा भक्तपुरको सरसफाइ अभियान अगाडि बढाइएको बताउनुभयो । 

भक्तपुरमा कुनै पनि बेला आइपर्ने प्राकृतिक विपत व्यवस्थापन गर्ने निजी क्षेत्रका व्यवसायीहरुको सहकार्यमा २० लाख बराबरको उद्धार सामग्री तयारी अवस्थामा राखिएको समेत बताउनुभयो । 

निर्माण हुन लागेको दक्षिणबाराही उद्यान सूर्यविनायक र मध्यपुरका निम्ति मितेरी पार्कका रुपमा विकसित हुने बताउँदै यसको निर्माणमा सबैको सहयोग जरुरी भएको सांसद बस्नेतले बताउनुभयो ।