विकासका निम्ति स्थानीय साधन र श्रोतको प्रयोग जरुरी छ : सांसद थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २०, आईतबार


भक्तपुर । प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले राज्यका मात्र भर  नपरी स्थानीय साधन र श्रोतको व्यापक प्रयोगले नै विकासको प्रतिफल प्राप्त गर्न सकिने बताउनुभएको छ ।  

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित दक्षिणबाराही उद्यान सामुदायिक बन उपभोक्ता समितिको साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै सांसद थापाले स्थानीय जनताको जागरुकता र सक्रियतामा लक्ष्य भन्दा बढी विकास सम्पन्न गर्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘स्थानीय सहभागितामा ५० लाखको बजेटमा ७५ लाखको काम गर्न सकिन्छ ।’ 

थापाले सबैका विकासका कार्यमा सरकारको मात्र मुख ताक्न नहुने बताउँदै कुनैपनि समाजको विकास गर्ने दायित्व समुदायकै पनि भएको बताउनुभयो । 

विगतमा धेरै चरणमा उद्घाटन भएको दक्षिणबाराही उद्यान निर्माण गर्ने दायित्व आफूहरुको काँधमा आएको बताउँदै सांसद थापाले देवत्वको भूमिका रुपमा रहेको दक्षिणबाराही क्षेत्रमा पार्क निर्माण गर्ने उद्देश्यले अगाडि बढेको बताउनुभयो ।  

झण्डै ४ करोडको लागतमा निर्माण सम्पन्न हुने उद्यानमा हाल ३ नम्बर प्रदेशका तर्फबाट ५० लाखको बजेट विनियोजन भएको उहाँले बताउनुभयो । 

जुनसुकै विकास निर्माण कार्यमा स्थानीय तहमा रहेका विभिन्न संघसंस्था तथा निकायलाई क्रियाशील बनाउनुपर्ने धारणा राख्दै सांसद थापाले उद्यानलाई प्राकृतिक र धार्मिक रुपले समेत अनुकरणीय बनाउने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । 

आफ्नो पौरख मिहिनेतका बलमा समेत धेरै सकारात्मक कार्य गर्न सकिने बताउँदै सांसद थापाले भन्नुभयो, ‘अब निर्माण गरिने पार्क भावी पुस्ताले समेत स्मरण गर्ने खालको हुनु जरुरी छ ।’