सूर्यविनायक वडा नम्बर ७ मा घुम्ति शिविर हुँदै 

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २०, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा जिल्लाका सरकारी कार्यालयद्वारा प्रदान गरिने सबै सेवाहरु प्रदान गर्न घुम्ति शिविर आयोजना हुने भएको छ  । 

माघ २५ गते वडा कार्यालय गुण्डुमा आयोजना हुने उक्त घुम्ति शिविरमा बृहत स्वास्थ्य सेवा, नागरिकता, राहदानी, नावालक परिचयपत्र तथा आदिवासी जनजाति सिफारिस लगायतका सेवा लिन सकिनेछ । 

यस्तैगरी घुम्ति शिविरमा फोटो सहितको नामावली संकलन, घरेलु उद्योग दर्ता, भूकम्प पीडितहरुको गुनासो व्यवस्थापन, भूमिसुधार तथा मालपोत, नापी, सडक र सिचाइ कार्यालयद्वारा परामर्श सेवाका साथै नेपाल टेलिकमद्वारा सिमकार्ड बिक्री गर्ने कार्य समेत रहेको वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । 

सो घुम्ति सेवामा नगरपालिकाले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण, घर नक्सा पास, भवन अभिलेखीकरण, व्यवसाय दर्ता, कृषि बिउ विजन वितरण तथा प्राविधिक सल्लाह, गोबर परीक्षण र नाम्ले रोगको औषधी वितरण तथा जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण गरिनेछ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका अन्य सरकारी कार्यालय, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ तथा नेपाली सेनाको बीरदल गणको संयुक्त आयोजनामा हुने उक्त घुम्ति शिविर विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म आयोजना हुने बताइएको छ । सोही दिन ३ बजेपछि विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । 

सो घुम्ति शिविर सम्पन्न गर्न बीरदल गणका प्रमुख शिव पौड्याल, सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, सूर्यविनायक नगरपालिकाकी उपसचिव सविता दंगाल तथा भक्तपुर अस्पतालकी प्रमुख सुधार शर्मा रहेको मूल व्यवस्थाप समिति गठन गरिएको छ । 

यसैगरी सरिता कुँवरको संयोजकत्वमा रविन्द्र सापकोटा र सूर्यबहादुर माकजु सदस्य रहेको अतिथि सत्कार उपसमिति, अर्जुन खतिवडा संयोजकत्वमा सहयोग उपसमिति, कृष्णजित माकजुको संयोकत्वमा प्रचार प्रसार उपसमिति, रामकुमार बस्नेतको संयोजकत्वमा स्वयंसेवक उपसमिति, नन्दकुमार नगरकोटीको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन  गरिएको छ । 

घर–घरमा सरकार आफै पुगेर नागरिकलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने हेतुले यस्तो घुम्ति शिविर आयोजना गर्न लागिएको वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले अनन्त सन्देशलाई जानकारी दिनुभयो ।