अबको ४ महिनामा मनोहरा करिडोर निर्माण सम्पन्न हुन्छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २१, सोमबार


भक्तपुर । पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य महेश बस्नेतले आगामी चार महिनामा मनोहराको करिडोर निर्माण सम्पन्न हुने बताउनुभएको छ । 

मध्येपुर नगरपालिका वडा नम्बर १ स्थित आधारभूत निम्न माध्यमिक विद्यालयको १३ औं बार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन गर्दै सांसद बस्नेतले मनोहरा करिडोर निर्माणसँगै जडिवुटी–कोटेश्वरको जामलाई स्थायी रुपमा समाधान हुने बताउनुभयो । 

जिल्लामा विकासका गतिविधिहरु तीब्र गतिमा अगाडि बढेको बताउँदै सांसद बस्नेतले भन्नुभयो,‘कुनै पनि विकास निर्माणका कार्यमा निरास र कुण्ठित पर्दैन, विकासमा सबैको ऐक्यबद्धता र सहकार्य आवश्यक छ ।’ 

सांसद बस्नेतल भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत भक्तपुरमा ४० प्रतिशत भन्दा बढी भवन निर्माण  सम्पन्न भएको बताउँदै कुनै पनि सार्वजनिक भवन निर्माण गर्न कसैले अवरोध सिर्जना गर्न नहुने बताउनुभयो । 

उहाँले सुकुम्वासी वस्ती उठे उक्त ठाउँमा नयाँ सहर तथा बस्तीको विकास हुने भन्दै यस्ता बस्तीका भवन खेर जान्छ भनेर चिन्ता लिनु नपर्ने बताउनुभयो । बस्नेतले वडा र नगरपालिकाले उक्त भवनलाई स्वीकृत दिन कन्जुस्यायी गर्नु नहुने बताउनुभयो ।

उक्त विद्यालय जिल्ला आयोजना समन्वय समितिको ३० लाख ३१ हजार तथा अन्य बाँकी स्थानीय व्यक्तिहरुको सहयोगमा रु ७५ लाखको लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको थियो ।