सेज ऐनले निजी क्षेत्रलाई प्रोत्साहित गर्छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २३, बुधबार


काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले सरकारले ल्याएको विशेष आर्थिक क्षेत्र (सेज)ले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभएको छ । 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीले संघीय संसदमा दर्ता गरेको विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) ऐन, २०७५ माथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले भन्नुभयो, ‘सेज ऐनले उद्योगी व्यवसायीहरुलाई लगानी मैत्री वातावरण बनाउने कामका साथै थुप्रै इन्सेन्टिभ्सको व्यवस्था गरेको छ ।’ 

सरकारले ल्याएको सेज ऐन अत्यन्त सकारात्मक भएको बताउँदै सांसद बस्नेतले २०७२ सालमा भैरहवा सेजको उद्घाटन गरिएको बताउनुभयो । उहाँले २०७३ सालमा यो ऐन ल्याएपश्चात अहिले सिमरा, पाँचखाल तथा देशका अन्य १४ ठाउँमा विशेष औद्योगिक क्षेत्र बनाउँदै गरेको बताउनुभयो । 

२०७२ सालदेखि यी क्षेत्रहरुमा उद्योगी व्यवसायीहरु नगइरहेको अवस्थामा यो ऐन ल्याइनु सकारात्मक पक्ष भएको बताउँदै सांसद बस्नेतले यो ऐनको मुख्य उद्देश्य भनेको निर्यातलाई प्रबद्र्धन र आयातलाई प्रतिस्थापन गर्नु भएको बताउनुभयो । 

ऐनको मुख्य उद्देश्य भनेको आयातलाई प्रतिस्थापन गर्नुभएको बताउँदै विद्यमान ऐनमा ६० प्रतिशतलाई निर्यात गर्नुपर्ने व्यवस्थालाई घटाएर ४० प्रतिशतबाट सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । 
ऐनले विदेशी लगानी र जनशक्तिलाई पनि आकर्षित गर्न विशेष पहल गर्नुपर्ने बताउँदै स्वदेशी निजी क्षेत्रलाई पनि आकर्षित गर्ने खालको हुनुपर्ने सांसद बस्नेतले बताउनुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पुस ३० गते संघीय संसदमा यो ऐन दर्ता गर्नुभएको थियो । निर्यात प्रबद्र्धनका लागि देशका विभिन्न स्थानमा औद्योगिक उत्पादन गर्ने उद्देश्यका साथ विशेष आर्थिक क्षेत्र (सेज)को स्थापना गर्ने गरी सरकारले २ वर्षअघि यो ऐन ल्याएको थियो ।