काँग्रेसका सांसद रिजालले भने,‘काठमाण्डौमा विक्री हुने जेरी र लड्डु कहिलेदेखि हरियो हुने हो ?’

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २४, विहिबार


काठमाण्डौ । नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजाल बजारमा उपलब्ध हुने पहेँलो मिठाइ पनि हरियो बन्ने दिन कहिले आउछ भनी प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित बिषयको छलफल कार्यक्रममा प्रश्न गर्दै रिजालले भने,‘काठमाण्डौमा विक्री हुने जेरी र लड्डु कहिलेदेखि हरियो हुने हो ? मन्त्रीज्यू जानकारी पाउँ ।’  

सांसद रिजालले प्रश्न राख्दा संघीय संसद हाँसोले गुन्जिएको थियो । बौद्धिक नेताका रुपमा समेत चिनिने डा.रिजालले कृषि मन्त्रालयसँग सम्बन्धित बिषयमा सदनमा छलफल चलिरहँदा बिना प्रसङ्ग जेरी र लड्डुको बिषय उठाएका थिए । उनको यो प्रश्नले एकातिर संसदका विशेष बैठकलाई हल्का र हासो मजाका रुपमा प्रस्तुत गर्न प्रतिपक्ष सांसदहरु क्रियाशील भएको स्पष्ट देखिन्छ भने अर्काेतर्फ स्वयं रिजालको बौद्धिकतमाथि पनि प्रश्न चिन्ह खडा भएको बताइन्छ । 

उनको यो प्रश्नमा कृषि मन्त्री चक्रपाणी खनालले कुनै पनि कृषि उपजमा रातो र पहेँलो स्टीकर प्रयोग गर्न कानुनले बन्देज लगाएको बताए । उनले भने, ‘अहिले कृषि उपजमा प्रयोगमा आइरहेका विषादी मानव स्वास्थ्यका लागि हानिकारक छन् ।’