नेतृत्व र प्रतिनिधिमा भिन्नता !

विमल थापा
विमल थापा

२०७५ माघ २७, आईतबार


जनताद्वारा जनताका लागि एउटा निश्चित समयका निम्ति चयन हुने प्रतिनिधि नै जनप्रतिनिधि हो । लोकतान्त्रिक मूल्य र मान्यतामा निर्वाचनका माध्यमबाट जनप्रतिनिधिहरु चयन हुने प्रक्रियालाई अबलम्बन गरिन्छ र, सोही मुताविक जनप्रतिनिधिले जनताको सार्वभौमसत्तालाई प्रयोग गर्ने गर्दछ । तर यसको अर्थ जनप्रतिनिधिले प्रयोग गर्ने अधिकार नै सार्वभौम हो भनी बुझ्नु र बुझाउन खोज्नुलाई यसको मूल्य र मान्यता विपरीत कार्यका रुपमा स्वीकार्नु गलत मानिँदैन । 

संसारका जतिपनि लोकतान्त्रिक व्यवस्थालाई अंगीकार गरेका मुलुकहरु छन्, त्यहाँ आवधिक निर्वाचन सम्पन्न हुन्छ र सोही निर्वाचनका माध्यमबाट एउटा निश्चित समयका लागि प्रतिनिधि चयन गरिन्छ । तर यी र यस्ता निर्वाचन प्रक्रियाबाट निर्वाचित प्रतिनिधि पूर्ण रुपमा योग्य र सक्षम हुन्छन् भन्ने हुँदैन । कतिपय यस्ता प्रतिनिधिहरु केवल राजनीतिक पार्टी वा विभिन्न संगठनको प्रतिनिधिका रुपमा चयन हुने गरेका छन् । जब उनीहरु जनताका भन्दा कुनै पार्टी वा संगठनको प्रतिनिधि बढी भएर निर्वाचित हुन्छन्, तब उनीहरुद्वारा सम्पन्न हुने कार्यसम्पादन केवल राजनीतिक दल वा संगठनको मूल उद्देश्य भन्दा बाहिर जान सक्दैन, भलै उनीहरुले गर्ने गतिविधिहरुले जनतालाई प्रत्यक्ष प्रभाव पारोस् वा नपारोस् ।  

हाम्रोमा सदैव सुन्ने गरिएको एउटा साझा सवाल वा जिज्ञासा आम नागरिकहरुले व्यक्त गर्दै आएका छन् । ‘जनता भनेका त केवल नेताहरुलाई भोट हाल्ने बेलाका लागि मात्र हुन् । जब भोट हालेर नेताहरु निर्वाचित हुन्छन्, तब उनीहरुको भूमिका र व्यवहारमा ठूलो परिवर्तन हुने गर्दछ ।’ उनीहरुलाई यसो पनि भन्ने गर्दछन् कि, निर्वाचनपूर्व जनताका बीचमा मत माग्ने बेलामा जति नै सरल र सहज अनि सालिन ढंगले प्रस्तुत हुन्छन्, निर्वाचित भएपश्चात त्यसको ठीक विपरीत फरक स्वरुपमा र व्यवहारमा आफूलाई प्रस्तुत गर्न पुग्दछन् । यो खालको विचलन र परिवर्तन किन र कसका लागि त ? के आम नागरिक भनेका नेताहरुलाई वैधानिक रुपमा निर्वाचित गर्ने एउटा निरीह बस्तु मात्रै हुन् त ? सिद्धान्ततः नेता त्यो हो, जसले आफ्नो भूमिकालाई परिवर्तन गर्न सक्दछ, व्यवहार र आचरणलाई परिवर्तन गर्न सक्दैन । तर हाम्रोमा जनताबाट निर्वाचित प्रतिनिधि नै आफूलाई नेता ठान्न पुग्दछ । यदि उसले आफूलाई नेता ठान्ने हो भने आफूमा नेतृत्व क्षमताको विकास गर्नुपनि उत्तिकै जरुरी छ । हैन भने जनप्रतिनिधि बन्नु र नेता बन्नु बीचको भिन्नतालाई खुट्याउन नसक्ने व्यक्तिले कहिलेपनि समाजमा नेतृत्वदायी भूमिकालाई निर्वाह गर्न सक्दैन । 

नेता हुन केही आधारभूत विशेषता आवश्यकता पर्दछ । जस्तै, निरन्तर सिक्ने इच्छा र क्षमता उसमा हुनु जरुरी छ । सिकाइका स्रोतहरु व्यक्ति, समाज, घटना, पुस्तक, सूचना प्रविधि आदि हुन सक्दछन् । समाज परिवर्तनशील छ, प्रविधिको विकासले यसलाई सहयोग गरेको छ । तर, मेरो जीवनकालमा राजनीतिक आन्दोलनमा भूमिका खेलेको छु भन्दैमा उ भित्रको नेतृत्व क्षमता विकास भएको मान्न सकिँदैन । समयले उसलाई धेरै पछाडि धकेलिसकेको हुनेछ । नेतामा विश्लेषण क्षमता प्रचुर हुनुपर्दछ, न कि उ भावनात्मक रुपमा कसैको बहकाउमा अगाडि बढोस् । 

आफूसँग भएको स्रोतसाधन, सम्भावनाको सही पहिचान गर्न सक्ने, अरुको कुरा सुनेर, सुझाव लिएर, त्यसलाई उपयुक्त निकास दिन सक्ने हुनुपर्छ अर्थात् नेता आफ्नै क्षमतामा निर्णय गर्न सक्ने हुनुपर्छ । ठीक निर्णय भए पनि पक्ष र विपक्ष हुनु स्वाभाविक हो त्यसैले सही निर्णय गर्ने र निर्णयको स्वामित्व लिनसक्ने क्षमता नेतामा हुनु जरुरी छ । निर्णय गरिसकेपछि त्यसमा उभिने, अरुलाई बुझाउँदै जाने, निर्णयलाई कार्यान्वयनमा लाने, आवधिक समीक्षा गर्ने र चाहेको जस्तो नतिजा नआउँदासम्म निरन्तर लागि रहने क्षमता नेतामा हुनु अति आवश्यक छ । 

सामाजिक र व्यक्तिगत स्वार्थका कारण होस् वा दर्शन एवं फरक सोच, फरक दृष्टिका कारण मत भिन्नता स्वाभाविक हुने गर्दछ । यस्तो अवस्थामा फरक विचारको सम्मान गर्न र दवाव थेग्न सक्नुपर्छ । कमजोर नेतृत्वले फरक विचार एवं सुझावलाई शत्रुतापूर्ण रुपमा हेर्ने गर्दछ भने कहिलेकाहिँ गलत कुरामा पनि दबाब थेग्न नसकेर सम्झौता गरेर समाजलाई नोक्सान पु¥याउने काम गर्दछ । 

एउटा सपना पूरा गरेर नेताले थकाई मार्न पाउँदैन । उ त सपनाको स्रोत हो त्यसैले एकपछि अर्काे सपना देखिरहनुपर्छ, र सपना पूरा गर्न निरन्तर लाग्नुपर्छ । त्यसैले जननेता मदन भण्डारीले भनेका थिए ‘राजनीतिमा थकाइ भन्ने कुनै शब्दावली नै हुँदैन ।’ सपना पनि काल्पनिकता भन्दा यथार्थतामा बढी केन्द्रित हुनु जरुरी छ । यदि आफूले देखेको र बाँडेको सपना पूरा हुन सकेन भने त्यसले नेताप्रतिको विश्वास गुम्न जान्छ र नेतृत्व विलय हुन पुग्दछ । नेताको अर्काे खुबी भनेको नेताका कुरा, काम, योजना जतिसुकै राम्रा भएपनि एक्लैले त्यो पूरा गर्न सकिँदैन । त्यसैले समूहलाई साथमा लिएर हिँड्ने क्षमता हुनुपर्छ । फेरि पनि यस्तो होइन कि हरेक काम कुरामा सबैको सहमति होस् । 

अहिलेको आम चिन्ताको बिषय भनेको समाजमा नेतृत्वको विकास गर्न नसक्नु नै हो । हामीले बारम्बार बुझ्ने गरेको नेतृत्व केवल जनप्रतिनिधि मात्र हुन् । जनप्रतिनिधि केवल एउटा निश्चित समयसम्मका लागि चयन हुन्छ अनि आफ्नो क्षमता र बलबुताले भ्याएको र ब्रम्हले देखेको कार्यलाई बुझेर वा नबुझेर उ मार्फत सम्पन्न हुने गर्दछ । यो बीचमा उ पनि यतिबिध्न अनिश्चित देखिन्छ कि, आफ्नो कार्यकाल पश्चात फेरि पनि सोही भूमिकामा दोहोरिने वा नदोहोरिने सदैव आस्वस्त हुन सक्दैन । फलतः उसले सम्पादन गर्ने कार्यमा केही निहित स्वार्थको घेराले उसलाई नराम्ररी गाँज्न पुग्दछ । सोही कारण केही अपवादलाई छाडेर कुनैपनि जनप्रतिनिधि सोही भूमिकामा दोहोरिएर आएको अवस्था अत्यन्त न्यून देखिन्छ । किनकी उ निर्वाचित भएर आएको पहिलो ५ बर्षको कार्यकालमा नै उ जनताबाट यतिबिध्न आलोचित भइसकेको हुन्छ कि उसले आफ्नो अघिल्लो कार्यकालको राजनीतिक विरासत धान्न समेत मुश्किल पर्ने अवस्था पनि सिर्जना हुने गरेको छ । 

आफूसँग भएको स्रोतसाधन, सम्भावनाको सही पहिचान गर्न सक्ने, अरुको कुरा सुनेर, सुझाव लिएर, त्यसलाई उपयुक्त निकास दिन सक्ने हुनुपर्छ अर्थात् नेता आफ्नै क्षमतामा निर्णय गर्न सक्ने हुनुपर्छ । ठीक निर्णय भए पनि पक्ष र विपक्ष हुनु स्वाभाविक हो त्यसैले सही निर्णय गर्ने र निर्णयको स्वामित्व लिनसक्ने क्षमता नेतामा हुनु जरुरी छ । निर्णय गरिसकेपछि त्यसमा उभिने, अरुलाई बुझाउँदै जाने, निर्णयलाई कार्यान्वयनमा लाने, आवधिक समीक्षा गर्ने र चाहेको जस्तो नतिजा नआउँदासम्म निरन्तर लागि रहने क्षमता नेतामा हुनु अति आवश्यक छ । 

यो अवस्था किन सिर्जना हुन्छ त ?  

निर्वाचित जनप्रतिनिधि अलोकप्रिय किन हुन्छन् ? भन्नेमा एउटा सामाजिक मनोविज्ञानले पनि काम गरेको देखिन्छ । निर्वाचन पूर्व जनप्रतिनिधिहरुले आफ्ना मतदातालाई आकर्षित गर्नको निम्ति लोकप्रिय नारा दिनु पहिलो कमजोरी हो । खासगरी निर्वाचनका बेला जनतालाई उम्मेदवारहरुले यतिबिध्न आश्वासन दिन भ्याउँछन् । मानौं उनीहरु निर्वाचित भएपश्चात मतदाताहरुको सबैखाले इच्छा र आकांक्षा पूरा गरिदिनेछन् । चाहे त्यो व्यक्तिगत होस् वा सामूहिक सरोकारका बिषयहरु नै किन नहोस् । त्यतिन्जेल उनीहरुको एउटै अभीष्ट देखा पर्ने गरेको छ, जसरी पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उद्यत देखिन्छ । यसको निम्ति उसले जस्तोसुकै प्रतिबद्धता उनीहरुसमक्ष गर्न पुग्दछ । तर जब निर्वाचित भएर आफ्नो जिम्मेवारीमा पुग्दछ । तब उसको व्यवहार र बोलीमा ठूलै परिवर्तन आउने गर्दछ । अहिले आम नागरिकले भन्ने गरेको एउटा गुनासो यस्तो छ, ‘चुनाव अगाडि जनताको जुनसुकै समस्या समाधान गरिदिन्छु भन्ने उम्मेदवारले निर्वाचित भइसकेपश्चात न त जनताको कुरा सुन्न सक्छ न त समग्रतामा आफूले विगतमा गरेका वाचा पूरा गर्न नै सक्दछ ।’ यदि यस्तो हो भने हामीले निर्वाचनका माध्यमबाट जनप्रतिनिधि त चुनेका छौं नेतृत्व चुनेका होइनौ भन्न सकिन्छ । यदि हामीले प्रतिनिधि मात्र चुनेका हौ भने स्वभाविक रुपमा उनीहरुबाट प्राप्त हुने प्रतिफलबाट दीर्घकालिन प्रभावको अपेक्षा गर्नुपनि गम्भीर भूल हुनेछ । हुन त नेतृत्व भनेको चुनिने बिषय पनि होइन, यो त विकास हुने कुरा हो । नेतृत्व स्थायी प्रकृतिको हुन्छ भने प्रतिनिधि अस्थायी वा आवधिक प्रकृतिका हुन्छन् । अनि नेतृत्वबाट सैद्धान्तिक बाटोको रेखाङ्कन हुन सक्दछ भने त्यसलाई पूरा गर्ने आधार पनि खडा हुन पनि सक्दछ । तर प्रतिनिधिले आवधिक कार्ययोजनालाई मात्र कार्यान्वयन गर्ने क्षमता राख्दछ । त्यसैले प्रतिनिधिलाई नै नेतृत्व भनी बुझ्नु गलत सावित हुनेछ ।