एथलेटिक्समा भविष्य नदेखेपछि आफ्नै पुख्यौली पेशामा लागे प्रजापति 

नारायण थापा
नारायण थापा

२०७५ माघ २७, आईतबार


भक्तपुर । भक्तपुर नगरपालिका भित्र रहेको प्रजापति समुदायले पुर्खौदेखि पोटरी स्क्वायरमा तयार पारिने माटोको भाडाहरुको माध्यमद्वारा आफ्नो सँस्कृतिलाई  बचाई राखेका छन् । 

त्यस्तै २० वर्षसम्म एथलेटिक्समा आफ्नो भविष्य खोजिरहेका विनोदकुमार प्रजापति आफ्नो भविष्य नदेखेपछि अन्तत आफ्नै पुर्खौली पेशा अँगालीरहेका छन् ।

२०५२ सालबाट एथलेटिक्समा पाइला टेकेका प्रजापतिले लामो समयसम्म विभिन्न खेल खेल्दै धेरै सम्मान र स्वर्ण पदक प्राप्त गर्दै कोचको लाइसेन्स समेत हात पारिसकेका प्रजापति राष्ट्रिय स्तरको कोचको भूमिका समेत निभाएका व्यक्ति हुन् ।

विभिन्न राष्ट्रिय र क्षेत्रीय खेलकुदमा सहभागी भएर आफ्नो पहिचान बनाउदै आफ्नो सपना त पूरा गरे, तर आफ्नो परिवारको सपना भने पूरा गर्न सकेनन् । परिवारको आवश्यकता एथलेटिक्सबाट पूरा नहुने भएपछि प्रजापतिले आफ्नै माटोका भाडा बनाउने पुर्खौली पेशा अँगाले । अहिले उनको परिवारमा उनकी श्रीमती एक छोरा र एक छोरी यस पेशाबाट खुशी भएको उनी बताउँछन् । आफूले जति धेरै उत्पादन गर्न सक्यो त्यति नै आम्दानी गर्न सकिने कुरा उनी बताउँछन् । 

लामो समय खेलकुदमा जीवन बिताएता पनि खेलकुदमा नाम मात्र कमाउन सकिने रहेछ पैसा भने कमाउन धेरै गाह्रो रहेछ भन्दै बाध्य भएर पुख्र्याैली पेशा अँगाल्नु परेको उनले बताए । 
नेपाली समुदायको जन्म, मृत्यु, घर सजाउने देखि दैनिक जीवनको विभिन्न कार्यमा प्रयोग हुने धेरै सामाग्री प्रजापति समुदायले माटोबाट बनाउने गरेका छन् ।

अहिले माटोको भाडा बनाउनका लागि कालो माटो, रङ्गाउन चाहिने रातो माटो, भाडाँलाई पोल्न चाहिने छ्वाली र काठको धुलो र आवश्यक कच्चा पदार्थ नहुँदा समेत समस्या भएको प्रजापति बताउँछन् ।

सरकारले आवश्यक कच्चा पदार्थ तथा नेपाली कच्चा पदार्थबाट सञ्चालन हुने साना उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नु पर्ने उनी बताउँछन् । सजिलै सँग कच्चा पदार्थको आपुर्ति नहुँदा प्रजापति समुदायको पुर्खौ देखिको पेशा नै संकटमा परेको उनी बताउँछन् ।