दुई अध्यक्षबीच चिसिँदै सम्बन्ध

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २७, आईतबार


काठमाण्डौ । भेनेजुएलामा केही समययता देखिएको राजनीतिक संकटका बिषयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विज्ञप्तिमार्फत अमेरिकाको भूमिकाको निन्दा गरेपश्चात नेपालको राजनीतिमा समेत यसले तरङ्ग पैदा गरिदिएको छ । खासगरी लामोसमयदेखिको आर्थिक संकट सामना गरिरहेको भेनेजुएलामा नेशनल एसेम्बलीका नेता हँुवा गुएइदोले आफूलाई मुलुको अन्तरिम राष्ट्रपति घोषणा गरेपश्चात वर्तमान राष्ट्रपति निकोलस मदुरो र विपक्षीहरुबीच द्वन्द्व चर्किदा त्यहाँ राजनीतिक संकट समेत पैदा भएको छ । 

केही समयअगाडि भेनेजुएलामा सम्पन्न निर्वाचनबाट निर्वाचित मदुरोलाई विपक्षीहरुले अस्वीकार गर्दै आएका थिए भने उनीहरुले निर्वाचन समेत धाँधलीपूर्ण भएको जिकिर गर्दै आएका थिए । अन्ततः विपक्षी नेता गुएइदोले आफूलाई मुलुकको राष्ट्रपति घोषणा गरेपश्चात भेनेजुएलाभित्र मात्रै होइन, विश्व नै यस बिषयलाई लिएर दुई ध्रुवमा विभाजित भइरहेका छन् । संयुक्त राज्य अमेरिका, ब्राजिल र पेरूले अन्तरिम राष्ट्रपति घोषित गरिएका गुएइदोलाई समर्थन गरेका छन् भने रूस, चीन, टर्कीलगायतले निर्वाचित राष्ट्रपति मदुरोप्रति समर्थन जनाएका छन् । 

यसैबेला कम्युनिष्ट शासन व्यवस्था रहेको भेनेजुएलाको राजनीतिक संकटका बारेमा अमेरिकी समर्थनको विपक्षमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले विज्ञप्ति मार्फत आफ्नो भनाइ सार्वजनिक गरेका थिए । उनको यो विज्ञप्ति सार्वजनिक भए लगत्तै नेपाल स्थित अमेरिकी दूतावासले यस बिषयमा सरकारको धारणा बुझ्न खोजेको थिए । यसको लगत्तै नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कुटनीतिक भाषामा प्रचण्डको भनाइलाई नै सदर गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो भने कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पनि यसलाई अनौठो नमान्न आग्रह गर्दै प्रचण्डकै लाइनमा निर्णय ग¥यो । तर यो बिषयमा अमेरिका नेपाल सरकारसँग सशंकित मात्र भएको थिएन कि, उसले नेपालले भेनेजुएलामा अमेरिकी पक्षको विरोधमा नेपाल पनि उभिन सक्दछ भन्ने आंकलन गर्न थालेको थियो । सोही कारण नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर पार्टीको निर्णयको भद्र विरोध गरेका थिए । 

यो अवस्थामा सिर्जना हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक संकट पैदा हुनु स्वभाविक थियो । एकातिर आन्तरिक रुपमा पार्टीभित्र प्रचण्डसँग अहमति कायम गर्दै उनलाई दूरीमा राख्न सक्ने अवस्था पनि ओलीमा विद्यमान छैन भने अर्काेतर्फ अमेरिकाको सोझै विरोध गर्ने हैसियतमा पनि सरकार नरहँदा ओलीले मध्यमार्गी बाटो लिन खोज्दै अमेरिकी राजदूतलाई प्रचण्डको विज्ञप्तिमा भाषिक त्रुटी भएको बताए । यसको लगत्तै प्रचण्डले आफ्नो विज्ञप्तिको बारेमा सार्वजनिक अभिव्यक्तिको खण्डन मात्र गरेनन् उनले आफूले पूरै सुझबुझका साथ उक्त विज्ञप्ति सार्वजनिक गरेको बताए । 

नेकपा स्थायी समिति सदस्य समेत रहेका कम्युनिष्ट पार्टीका नेता मणि थापा भन्छन्, ‘भेनेजुएलाका बिषयमा जुन रुपमा प्रचण्डको विज्ञप्ति आएको छ, त्यो अहिलेको अवस्थामा समय सान्दर्भिक छ, त्यसबाट प्रचण्ड पछि हट्नुपर्ने अवस्था होइन ।’ 

त्यसो त ओलीले सरकारको नेतृत्व गरिरहँदा प्रचण्डको लाइनमा सोझै समर्थन गरेर अगाडि बढ्नको निम्ति पनि सहज नभएको तर्क गर्नेहरु पनि धेरै छन् । स्थायी समिति सदस्य मणि थापा स्वयं पनि प्रधानमन्त्रीलाई यस बिषयमा खुलेर बोल्न त्यति सहज नभएको तर्क गर्छन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीले फेस सेभको लागि पनि कुटनीतिक रुपमा बोल्नु उहाँको बाध्यता हो । तर, यथार्थतामा अहिलेको अवस्थामा भेनेजुएलामा अमेरिकाको हस्तक्षेप कसैको निम्ति पनि स्वीकार्य हुनै सक्दैन ।’

भेनेजुएलाको बिषयमा सिर्जित मत भिन्नताले प्रचण्ड र ओलीबीचको दूरी बढ्न सक्ने आंकलन पनि राजनीतिक बृत्तमा गर्न थालिएको छ । ओलीले एउटा टेलिभिजन अन्तरवार्तामा भेनेजुएलाको बिषयमा प्रचण्डको बोली चिप्लिएको ‘टङ्ग स्लिप’ भएको बताएपश्चात ओलीको उक्त विचारको डाडै प्रतिकारमा प्रचण्ड उत्रिएका छन् । प्रधानमन्त्री ओलीको उक्त भनाइ सार्वजनिक भएको पर्सीपल्ट राजधानीमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा घुमाउरो ढंगले विरोध गरे । उनले धम्कीपूर्ण शैलीमा भने, ‘यदि कुनैपनि शक्तिले पूर्व माओवादीलाई सिध्याउने खेल खेलेको हो भने त्यसको प्रतिकार स्वरुप नयाँ माओवादी फेरि जन्मिनेछन् ।’ त्यतिमात्र होइन विगतमा पार्टी एकिकरण हुँदा नेतृत्वका बिषयका सन्दर्भमा नभुल्न समेत चेतावनी दिएका छन् । धेरै लामो समयपछि प्रचण्डले सरकारको विरोध समेत गरेका छन् । यसबाट ओली र प्रचण्डबीचको वैमनष्यता चुलिँदो रहेको अनुमान गर्न सकिन्छ । 

भेनेजुएलामा राजनीतिक संकट
काठमाण्डौ । भेनेजुएलाको राजधानी काराकसमा आयोजित कार्यक्रममा विपक्षी दलका नेता ३५ बर्षीय गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै आर्थिक रुपमा लामो समयदेखि संकट व्यहोरिरहेको भेनेजुएलामा राजनीतिक संकट समेत सुरु भएको थियो । 

अघिल्लो हप्ता निर्वाचित राष्ट्रपतिले दोश्रो कार्यकालका लागि मदुरोले सपथ ग्रहण गरे लगत्तै पूर्व विद्यार्थी नेता समेत रहेका गुएइदोले विरोध गरेका थिए । उनले आफ्ना समर्थकका बीचमा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले मदुरोलाई भेनेजुएलाको उत्तराधिकारी घोषणा गरेको ठाडो विरोध गरेका थिए । 

नेशनल एसेम्बलीका नेता गुएइदोले गरेको घोषणाप्रति युरोपियन युनियन तथा उसका केही छिमेकी देशहरुले समर्थन गरेका छन् भने उनको समर्थनमा दशौं हजारले सडकमा खुशी मनाउँदै जुलुस निकालेका थिए । उनीहरुले भेनेजुएलाको झण्डा समेत फहराएका थिए । अहिले विशेष गरेर मदुरोको सत्ता अवैध भएको भन्दै अमेरिकाले कानुनी शासनको माग गरेको छ ।

तर भेनेजुएलाको सेनाले भने वर्तमान राष्ट्रपनि मदुरोलाई समर्थन गरेको छ भने रुस, चीन र टर्कीले पनि उनकै पक्षमा उभ्याएका छन् ।  नयाँ नेतालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको रुसले आलोचना गरेको छ ।

भेनेजुएलामा अमेरिकी सेनाले हस्तक्षेप गरेमा त्यो महाभूल हुने पनि रसियाले चेतावनी दिएको छ । त्यस्तै, टर्कीले पनि मदुरोको समर्थन गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तेइप एड्रोगानले भनेका छन्, ‘मेरा बन्धु मदुरो, उचो शिर बनाउनुहोस्, हामी तपाईंसँगै छौँ ।’ वर्तमान संकट समाधानको एक मात्र विकल्प शान्तिपूर्ण वार्ता भएको राष्ट्रसंघले जनाएको छ । 

यता राष्ट्रपति निकोलस मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै भेनेजुएलामा रहेका सम्पूर्ण अमेरिकी कूटनीतिज्ञलाई २४ घन्टाभित्र देश छोड्न आदेश दिएका थिए । भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलस मदुरोको शासन संकटमा परिरहेको थियो ।