राष्ट्रिय प्रजातन्त्र दिवस आज, विविध कार्यक्रम गरी मनाइदै

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ७, मंगलबार


काठमाडौं । आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस । एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिन । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ साल माघमा बलिदान दिएका थिए । यसैको सम्झनामा ६९ औ प्रजातन्त्र दिबस देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।

प्रजातन्त्र दिबसका अबसरमा सरकारले प्रत्येक बर्ष औपचारिक कार्यक्रमको आयोजना गरी मनाउदै आएको छ । यस वर्ष पनि दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ । 

राष्ट्रपति बिधादेवि भन्डारीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई पहिलो पटक आधुनिक र लोकतान्त्रिक जीवन पद्धतिको मार्गदिशा प्रदान गर्ने आजको दिनलाई हामीले राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आइरहेको उल्लेख गर्नुभएको छ ।