भ्रष्टाचारीको दिन लामो हुँदैन : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ८, बुधबार


भक्तपुर । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भ्रष्टाचारीहरुको दिन लामो नहुने बताउनुभएको छ । 

नेपाल रेडक्रस सोसाइटी स्वर्ण महोत्सवको सभालाई सम्बोधन गर्दै  सांसद बस्नेतले सरकाले  भ्रष्टाचार विरुद्ध कडा कदम चालेको भन्दै  हरेक भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याई देशलाई भ्रष्टचारमुक्त बनाउने बताउनुभएको हो । 

सांसद बस्नेतले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा हावी हुने गरेको बताउँदै राजनीतिको खैरो रंग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा खैरो रंग हावी हुने गरेको छ भने रेडक्रस जस्तो सामाजिक संस्थाको हरियो रंग हुने गरेको छ ।’ 

सांसद बस्नेतले समाज सेवामा लाग्ने मानिसहरु राष्ट्र निर्माणको मेरुदण्ड भएको बताउँदै सामाजिक क्षेत्रमा लाग्ने मानिस कुनै लोभ लालचमा नलागी निःस्वार्थ रुपमा क्रियाशील हुनुपर्ने बताउनुभयो । 

सांसद बस्नेतले  ९५ प्रतिशत नेपाली समाज आफ्नो इमान तथा इज्जत पैसामा तुलना गर्न नमिल्ने  र नविक्ने भएको बताउनुभयो।सांसद बस्नेतले सामाजिक सेवाको भावना नै समृद्धिको आधार भएको बताउँदै विकास र सामाजिक सेवाको काममा मानिसको अनुहार एउटा आवरण चाँही अर्कै हुनु दुःखद रहेको बताउनुभयो। सांसद बस्नेतले निःस्वार्थ सामाजिक सेवाको भाव भएको टिमलाई जोगाउनुपर्ने भन्दै हाम्रो समाजमा जानेर वा नजानेर आफै भ्रष्टिकरण हुदै गएको भन्दै यसलाई रोक्नु अहिलेको अपरिहार्य आवस्यकता रहेको बताउनुभयो । 

सांसद बस्नेतले समाजमा अनियमितता नगरेवापत अपमान गर्ने प्रवृत्तिको हावी भइरहेको भन्दै स्रोत साधन तथा आर्थिक रुपमा सम्पन्न भएकालाई सम्मान नभएकालाई घृणित गर्ने कार्यलाई रोक्नुपर्ने बताउनुभयो। सांसद बस्नेतले रेडक्रममा समावेश हुने सबै कुरालाई छोडी सामाजिक सेवाको भाव हुनुपर्नेभन्दै भक्तपुरमा सफाई, भुकम्प तथा दैविक विपत्तीमा सर्वप्रथम रेडक्रसको नै उपस्थिती हुने गरेकोले जनताको सारथीको रुपमा रेडक्रस रहेको बताउनुभयो ।