सरुवामा परेका सचिव ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयको जिम्मा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ८, बुधबार


काठमाडौं । खानेपानी मन्त्री विना मगरसँग विवाद भएपछि सरुवामा परेका सचिव गजेन्द्र ठाकुरलाई सरकारले नेपाल ट्रष्टको कार्यालयको जिम्मा दिइएको छ । मन्त्री मगरसँग मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्बन्धि विषयमा विवाद भएपछि सचिव ठाकुरलाई हिजो सरुवा गरिएको थियो ।

उहाँको ठाँउमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका दिपेन्द्रनाथ शर्मालाई जिम्मेवारी दिईएको छ । नेपाल ट्रष्टको कार्यालयमा अधिकार र काम पनि खासै नहुने भएकोले उहाँलाई कारबाही स्वरुप सो निकायमा पठाईएको बताईएको छ ।

त्यस्तै, खेलकुद मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा र पर्यटनमा रहेका कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सचिव विष्णु प्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । उहाँ रक्षा मन्त्रालयमा हुनुहुन्थ्यो । रक्षा मन्त्रालयको जिम्मेवारी भने रेश्मीराज पाण्डेलाई दिइएको छ ।

साथै मन्त्रिपरिषद् बैठकले सुर्य गौतमलाई सचिवमा वढुवा गर्ने निर्णय पनि गरेको छ । बढुवा भएका सचिव गौतमको जिम्मेवारी महालेखा नियन्त्रकको कार्यालयमा तोकिएको छ ।