काँग्रेसले भ्रष्टाचारविरोधी अभियान चलाउँछु भन्नु अशोभनीय : सांसद बस्नेत (भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ८, बुधबार


काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले नेपाली काँग्रेसले भ्रष्टाचार विरोधी अभियान चलाउछु भन्नु युग सुहाउँदो नभएको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले नेपाली काँग्रेसले भ्रष्टाचारलाई संस्थागत गराउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वमन्त्रीहरु चिरन्जिवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता तथा खुमबहादुर खड्का लगायतका आफ्ना साथीहरुलाई नेपाली काँग्रेसले भ्रष्टाचारको स्वर्णपदक दिने काम ग¥यो ।’ 

संसदको सार्वजनिक लेखा समितिले वाइड बडी प्रचकरणमा नैतिक प्रश्न उठाएका ३ जना मन्त्रीहरुमा २ जना नेपाली काँग्रेसका रहेको बताउँदै सांसद बस्नेतले नेपाली काँग्रेसका तत्कालीन मन्त्री जीवनबहादुर शाहीमाथिको नैतिक प्रश्न स्पष्ट भएको र जितेन्द्रनारायण देव र काँग्रेस सभापति शेरबहादुर देउवा मध्ये को दोषी भन्नेमा लेखा समिति अझै पनि छुट्याउन नसकेको बताउनुभयो । 

हाल चर्चामा रहेका अख्तियारका निवर्तमान आयुक्त राजनारायण पाठक नेपाली काँग्रेसले नै पठाएको आयुक्त भएको बताउँदै सांसद बस्नेतले पाठकले ७८ लाख भ्रष्टाचार गर्न मध्यस्थता गर्ने नेपाली काँग्रेस सांसद सूर्यबहादुर केसी भएको बताउनुभयो । 

गत बर्ष सम्पन्न संघीय निर्वाचनमा राजनारायण पाठक र कान्तिपुरका वर्तमान प्रधान सम्पादक नारायण वाग्ले आफूलाई हराउनकै लागि काँग्रेसको झण्डा बोकेर भक्तपुरका गाउँ–गाउँमा हिडेको बताउँदै बस्नेतले भन्नुभयो, ‘यो अवस्थामा काँग्रेसले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउनु भन्नु हास्यास्पद कुरा हो ।’  

अहिले सदनमा विभिन्न खालका गलत हल्ला फैलाउने काम भएको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘एकजना माननीय ज्यूले पशुपति शर्माका गीतलाई सरकारले प्रतिबन्ध लगायो भन्नुभयो, सो गीतलाई कहिले ? कुन मितिमा ? कहाँ प्रतिबन्ध लगायो ? यस्ता गलत अवफाह फैलाउने सांसदहरुलाई संसदीयमा मर्यादामा ल्याउनु पर्दछ ।’ 

संसदीय मर्यादा भुलेर कतिपय माननीय सांसदहरुले निर्देशिका तथा नियमावली च्यात्ने जस्ता अराजक काम गर्नु अशोभनीय भएको बताउँदै बस्नेतले यस्तो कार्यले संसदीय मर्यादाको अवमूल्यन भएको बताउनुभयो । 

उहाँले विशेष गरेर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा आफ्नो सहभागिता माथि प्रश्न उठाउनु जायज भएको बताउँदै भन्नुभयो, ‘सम्बन्धित निर्वाचन क्षेत्रका सांसद प्रमुख हुने कुरा जायज हो । त्यसो भइरहँदा समानुपातिक सांसदहरुको भूमिका के हो ? त्यसबारेमा हामी छलफल गर्न सक्छौ । तर जुन ढंगले नियमावली च्यात्ने काम भएको छ यो एकदमै बेठिक भएको छ ।’

०६२/६३ को आन्दोलनको सम्झदा गर्दै सांसद बस्नेतले तत्कालिन अवस्थामा आफूहरु युवा विद्यार्थीहरु नारायणहिटीको अगाडि गणतन्त्रको नारा लगाइरहँदा नेपाली काँग्रेसले संवैधानिक गणतन्त्र र वेवी किङ्गको वकालत गर्दै हिडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद गणतन्त्रको बोर्डर लाइनमा छौ भनेर राजालाई घुर्काइरहनुभएको थियो भने अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको यो चालाले गणतन्त्र आउँद्रैन वयल गाडा चढेर अमेरिका गएजस्तो हुन्छ भन्ने उदाहरण दिँदै हुनुहुन्थ्यो ।’ 

बस्नेतले युवा र विद्यार्थीहरुको दबाबमा काँग्रेस गणतन्त्रमा आएको बताउँदै भन्नुभयो, ‘म काँग्रेसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । काँग्रेस गणतन्त्रमा आएको हुनाले आज गणतन्त्र स्थापना भएको छ ।’