यो बर्ष पूर्वाधार निर्माणको बर्ष :सांसद थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ११, शनिबार


भक्तपुर । प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले अबको बर्ष पूर्वाधार निर्माणको बर्ष भएको बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने चरखण्डी खोलाको पूल निर्माणको शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद थापाले सूर्यविनायक नगरपालिकामा सबैभन्दा बढी विकास निर्माणका कार्यले तीब्रता पाएको बताउनुभयो । 

संघ, प्रदेश र स्थानीय सरकारले समेत प्राथमिकताका साथ यस क्षेत्रमा विकास निर्माणका लागि बजेट विनियोजन गरेका कारण यो क्षेत्रको विकासले छिट्टै मुहार फेर्ने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यति ठूलो रकम संघ,प्रदेश र स्थानी सरकारले समेत विनियोजन गरेको छ, जसका कारण यो क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हुनेछ ।’

४० बर्ष अगाडि १० फिट चौडाइमा निर्माण गरिएको कौसलटार–बालकोट–सिरुटार–विरुवा सडक खण्ड अबको दिनमा ११ मिटरको हुने बताउँदै सांसद थापाले विकासको गतिले नयाँ चरण पार गरेका कारण विकासलाई पनि सोही अनुरुप अगाडि बढाइएको बताउनुभयो । 

चालू आर्थिक बर्षमा मात्र ८ करोड बराबरको रकम विनियोजन उक्त सडकमा भएको बताउँदै थापाले अबको ४ महिनाभित्रमा विनियोजित कार्य सम्पन्न गर्नुपर्ने दायित्व समेत भएको बताउनुभयो । 

सूर्यविनायक नगरपालिका वडा नम्बर १ र २ बालकोट र सिरुटारले भोग्दै आएको समस्या भनेको खानेपानी, ढल र बाटो प्रमुख रहेको बताउँदै सांसद थापाले यो क्षेत्रमा अब बाटोको समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटोको समस्या लगभग समाधान भएको छ भने खानेपानी र ढलको समस्या समाधानका निम्ति पनि काम अगाडि बढिरहेको छ ।’

खानेपानी समस्या समाधानका निम्ति मेलम्ची खानेपानीको डिपिआर हुन लागेको बताउँदै सांसद थापाले त्यसअघि यो क्षेत्रमा खानेपानी समस्या समाधानका निम्ति झण्डै ५ करोड लागतमा ३ वटा आयोजना आगाडि बढिरहेको बताउनुभयो । 

यसैगरी ललितपुरको गोदावरी खोलादेखि महेन्द्रशान्ति–चित्रपुर–सिकारीटार हुँदै घ्याम्पे डाडासम्म सडक निर्माणका निम्ति कार्य अगाडि बढेका कारण कम्तिमा पनि १५ करोड रकम विनियोजन हुने उहाँले बताउनुभयो । 

यसैगरी कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले लामो प्रयासपछि संघ,प्रदेश र स्थानीय तहको समन्वयमा पुल निर्माण हुन लागेको बताउनुभयो । उहाँले निर्माण हुन लागेको पुल निर्धारित समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । 

स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग (डोलिडार) परियोजना अन्तर्गत करिव १ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुल आगामी बैशाख मसान्तभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो ।