विकासमा जीत र हारको अन्तर हुँदैन : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ११, शनिबार


भक्तपुर । पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले विकास निर्माण कार्यमा हार र जितको कुनै अन्तर नहुने बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने चरखण्डी खोलाको पूल निर्माणको शिल्यान्यास गर्दै सांसद बस्नेतले जनताको काममा समर्पित हुने हो भने हार र जीतको अन्तर नभएको बताउनुभयो । 

विगतमा आफूले निर्वाचनमा हार्दापनि जनताको जनताको काममा समर्पित भएको बताउँदै सांसद बस्नेतले विकास निर्माण कार्यमा सबैको ऐक्यबद्धता जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासमा पक्ष विपक्ष हुनु हुँदैन र विकास निर्माण कार्यमा मैले चुनावमा हारेँ भन्ने मनिस्थिति कुनैपनि हालतमा पाल्नु हुँदैन ।’

आफू भक्तपुरको समृद्धि र विकासका निम्ति दीर्घकालिन आवधारणाका साथ अगाडि बढेको बताउँदै सांसद बस्नेतले भक्तपुरलाई सफा, स्वच्छ, सुरक्षित र सूचनाप्रविधियुक्त शहर निर्माण गरिने बताउनुभयो । उहाँले बालकोट, सिरुटार,दधिकोट गुण्डु क्षेत्रलाई समेटेर एउटा स्मार्ट सिटी तथा सिपाडोल, नंखेल, ताथली,चित्तपोल समेटेर अर्काे आधुनिक शहर निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभयो । 

बस्नेतले सूर्यविनायकको जंगलमा २ ४४ हेक्टर एउट आधाुनिक प्राणी उद्यान निर्माणको चरणमा पुगेको बताउनुभयो । त्यसैगरी भक्तपुरमै ५० हजार क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै अर्काे ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण प्रक्रिया पनि अगाडि बढेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी भक्तपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्न चाहन्छौ, सोही अनुरुप पर्यटकीय क्षेत्रका रुपमा भौतिक संरचनाहरु निर्माण प्रक्रिया पनि अगाडि बढाइरहेका छौं ।’ 

यो बर्ष मात्रै भक्तपुरमा साना ठूला गरी १५ वटा पुल निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका भौतिक निर्माणमा मात्र यो बर्ष २ अर्ब भन्दा बढी बजेट आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, विकासको दृष्टिकोणले भक्तपुरमा यति धेरै बजेट अहिलेसम्म पनि आएको थिएन,‘यसमा जनप्रतिनिधिहरुको भूमिका कत्तिको सार्थक रह्यो भन्नेमा जनताले मूल्याङ्कन गर्नेछन् ।’ 

अर्काे फरक प्रसङ्गमा सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐनका बिषयमा भक्तपुरका नागरिक तर्फबाट आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताउँदै सांसद बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सरकारले यो ऐन ल्याउन लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लोकतन्त्र भनेको बोल्न पाउने सूचनाको हकको सुनिश्चितता भएको व्यवस्था हो । तर यसको अर्थ अराजकता र अपराधकर्मलाई छुट हुन्छ भन्ने होइन ।  आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् गर्न पाइँदैन भन्ने लोकतन्त्रको मूल्य मान्यता हो ।’ 

सरकारको मनसाय सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभएको बताउँदै अहिले जुन ढंगले यसको दुरुपयोग भइरहेको छ त्यसलाई नियमन गर्ने मात्र भएको सांसद बस्नेतले बताउनुभयो । 

अहिले नेपालमा फेसबुकले मात्र ३३ अर्ब आम्दानी गर्ने गरेको बताउँदै सांसद बस्नेतले नेपालमा यसको प्रभावकारी अनुगमन हुन नसक्दा ठूलो राशीको कर विदेशिएको बताउनुभयो ।