सिर्जनामा विम्बको उपयुक्त प्रयोग नहुँदा

विमल थापा
विमल थापा

२०७५ फाल्गुन १२, आईतबार


गत हप्ता नेपाली सांगितिक बजारमा सार्वजनिक भएको पशुपति शर्माको गीतले राम्रै चर्चा कमायो । लोक दोहोरी गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रत्युक्त भएका शब्दप्रति नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघले आपत्ति जनाएपछि शर्माले सामाजिक सञ्जाल मार्फत माफी माग्दै युट्यूबाट उक्त गीत हटाएको जानकारी गराएका थिए । उक्त बिषयले नेपाली सञ्चार माध्यम लगायत संसदको समेत ध्यानाकर्षण हुनपुग्यो । एकजना प्रतिपक्ष सांसदले सदनमा शर्माको गीतलाई सरकारले प्रतिबन्ध लगाएको भन्दै विरोध गर्दा अर्का सत्तापक्षीय सांसदले शर्माको गीत गाउने सांसदलाई एक महिनाको तलब दिने घोषणा गरिदिए । 

उतिन्जेलदेखि नै भनिँदै आइएको कुरा हो कि, नेपाल हल्लै हल्लाको देश हो । इराकमा १२ जना नेपाली मारिएका घटनाका विरुद्धमा २०६० साल भदौ १६ गते भड्किएको हिंसाको तारो मेनपावर व्यवसायी पर्दा त्यसले ठूलो क्षति व्यहोर्नु परेको थियो भने आजभन्दा १८ बर्ष अगाडि एकजना भारतीय कलाकार ऋतिक रोशनले दिएको अभिव्यक्तिका कारण भड्किएको हिंसाका कारण ३ जना नेपालीले ज्यान गुमाएका थिए । यसका पछाडि वास्तविकता भन्दा वेसी अनर्गल हल्लाले बढी प्रभाव पारेको थियो । अहिले पशुपति शर्माको गीतको सन्दर्भमा पनि यस्तै अभिव्यक्तिहरु सार्वजनिक भएका छन् । 

स्वभाविक रुपमा एउटा सर्जकको सिर्जनालाई प्रतिबन्ध लगाउनुपूर्व त्यसको परिपक्व आधार हुनु जरुरी छ । तर अहिले शर्माको गीतलाई न त सरकारले प्रतिबन्ध लगाएको औपचारिक घोषणा गरेको छ, न त यसलाई प्रतिबन्ध लगाइएको भनेर स्वयं सर्जक शर्माले अभिव्यक्ति दिएका छन् । तर बाहिर हल्ला यसरी सार्वजनिक भयो कि, दुई तिहाइ नजिकको बहुमत भएको सरकारले एउटा सिर्जनालाई प्रतिबन्ध लगाइदियो । जसको आडमा टेकेर प्रतिपक्षले सरकारको आलोचना यतिबिध्न तीखो ढंगले गर्न पुग्यो कि यो सरकार अधिनायकवादको चरित्रको हो सम्म भन्न भ्यायो । 

अहिले प्रतिपक्ष यतिबिध्न तेजिलो ढंगले प्रस्तुत हुन थालेको छ कि चाहे त्यो गोविन्द केसीको मुद्धा होस् वा निर्मला पन्तको हत्या प्रकरण होस् । चाहे त्यो पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भ होस् वा कला सर्जकको सिर्जनालाई प्रतिबन्ध लगाएको बिषय नै किन नहोस् । यसको नकारात्मक कोणबाट व्याख्या गर्दै प्रचार गर्न तल्लीन हुने गरेको छ  । 

हामीकहाँ एउटा प्रचलन नराम्ररी गडेको पाइन्छ । आफूलाई राम्रो देखाउनलाई अरुको उछिटो नकाटि हुँदैन । तर वास्तविकतामा अरुलाई मात्र नराम्रो देख्ने प्रबृत्ति र चिन्तन कहिलेपनि राम्रो हुनै सक्दैन । नराम्रोको स्वरुप चाहे त्यो रातमा होस् वा दिनमा नै किन नहोस् । नराम्रोलाई जतिसुकै सही ढंगले परिभाषित गर्न खोजेपनि त्यो कहिलेपनि राम्रो हुनै सक्दैन । यस्ता चरित्र र चिन्तन भएकाहरुले न त उसले आफूमा परिवर्तन गर्न सक्दछ, न त उसले अरुलाई परिवर्तनको मार्गचित्र देखाउन नै सक्दछ । अहिले राजनीतिक दलहरुमा पनि यसको गहकिलो प्रभाव देखिन्छ । मूल रुपमा प्रतिपक्षमा यसको गहिरो प्रभाव देखिन्छ । 

लोक गायकले आफ्नो धर्म निर्वाह गर्ने क्रममा एउटा सिर्जना प्रस्तुत गरे । उनको गीत संगीतको प्रभाव कस्तो रहन सक्दथ्यो ? वा उनका गीतले समाजमा कस्तो प्रभाव पारिरहेको थियो भन्ने बिषयमा यतिबिध्न घोत्लिनु जरुरी थिएन भन्ने नै हो । एउटा लोकगायकले आफ्नो गीतलाई कति हदसम्म प्रचारमुखी बनाउने भन्नेमा सायद पशुपति शर्मा आफै जानकार छन् । उनले आफ्नो गीतको प्रभावकारितालाई भन्दा पनि यसको चर्चा कतिहदसम्म हुन सक्दछ भनेर प्रारम्भिक आंकलन गरेको हुन सक्दछन् । तर, आफूलाई लोक गायकको श्रेणी भन्दा माथि रहेको बुझाइ अनि त्यहाँभित्रका आन्तर्यको अपव्याख्या गरी तत्काल प्रतिक्रिया दिन भ्याउने वर्ग समुदायले पनि शर्माको गीतलाई आवश्यकता भन्दा बढी चर्चामा ल्याउने काम गरे । यसमा पशुपति शर्माले गीत सिर्जना गरेर जति कमजोरी गरे भनेर चर्चा गरिँदैछ, त्यो भन्दा बेसी कमजोरी सो गीतमा अभिव्यक्त भएका भावहरुको अपव्याख्या गर्ने वर्ग समुदायको थियो भन्न सकिन्छ । यसले अप्रत्यक्ष रुपमा अंकगणितीय रुपमा बलियो सरकारलाई व्यवहारिक रुपमा कमजोर पार्ने काम बाहेक अरु केही गर्न सक्दैन । हैन भने एउटा लोकगायकले सिर्जना गरेको सिर्जनाले यदि मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतालाई समेत कमजोर पार्ने काम गरेको छ भने त्यसको निम्ति विधिसम्मत रुपमा खण्डन गर्ने जिम्मेवारी भनेको फेरि पनि सरकारको नै हो, न कि सरकार निकटको कुनै भातृसंगठनको । 

हामी आफूलाई बुज्रुक ठान्छौ, भलै आफूलाई अरुले बुज्रुक ठानोस् वा नठानोस् । अनि त्यसैको धङधङीमा आफूभित्रको कमजोरीलाई छाँयामा पार्ने कोसिस पनि गर्दछौं । यो अत्यन्तै घातक चिन्तन र सोचको परिणति हो । पशुपति शर्माको गीतका बिषयमा पनि हामीमा यो चिन्तनभन्दा माथि उठेर सोच्ने मति पलाएन । जसको कारण अप्रत्यक्ष रुपमा पशुपति शर्मा आफैले झनै महत्व पाए । उनका गीत संगीतलाई आजसम्म नसुन्ने श्रोता तथा दर्शकहरुमा समेत एकखालको कौतुहलता सिर्जना गरिदिने काम भयो । यसको निम्ति सरकार भन्दा पनि बढी जिम्मेवार सरकार निकट भातृ संगठन नै हो भन्न सकिन्छ । 

स्वभाविक रुपमा स्वतन्त्रता भनेको स्वच्छन्दता पक्कै पनि होइन । हामीले अधिकारको प्रत्याभूति गर्दैगर्दा जिम्मेवारीको पनि उत्तिकै महत्व रहन्छ भन्ने भुल्नु हुँदैन । 

आफ्ना गीत संगीतका बारेमा सार्वजनिक हल्लाका बारेमा स्वयं पशुपति शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु की म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनीति आग्रह वा पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टी रहन गएकोले जुन –जुन शब्दमा असन्तुष्टी देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा सन्तुष्टी देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।’

उनको गीत सुन्दा स्वभाविक रुपमा केही दर्शक र श्रोताहरुले मनोरञ्जनका रुपमा लिन सक्ने देखिन्छ । तर यसको व्यवहारिक र गहिरो अर्थलाई अर्काे ढंगबाट पनि व्याख्या गर्ने हो भने उनका केही शब्दहरु विशेष गरेर राष्ट्रपति र राजनीतिक दलका कार्यकर्ताहरुप्रति किटानी गरेको देखिन्छ । संघीय गणतन्त्र आउनु र आलंकारिक राष्ट्रपति हुँदा त्यसको गहिरो कटाक्ष उनले गीत मार्फत गरेका देखिन्छन् । त्यति मात्र होइन, राजा फालेर धेरै राजा जन्मिए भनिएको छ भने राजनीतिक कार्यकर्ता केवल कुकुर जस्ता मात्र हुन् भनिएको छ । 

गीतका बारेमा सार्वजनिक भएका अभिव्यक्तिप्रति संवेदनशील भएर उनले सामाजिक सञ्जालमा लेखेको टिप्पणीले एकातिर आफ्नो राजनीतिक पूर्वाग्रह कुनैपनि दलसँग छैन भनेका छन् भने उनका गीतका शब्दहरुले मुलुकमा यति लामो संघर्षपछि प्राप्त भएको राजनीतिक उपलब्धीको खिल्ली उडाएको छ । उनले आफ्नो गीतले सामाजिक सचेतना अभिबृद्धि गर्ने भन्दैगर्दा मूल रुपमा जनताको बलिदानीबाट प्राप्त उपलब्धीप्रति नैराश्यता पनि सँगै पैदा गर्न खोजेको देखिन्छ । 

गीत-संगीत सिर्जनाको अभिव्यक्ति पनि हो । गीत संगीतले मनोरञ्जन मात्र दिँदैन, बरु सामाजिक सन्देश पनि दिने गर्दछ । तर सिर्जनमा प्रतिकात्मक विम्बको आलंकारिक प्रयोग विशिष्ट ढंगले गर्न सकिएन भने त्यो भद्धा हुन सक्दछ । पशुपति शर्माको पछिल्लो गीतमा पनि यस्तै प्रबृत्ति हावी हुँदा यसको गलत व्याख्या हुन सक्ने उत्तिकै सम्भावना देखिन्छ भलै शर्माको मनसाय विशुद्ध सामाजिक सचेतना अभिबृद्धि गर्ने हेतुले अभिप्रेरित भएको नै किन नहोस् ।