नेपालको शैक्षिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय : सांसद थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन १८, शनिबार


भक्तपुर । प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले निजी विद्यालयहरुले नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । 

भक्तपुर सूर्यविनायक वडा नम्बर १ स्थित क्यान्डिड स्कूलले आयोजना गरेको अभिभावक दिवसमा बोल्दै सांसद थापाले विगत ४ दशकदेखि निजी क्षेत्रले नेपालको शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन, झण्डै २ लाख भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ भने पूर्वाधारका क्षेत्रमा समेत निजी क्षेत्रले योगदान दिएको छ ।’ 

सांसद थापाले निजी क्षेत्रका कतिपय विद्यालय निर्माण हुँदा अन्य भौतिक संरचनाहरु समेत निर्माण भएको बताउनुभयो । उहाँले सरकारलाई राजश्व तिर्ने सन्दर्भमा समेत निजी क्षेत्रका विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको कूल ग्राहस्थ उत्पादनको ७ प्रतिशत रकम निजी क्षेत्रका विद्यालयहरुको योगदानले ओगेटको छ ।’

अहिले निजी विद्यालयलाई मुनाफा रहित बनाउने कि सामाजिक उत्तरदायित्वमुखी बनाउने भन्नेमा छलफल चलिरहेको बताउँदै सांसद थापाले अहिले सरकारले निजी विद्यालयलाई कम्पनी वा अन्य संस्थाको रुपमा दर्ता गरेर अगाडि बढाउने भन्नेमा छलफल गरिरहेको  बताउनुभयो ।  
निजी क्षेत्रका विद्यालयहरुले मुनाफामुलक मात्र होइन, सामाजिक भावनाले समेत सेवा दिनुपर्दछ भनेर नेपाल सरकारले नीति अगाडि बढाएको थापाले बताउनुभयो । 

उहाँले परीक्षामा कति प्रतिशत विद्यार्थी उतीर्ण भएभन्दा पनि उनीहरुको दक्षता र क्षमतामा कति बृद्धि गर्न सकियो भन्नेमा विद्यालयहरुले चिन्तन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नभयो, ‘मूल कुरा विद्यालयबाट उत्पादित जनशक्ति नेपाल लगायत विश्व बजारमा कति विक्न सके भन्नेनै हो, एसइइमा विद्यार्थीले कति प्रतिशत अंक ल्याए भन्ने होइन ।’