भौतिक निर्माण तीब्र गतिमा हुँदैछ : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन १८, शनिबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यो बर्ष भौतिक निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै प्रमुख थापाले नगरपालिकाको भौतिक निर्माणको क्षेत्रमा ७० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाका १० वटै वडामा भौतिक निर्माण अन्तर्गत सडक तथा पुल निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ ।’

नगरपालिकाभित्र संघ, प्रदेश र स्थानीय तहको समन्वयमा ठूला आयोजनाहरु समेत अगाडि बढेको बताउँदै नगरप्रमुख थापाले नगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न लागिएको बताउनुभयो । 

उहाँले नगरपालिकाको रानीकोटबाट बाह्य पर्यटकहरुका निम्ति प्यराग्लाइडिङ्गको परिक्षण उडान समेत सुरु गरिएको बताउनुभयो । थापाले भन्नुभयो, ‘धार्मिक पर्यटकीय सम्भावना रहेको नगरपालिकाभित्र शिव सर्किटको अवधारणाको व्यवहारिक कार्यान्वयन गर्ने कार्य अगाडि बढेको छ । यसको निम्ति डिपिआर तयार हुँदैछ ।’