लोकतन्त्रमा अधिकार मात्र हुँदैन, जिम्मेवारी पनि हुन्छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन १८, शनिबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि हुने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयको ७० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद बस्नेतले लोकतन्त्रमा आफ्नो अधिकार उपभोग गर्दा अर्काको अधिकार हनन् गर्न नपाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लोकतन्त्र भनेको ह्वाङ्ग हो, नाङ्गो होइन ।’ उहाँले मेरो घरमा विवाह छ भनेर क्यासेट बजाउन पाउँछु, तर ठूलो स्वरमा बजाउँदा छिमेकीका पढिरहेका छोराछोरीलाई डिस्टर्भ हुन्छ भने त्यसलाई कन्ट्रोल गरेर बजाउनु पर्दछ भन्नुभयो । 

लोकतन्त्रको सार्थक पक्ष भनेको अरुको सम्मान गर्नु पनि भएको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘यहाँ केही साथीहरु समाजलाई नाङ्गो बनाउने काममा लाग्नुभएको छ ।’ 

नेपालको शिक्षामा व्यवहारिक सुधारको खाँचो रहेको औल्याउँदै सांसद बस्नेतले पढेको मान्छेले कामलाई सम्मान गर्ने परिपाटीको विकास हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो इन्डियामा ब्रिटिसहरुले आफूमाथि प्रश्न उठान नसकून् भनेर सोही अनुसारको शैक्षिक पद्धतिको विकास गरे, जसको प्रभाव हाम्रोमा पनि परेको छ ।’

अहिले नेपालमा पढेकोको जनशक्तिले व्यवसायिक सम्भाव्यता खोज्न नजानेको बताउँदै सांसद बस्नेतले अहिले पढेका मानिसहरुले अझैपनि नेपालमा उद्योग र व्यवसायको सम्भाव्यताको खोजी गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो पढाइअनुसारको नेपालमा उद्योग र व्यवसायको सम्भाव्यता खोज्नुको साटो आफ्नो पढाइको सर्टिफिकेट लिएर नेताहरुको घर–घरमा गएर मलाई जागिर चाहियो भन्छौं ।’

प्राविधिक र वैज्ञानिक र आत्मनिर्भर हुने खालको शिक्षा नदिइ वर्तमान शिक्षाको स्वरुपमा परिवर्तन गर्न नसकिने तर्क गर्दै सांसद बस्नेतले अहिले बुढा भएका बाआमाले खेतमा काम गर्ने मान्छे नपाएर आफै काम गर्न थालेको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, ‘छोराछोरीहरु घरमा फेसबुक र टिभी हेरेर बसेका छन्, तर किन काम नगरेको भनेर सोध्यो भने खै काम गर्ने ठाउँ नै छैन, जागिर पाइएको छैन, यो सरकार नै यस्तो छ भन्छन् । बाआमाले काम गर्ने मान्छे पाउँदैनन्, छोराछोरीले काम गर्ने ठाउँ पाउँदैनन् ।’ उहाँले यस्तो खालको सोचलाई अन्त्य गर्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । 

समाजमा अहिले आलोचनात्मक चेतना बढेको बताउँदै सांसद बस्नेतले आफूले गर्नुपर्ने काम बाहेक अरुले गर्नुपर्ने सबै काम थाहा भएको मनोविज्ञान हाल व्याप्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकले पढाएको यो भएन, मेयर र वडा अध्यक्षले गरेको यो भएन, सचिवले गरेको यो भएन र पुलिसले गरेको यो भएन सम्म भन्न भ्याउँछौं । तर आफूले गर्ने कामका बारेमा हामीलाई थाहा छैन ।’ उहाँले आफूले गर्ने कामको बोध गराउने खालको शिक्षा अहिलेको आवश्यक भएको बताउनुभयो । 

अहिले २२ लाख युवाले पढाएको रेमिट्यान्समा १० अर्बको त चामल मात्र किनिएको बताउँदै सांसद बस्नेतले यही बर्षमात्र मकै ५ अर्बको भित्रिएको बताउनुभयो । 

अहिले नेपालमा विद्यमान ४५ प्रतिशत बाँझो जमिनलाई प्रयोगमा ल्याउने हो भने १२ लाख युवाहरुलाई रोजगारी दिन सकिने बताउँदै सरकारले ल्याएको भूउपयोगी ऐनले जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्न सक्ने बताउनुभयो । 

भूकम्प पछाडि भत्किएका ७ लाख घर बनाउन यहाँ कामदार नपाइएको बताउँदै सांसद बस्नेतले अहिले पनि निर्माण क्षेत्रमा ७० प्रतिशत भारत बंगलादेशबाट कामदार आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा दाजुभाइ विदेश गएर सेकुरिटी गार्डको काम गरेर १५ हजार कमाउन तयार छ, तर गाउँमा इलेक्ट्रिसियन, प्लम्बिङको काम गर्न तयार छैन ।’ 

सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐनका बारेमा गलत समाचार सम्प्रेषण भएको बताउँदै सांसद बस्नेतले अहिले फेसबुक नेपालमा दर्ता नहुँदा नेपालबाट बार्षिक ३३ अर्ब रकम लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको कुनै अनुगमन छैन, सरकारले यसलाई अनुगमन गर्ने भनेर ऐन ल्याउँदा केही साथीहरु विचार स्वतन्त्रताालाई कुण्ठित पार्ने ऐन भनेर विरोध गर्दैछन् ।’

सामाजिक सञ्जालाई व्यवस्थित गर्ने हो भने धेरै युवाहरुलाई यही क्षेत्रबाट रोजगारी दिन सकिने बताउँदै बस्नेतले अहिले यसको सदुपयोग भन्दा बढी दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले सामाजिक सञ्जालमा व्यक्तिको चरित्र हत्या गर्ने, छोरी चेलीलाई यौनजन्य हिंसा गर्ने, गाली व्यइज्जत गर्ने लगायत राष्ट्रिय अखण्डता र सुरक्षामाथि धावा बोल्ने काम भएको छ, यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’