नेपालमा हवाइ दुर्घटना किन हुन्छ ? 

विमल थापा
विमल थापा

२०७५ फाल्गुन १९, आईतबार


बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको छ । ताप्लेजुङ जिल्लाको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको थियो । विशिष्ट व्यक्तिहरु चढेको हेलिकप्टर दुर्घटना भएपश्चात नेपाली आकाश कति सुरक्षित छ भन्नेमा सन्देह पैदा गरिदिएको छ । 

कल साइन अल्फा माइक इन्डिया (एएमआई ) भएको एयर डाइनेस्टीको हेलिकप्टरमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल,नागरिक उड्ययन प्राधिकरणका निर्देशक ध्रब भोछिभोया र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरे सवार थिए भने हेलिकप्टर क्याप्टेन प्रभाकर केसी चलाएका थिए । 

गत बर्ष सन् २०१८ को मार्च १२ को बङ्गलादेशको ढाकाबाट काठमाडौँ आएको यूएस बङ्गला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा घटनास्थलमै ४९ जनाले ज्यान गएको थियो भने बम्बार्डिएन ४०० मोडलको उक्त विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका थिए । तर उपचारका क्रममा थपी ३ जनाको मृत्यु भएपछि उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुगेको थियो । 

नेपालको हवाइ दुर्घटनाको इतिहास हेर्ने हो भने ७३ बर्ष पार गरिसकेको देखिन्छ । यो अवधिमा ९४ वटा हवाई दुर्घटना नेपालमा भएका छन् भने ७ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् । 

सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा ९४ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् ।

नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ६५ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । 
नेपालमा सन् १९४६ मे ७ रोयल फोर्स एयर दुर्घटना भएको थियो । जसमा मानवीय क्षति भने भएको थिएन । सो दुर्घटना हेलिकप्टर दुर्घटना हुँदा १४ जना यात्रु तथा चालक दलका २ सदस्य सवार भएपनि मानवीय क्षति हुनबाट जोगिएको थियो । 

नेपाली हवाई इतिहासमा मानवीय क्षतिसहितको पहिलो दुर्घटना सन् १९५५ मार्च ८ मा भएको थियो । सिमरा एयरपोर्टमा भएको कालिङ्गा एयरलाइन्सको भीटी–एटिएक्स कलसाइनको विमान दुर्घटना हुँदा २ जनाले घटनास्थलमै ज्यान गुमाए । उक्त दुर्घटनामा एकजना सख्त घाइते बनेका थिए । 

यसैगरी, नेपाली हवाई इतिहासकै पहिलो ठूलो हवाई दुर्घटना सन् १९९२ जुलाई ३१ मा नुवाकोटको घ्याङफेदीमा भयो । थाई एयरवेजको एच एस–टीआईडी कलसाइनको एयरबस ३१० मोडलको विमान दुर्घटना हुँदा जहाजमा सवार १ सय १३ जनाकै मृत्यु भयो ।

नेपालको हवाइ दुर्घटनाको ९४ वटा घटनाहरुमा १७ वटा हेलिकप्टर दुर्घटना भएको देखिन्छ । तुलनात्मक रुपमा हेलिकप्टर दुर्घटना अन्य विमान दुर्घटना भन्दा थोरै र मानवीय क्षतिका दृष्टिकोणले पनि कम भएता पनि नेपालको भू–बनोट र मौसममा आउने परिवर्तनले हेलिकप्टरको यात्रा पनि कम जोखिम छैन भन्ने पुष्टी हुन थालेको छ । 

सन् १९७९ डिसेम्बर २७ मा भीभीआईपी सवार हेलिकप्टर लाङटाङमा दुर्घटना भयो । नाइन एन–आरएई कलसाइनको चार्टड हेलिकप्टर दुर्घटनामा चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भएको थियो । त्यस्तै, मानवीय क्षति बेहोरेको अर्को दुर्घटना हो सन् १९९७ सेप्टेम्बर ३० को दुर्घटना । कर्णाली एयरको नाइन एन–एइसी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए भने ४ जना यात्रु बाँच्न सफल भएका थिए ।

सन् १९९८ अक्टोबर २४ मा एसिएन एयरलाइन्सको हेलिकप्टर मुलखर्क भन्ने स्थानमा दुर्घटना ३ जनाले ज्यान गुमाएका थिए । नाइन एन–एसीवाई कलसाइनको उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । 

सन् २००१ नोभेम्बर १२ अर्थात् कात्तिक २७ २०५८ सालमा रारा तालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसहित ४ यात्रुको निधन भयो । दुर्घटनामा पाइलटसहित अन्य १ जना यात्रु बाँच्न सफल भएका थिए । यस्तै, सन् २००२ को मे ३१ मा मकालु बेस क्याम्पबाट लुक्लाका लागि उडेको एसियन एयरलाइन्सको एम आई १७ हेलिकप्टर सम्पर्क विहीन भएको थियो । लामो समयसम्म पनि उक्त हेलिकप्टरबारे केही पत्ता लागेन । चालकदलका ४ जना सदस्यसहित ७ जना यात्रु बोकेको उक्त हेलिकप्टर हराएको ठीक ४ महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटनामा परेको र हेलिकप्टरमा सवार सबै ११ जनाको मृत्यु भएको घोषणा गरेको थियो । 

सन् २००३ को मे २८ मा सोलुखुम्बुमै अर्को दुर्घटना भयो । सिम्रिक एयरको एमआई १७ हेलिकप्टर एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो भने ६ जना बाँच्न सफल भए । नाइन एन–एडीपी कलसाइनको उक्त हेलिकप्टर पर्यटकको उद्धार गर्नका लागि एभरेस्ट बेस क्याम्पमा पुगेको थियो ।

सन् २००६ को सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एम आई १७ हेलिकप्टर दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राईसहित, योजनाविद् डाक्टर हर्क गुरुङ लगायत २४ जनाको निधन भयो । यो दुर्घटना नै नेपालको इतिहासमा विशिष्ट व्यक्तिहरुको एकै पटक निधन भएको दुर्घटना थियो । 

सन् २०१३ जुन १९ मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना भयो । दुर्घटनामा १ जनाले ज्यान गुमाए भने हेलिकप्टरमा सवार ५ जना बाँच्न सफल भए ।

सन् २०१३ अक्टोबर ३ मा एभिया क्लब पोखराको कोप्टर दुर्घटना हुँदा दुई जनाको ज्यान ग¥यो । खेल पर्यटनका लागि ल्याइएको उक्त कोप्टरमा एक चालक र एकजना यात्रु सवार थिए ।

सन् २०१५ को जुन २ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा प¥यो । दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित ४ जनाले ज्यान गुमाए ।

सन् २०१५ को अक्टोबर ८ मा पोखरा एभिया क्लबको कोप्टर माछापुच्छ«े हिमालमा हरायो । घटनाको धेरै लामो समयपछि उक्त कोप्टर दुर्घटनामा परेको भेटियो । दुर्घटनामा २ जनाको ज्यान गएको थियो । सन् २०१६ को अगस्ट ८ मा नुवाकोटको बेतिनी भन्ने स्थानमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाए । खराब मौसमको कारण केही नदेखेपछि रुखमा ठोक्किएर उक्त हेलिकप्टर दुर्घटना भएको थियो ।
सन् २०१६ को नोभेम्बर २३ मा एभिया क्लब पोखराको अल्ट्रालाइट कोप्टर चापाकोटमा दुर्घटना हुँदा १ जनाले ज्यान गुमाएका थिए ।

सन् २०१८ को सेप्टेम्बर ८ मा गोरखाको सामागाउँमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भयो भने १ जना बाँच्न सफल भए ।
र, अन्तिम पटक दुर्घटनामा परेको विमान एयर डाइनेस्टीको हेलिकप्टर हो । यस हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए छन् ।

त्यसो त, नेपालमा हुने कुनैपनि हवाई दुर्घटना पश्चात यसको कारण पत्ता लगाउनको निम्ति जाँजबुझ आयोगहरु गठन हुने गरेका छन् । तर ती आयोगहरुले दिएका प्रतिवेदनलाई न त सार्वजनिक गरिन्छ , न त ती प्रतिवेदनले सुझाएका सिफारिसहरु कार्यान्वयन गरिन्छ । जसको कारण पनि कुनैपनि हवाई दुर्घटनापश्चात केही दिन शोकमा डुब्दै समवेदना प्रकट गर्ने बाहेक दुर्घटना न्यूनीकरण गर्नको निम्ति यथेष्ट र प्रभावकारी कार्यहरु हुन सकिरहेका छैन् । स्वभाविक रुपमा हवाई दुर्घटना प्राविधिक पक्षसँग जोडिएका हुन्छन् । तर कुनैपनि हवाई दुर्घटनालाई न्यूनीकरुण गर्नको निम्ति हाम्रोमा विद्यमान कुनै पनि ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान पुग्न सकिएको छैन । पक्कैपनि दुर्घटना रोक्न सकिँदैन, तर त्यसको कारण पत्ता लगाइ सम्भावित जोखिमबाट जोगिन भने सकिन्छ । यतातर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी हैन र ?