असहायहरुसँग जन्मदिन मनाउँदाको खुशी 

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन २६, आईतबार


भक्तपुर । सामन्यतया हामीहरु आफ्नो जन्मदिन विभिन्न उत्सव आयोजनाा गरेर, साथीसंगीहरुसँग भोज गरेर वा नाचगान गरेर मनाउने गर्दछौं । क्षणिक रुपमा रमाइलो गर्दै आफ्नो निम्ति मनाउने जन्मदिन स्मरणयोग्य पक्कै पनि हुँदैन । तर यदि आफ्नो जन्मदिन कसैको निम्ति मनाइन्छ भने त्यो जीवनको अविष्मरणीय क्षण पनि बन्न सक्दछ । 

नेपाली महिलाहरुको आवाजकी अध्यक्ष सुमित्रा थापाले यस्तै सुनौलो अवसरलाई आफ्नो जन्मदिन मनाएर रमाइलो क्षणको अनुभूति गरिन् । ‘जन्मदिन त हरेक बर्ष मनाइन्छ, तर मानसिक सन्तुलन गुमेका असहाय आमा तथा बालबालिकाका बीचमा आफ्नो जन्मदिन मनाउँदो खुशी बेग्लै हुँदो रहेछ थापाले भनिन् ।’ 

थापाले आफ्नो जन्मदिन नेपाल स्नेही काखमा तिनै आमाहरु र बालवालिकासँग मनाउँदै गर्दा उनीहरुका निम्ति लत्ताकपडा तथा खाद्य सामग्री पनि सहयोग गरिन् । त्यसो त संस्थामै पुगेर स्नेही काखकी अध्यक्ष स्नेहा पोखरेललाई केही आर्थिक सहयोग समेत गरिन् । 

 मानिसमा इच्छा शक्ति र भावनात्मक सोच हुनु जरुरी छ थापा भन्छिन्, ‘अघिल्लो हप्ता आफ्ना एकजना साथीसँग स्नेही काखको अवलोकन गर्ने अवसर पाएको थिएँ । त्यहाँ बस्ने आमा तथा साना बालबालिकाको अवस्था देख्दा मेरो मन कुडिँयो । त्यसैले यसपालीको आफ्नो जन्मदिन यी आमा तथा बालबालिकासँग मनाउने निधो गरेँ ।’ आफूले विगतमा जन्मदिन मनाउँदा यस्तो खुशी कहिलेपनि नपाएको बताउँदै थापाले भनिन्, ‘अरुको पीडामा र दुःखमा केही भएपनि खुशी ल्याउन पाएँ मलाई आज अत्यन्तै खुशी लागेको छ ।’