सिके राउतसँग भएको सम्झौताको विरोध गर्नुको कुनै अर्थ छैन: सांसद बस्नेत (भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन २६, आईतबार


काठमाण्डौ । प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले सरकारले स्वतन्त्र मधेश गठबन्धनसँग गरेको ११ बुँदे सहमतिको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधिनताको रक्षाको निम्ति सिके राउतसँग भएको सम्झौता ऐतिहासिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सिके राउतसँग सम्झौता गरेर सरकारले शान्ति सम्झौतापछिको दोश्रो उपलब्धी हासिल गरेको छ ।’

बस्नेतले नेपालमा पृथकतावादी आन्दोलन नरोकियोस् भन्ने सोच राख्नेहरुका निम्ति सिके राउतसँग भएको सम्झौता टाउको दुखाईको बिषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकाथरि नेताहरु जसले आफूलाई सेलिब्रेटी ठानेर उग्रवाद र भावुक राष्ट्रवाद कुरा गर्दै नेपालको बजारमा बिक्ने कुरा गर्न चाहन्छन्, उनीहरुलाई ज्वरो आएको छ ।’

सांसद बस्नेतले सिके राउतसँग भएको ११ बुँदे सहमतिको दुई नम्बर बुँदाले कुनै पनि हालतमा जनमत संग्रहको कुरा नउठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो आर्थिक, सामाजिक र राजनीतिक उद्देश्य प्राप्ति गर्नका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो अप्नाइनेछ भन्ने कुरामा कहाँ छेऊ असहमति हो ? यो कुरामा हामी खुलेर बहस गर्न तयार छौं ।’

‘नेपालको संविधानमा रहेको निहित जनताको अधिकारलाई सम्मान गर्दै जनअभिमतको आधारमा टुङ्याइनेछ भन्ने शब्दले कहाँ चाहिँ जनमत संग्रहको व्याख्या ग¥यो ?’ बस्नेतले प्रश्न गर्नुभयो । 

अहिले यही बिषयलाई लिएर बाहिर कुव्याख्या भएको बताउँदै सरकारले राउतसँग गरेको सम्झौतामा कुनै पनि हालतमा जनमत संग्रहको परिकल्पना नगरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनअभिमत भनेको आवधिक निर्वाचन हो, जसलाई हामीले स्वीकार गरेका छौं ।’ 

केपी ओली सरकार गठन भएदेखि नै लोकप्रिय काम गर्न थालेको बताउँदै सांसद बस्नेतले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने, चीन र भारतसँगको सम्बन्धलाई सुमधुर बनाएको, योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको, रोजागारीको सुनिश्चितता लगायत रेलमार्गको डिपिआर प्रक्रिया अगाडि बढाएको बताउनुभयो । यसैगरी सरकारले पानी जहाजको सम्भाव्यता अध्ययन गर्नुका साथै ठूला विमानस्थल निर्माणको प्रक्रिया समेत अगाडि बढाएको बस्नेतले बताउनुभयो ।

सांसद बस्नेतले अहिले नेपालमा आयात बढेको नभइ लक्ष्यभन्दा १४ प्रतिशत राजश्व संकलन गर्न सरकार सफल भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा सरकारले आयात हुने सामानमा भन्सार शुल्क घटाएर लिने गरेका कारण अहिले राजश्व बढेको देखिएको हो ।’

उहाँले केपी शर्मा एउटा राजनेताको रुपमा अगाडि बढिरहेको बताउँदै सिके राउतसँगको सम्झौताले नेपालको राजनीतिमा केपी शर्मा ओली एउटा शिखर व्यक्तिका रुपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाई यस्ता कार्यक्रमा निरन्तर अगाडि बढ्नुस् प्रधानमन्त्री ज्यू नेपाली जनताको तपाईलाई साथ छ ।’