नेपालमा व्यवसाय गर्न प्रसस्त सम्भावना छ । अञ्जित बिष्ट, युवा व्यवसायी  

विमल थापा
विमल थापा

२०७५ फाल्गुन २७, सोमबार


नेपालमा कुनै पनि क्षेत्रमा व्यवसायिक सम्भाव्यता रहेको छ । यदि व्यक्तिमा सकारात्मक सोच, अवधारण र लगनशीलता हुने भने व्यवसायिक रुपमा समेत प्रसस्त सम्भावना रहेको छ । नेपालमा उद्यमशीलताको निम्ति वातावरण कस्तो छ ? एकजना युवा व्यवसायी अञ्जित बिष्टसँग अनन्त सन्देशका विमल थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाई एउटा युवा हुनुहुन्छ, तपाईले अहिले गर्दै आउनुभएको व्यवसाय कुन–कुन क्षेत्रमा रहेको छ ? 
म उद्यमशीलतामा विश्वास गर्ने भएकाले हाल म विभिन्न ४ वटा व्यवसायमा संलग्न रहेको छु । व्यापार व्यवसायमा के भनिन्छ भने कुनै एउटा ठाउँमा मात्र लगानी गर्दा जोखिम हुने सम्भावना पनि उत्तिकै हुन्छ । यसमा कुनै एउटा क्षेत्रमा घट्यो भने अर्काे क्षेत्रले समेट्न सक्दछ भनेर आत्मविश्वास बढाउनको निम्ति पनि मैले ४ वटा व्यवसायमा हात हालेको छु । मुख्य रुपमा मेरो संलग्नता रहेको क्षेत्र भनेको निर्माण क्षेत्र नै हो । अहिलेको मुलुकको आवश्यकता पनि निर्माण नै हो । अहिले जुन गतिमा मुलुक निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ । सोही अनुरुप निर्माण क्षेत्र र यससँग सम्बन्धित सामग्रीहरुको व्यवसायलाई अगाडि बढाउने क्षेत्रमा बढी क्रियाशील रहेको छु । म आफैपनि निर्माणकर्ता पनि हुँ भने निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको विक्री वितरण पनि गर्दछु । यसको निम्ति द बेष्ट ट्रेड लिङ्ग भन्ने भक्तपुर गठ्ठाघरमा हार्डवेयर, द बेष्ट हार्डवेयर प्रा.लि.पोखरा, बेष्ट प्रोजेक्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.समेत रहेको छ । जसले विभिन्न भवन, सडक, पूल लगायतका भौतिक संरचनाहरु निर्माण गर्ने काम गर्दछ ।  

यो व्यवसाय गर्न थाल्नुभएको कति समय भयो त ? 
सुरु देखि नै विभिन्न कम्पनीमा जागिर खाएँ । व्यवसायिक रुपमा म आर्थिक क्षेत्रको व्यक्ति हुँ । मैले फाइनान्समा आफ्नो शिक्षा पूरा गरे । तर यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न कम्पनीमा विभिन्न जिम्मेवारी लिएर काम गरेँ । यो बीचमा सँधै अरुको विजनेस मात्र कति चलाउने भन्ने सोच पहिला देखि नै आउने गरेको थियो । मैले काम गन थालेको १४÷१५ बर्ष भइसकेको थियो । सोही कारण मलाई आजभन्दा ६ बर्ष अगाडि निर्माण क्षेत्रमा काम गर्नुपर्दछ भनेर सोचाइ आयो, सोही बेलादेखि मैले निर्माण क्षेत्रको कामलाई अगाडि बढाएँ । 

सुरुको त्यो काम चाहिँ साझेदारीमा थियो ? 
किनभने हाम्रो यो काम नै लिङ्कबाट गर्नुपर्ने भएकाले पनि साझेदारी आवश्यक पर्दछ । त्यसमाथि आफू धेरैतिर हिड्नुपर्ने भएकाले पनि कार्यालयको व्यवस्थापनदेखि अन्य सबै कामको लागि पनि साझेदारी आवश्यक छ । तर साझेदारी भनेपछि सबैको आ–आफ्नै स्वार्थ हुन्छ । आफ्नो लक्ष्य एकातिर हुन्छ । मलाई त जसरी पनि आफूले हात हालेको क्षेत्रमा सफलता प्राप्त गर्नुछ । सोही कारण मैले आफ्नो काम सुरु गरेँ । 

आफूलाई यो निर्माण क्षेत्रमा आउनु पर्दछ भन्ने सोच कहाँबाट सुरु भयो ? 
मैले विशाल सिमेन्टमा जतिखेर काम गर्थे, यसको प्रयोग भएको देखेको थिएँ । देशको आर्थिक अवस्था कहाँ छ भनेर मापन गर्ने चिज भनेको सिमेन्ट र डण्डीको प्रयोग कति भयो भनेर थाहा हुने रहेछ । त्यो सँगै हाम्रो देश त पहाड नै पहाडले भरिपूर्ण बाटो घाटो पनि धेरै बनेको छैन । भौतिक संरचनाहरु पनि छैन । अबको भविष्य भनेको यही क्षेत्रमा छ भन्ने कुरा मलाई त्यहाँबाट पनि भएको हो । अन्य क्षेत्रमा धेरै मानिसहरुले काम गरिरहेको अवस्था पनि थियो । तर मलाई अबको दिनमा निर्माण क्षेत्रको नै भविष्य छ भन्ने मलाई लाग्यो र, सोही मुताविक मैले यो क्षेत्रलाई रोजेँ । 

मैले रोजगारी सँगै मैले अर्काे एउटा व्यवसायी वा उद्यमी पनि जन्माएँ भन्ने लाग्छ । मसँग काम गर्ने मेरो टिमका अहिलेसम्म झण्डै १० जना जतिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । मैले मेरो कम्पनीमा काम गर्नको निम्ति स्वतन्त्र र पारदर्शी ढंगबाट एउटा स्वरुपमा काम गर्ने वातावरण दिएको हुन्छु । यसक्रममा उसले धेरै कुरा सिक्नपनि सक्दछ । उसलाई व्यवसायमा पनि जिम्मेवार बनाउने गरेको छु । मेरो काम भनेको सबैमा समन्वय र सञ्चार गर्ने काम मात्र हो ।

कुनै पनि क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढ्नको लागि लगानीको कत्तिको जरुरी हुन्छ ? 
तपाईहरुसँग यदि कुनै दृष्टिकोण र सोच, लगाव, सिर्जनशीलता एवं निरन्तरता भयो भने लगानी मात्र प्रमुख कुरा होइन । जुनसुकै कुरामा पनि निरन्तता भयो भने उसमा दक्षता पनि प्राप्त हुन्छ । तपाईले जुनसुकै क्षेत्रमा काम गर्नुस्, तर व्यवसाय गर्दा आफ्नो अनुभव, सीप र सम्भाव्यता अध्ययन गर्नुहोस् । तपाईको निम्ति सहज हुन्छ । तपाईलाई यदि कुनैपनि कुराले मन छोएको छ भने त्यसलाई निरन्तरता दिने कोसिस गर्नुस् । कुनैपनि हालतमा नछोड्नुस् । एउटा बच्चाले कुनै चिज प्राप्त गर्नको निम्ति जसरी जिद्धि गर्छ र नपाउन्जेल छोड्दैन नि, त्यस्तैगरी व्यापार व्यवसायमा लाग्नेले पनि यसरी नै सोच्नु जरुरी छ । हामीमा के कुरा बढी हावी देखियो भने एउटा कुरामा सफलता हासिल नहुनासाथ अब नेपालमा केही हुँदैन । म त विदेश जान्छु भन्ने मानसिकताले कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न सकिँदैन । 

अरुको कम्पनीमा काम गर्दा र आफ्नै कम्पनीको काम गर्दा के फरक हुने रहेछ त ? 
यसमा दुईवटै पक्ष विद्यमान रहेको हुन्छ । एउटा सकारात्मक र अर्काे नकारात्मक विभन्नता हुने गर्दछ । अरुको कम्पनीमा काम गर्दा सबै जिम्मेवारी आफ्नो हुनु स्वभाविकै हो । तर अन्तिम निर्णय गर्ने बेलामा कम्पनीका नेतृत्वसँग समन्वय गर्न सकिन्थ्यो । तर आफूले गर्दा यी सबै बिषयमा ध्यान दिनुपर्दछ । यसमा थप जिम्मेवारी हुने गर्दछ । हाम्रोमा अरुको कम्पनीमा काम गर्दा जनसुकै जिम्मेवारीमा काम गरेतापनि उसलाई पूर्ण रुपमा जिम्मेवारी सुम्पेर काम गराउने प्रचलन अझैपनि विकास भइसकेको छैन । तर आफ्नो व्यवसायमा सम्पूर्ण जिम्मेवारी र भूमिका आफ्नै हुने भएकाले धेरै कुरा सिक्न भने सकिन्छ । 

अहिले तपाईको कम्पनीमा कति जनाले रोजगारी प्राप्त गरिरहेका छन् ? 
मेरो सबै कम्पनीमा काम गर्ने जनशक्ति २५० जना जति छन् । 

तपाईले व्यापार व्यवसाय मात्र गरिरहनु भएको छैन, रोजगारीपनि सिर्जना गरिरहनुभएको छ । यो कुरालाई कसरी लिन सकिन्छ ? 
मैले मेरो कामबाट रोजगारी मात्र सिर्जना गरेको छैन । मेरो कम्पनीमा काम गर्ने सबैलाई म सम्मान गर्छु । म आफैपनि विभिन्न कम्पनीमा जागिर खाएर आएको मान्छे हुँ । मलाई त्यहाँ जे कुराको असन्तुष्टी थियो, त्यो मेरो कम्पनीमा काम गर्नेहरुमा पनि हुन सक्दछ । र म त्यसलाई राम्ररी बुझ्दछु । उसलाई म पूर्ण रुपमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउँछु । उ सधै मसँग बस्छ भन्ने छैन । मैले रोजगारी सँगै मैले अर्काे एउटा व्यवसायी वा उद्यमी पनि जन्माएँ भन्ने लाग्छ । मसँग काम गर्ने मेरो टिमका अहिलेसम्म झण्डै १० जना जतिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । मैले मेरो कम्पनीमा काम गर्नको निम्ति स्वतन्त्र र पारदर्शी ढंगबाट एउटा स्वरुपमा काम गर्ने वातावरण दिएको हुन्छु । यसक्रममा उसले धेरै कुरा सिक्नपनि सक्दछ । उसलाई व्यवसायमा पनि जिम्मेवार बनाउने गरेको छु । मेरो काम भनेको सबैमा समन्वय र सञ्चार गर्ने काम मात्र हो । मसँग काम गरेर जानेहरुले आफ्नै व्यवसाय सुरु गर्न सक्दछ, यसमा म निश्चिन्त छु । मूल कुरा भनेको व्यापारमा इमान्दारिता र सोचको कुरा हो । तपाईसँग राम्रो विचार र अवधारणा छ भने जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्नुहुन्छ । 

मुलुकमा तपाईजस्तो युवाहरु किन निराश बनिरहेका छन् ? उनीहरु विदेश जान तयार छन् । आफ्नो भूमिका सम्भावना देखिरहेका छैनन् । ती युवाहरुले नेपालमै गर्न सक्ने के–के कामहरु हुन सक्दछन् ?
यसमा महत्वपूर्ण कुरा भनेको आफूले क्षेत्र छनौट गर्नुप¥यो । यसमा दुईवटा पक्षले काम गरिरहेको जस्तो मलाई लाग्छ । यहाँ नेपालमा साँच्चै काम नपाएर विदेशिन खोजिरहेको छ कि, अरुको लहैलहैमा लागेर उ विदेश जान खोजिरहेको छ ? त्यसमाथि पनि अर्काे युवा समूह छिटो र धेरै पैसा कमाउने लोभमा पनि विदेश गएको देखिन्छ । तर यहाँ कामको सम्भावना छ भनेर धेरैले देखेका छैनन् । अहिले यहाँ काम गर्न नेपाली जनशक्तिको अभाव छ । अहिलेपनि हामीले विदेशबाट श्रमशक्ति ल्याएर काम गराउनुपर्ने अवस्था छ । मसँग नै चिनियाँ जनशक्तिले काम गरिरहेको छ । उनीहरुले नेपालबाट पैसा लगिरहेको छ भने यहाँ गर्नेलाई जहाँपनि पैसा छ । सक्ने हो भने त यहाँ यति धेरै सहज र वातावरण पनि उत्तिकै सुहाउँदो छ । हरेक क्षेत्रमा कुनैबेला तलमाथि हुन्छ नै । तर हामीमा धैर्यता र लगनशीलता अनि निरन्तरताको कमी भएकाले पनि युवा जनशक्तिमा नकारात्मक सोच हावी भएको मान्न सकिन्छ । अहिले विदेश जाने जनशक्तिमा विद्यमान मनोविज्ञान कस्तो देखिन्छ भने जसरी भएपनि पैसा कमाउने भन्ने हो । यसको निम्ति उनीहरु जस्तोसुकै काम गर्न पछि पर्दैनन् । कुनै पनि कुराको सानो तहबाट सुरु भएमा मात्र त्यसको दीगोपना हुन सक्दछ । एकैपटक धेरै र ठूलो सोच राख्ने प्रबृत्तिले सबैलाई खराब बनाउन सक्दछ । 

तपाईसँगैका सहपाठीहरु कतिपय विदेशमा पनि काम गरिरहेका छन् ? तर तपाई नेपालमै केही गर्न सकिन्छ भनेर क्रियाशील रहनुभएको छ । के कुरालाई गर्दा तपाईलाई नेपालमा काम गर्नलाई प्रेरित गरेका हो त ? 
अहिले मसँगै पढेका साथीहरुले विदेश गएर राम्रो गरेँ भन्नेहरु अत्यन्तै कम छन् । उनीहरुमा आत्मसम्मान छैन । एकखालको इश्र्या उनीहरुमा मेरो कामप्रति विद्यमान रहेको पाउछु म । त्यहि भएर म विदेश जान खोज्ने युवाहरुलाई भन्छु । तपाईहरु पढ्न जान खोज्नुहुन्छ भने जानुस् । तर नेपालमै फर्केर केही गर्छु भन्ने सोच लिएर जानुस् । यहाँ प्रसस्त सम्भावना छ । विदेशमा गरेको मिहिनेतले कुनै पनि व्यक्तिमा आत्मसम्मान र सन्तुष्टी प्राप्त हुन सक्दैन । जुन आफ्नै भूमिका गर्दा धेरै गुणा बढी हुने गर्दछ । 

कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नको निम्ति प्रमुख कुरा के रहेछ त ? 
जीवनमा उतार चढाव सबैकोमा हुन्छ । त्यसमा पनि रमाउन सिक्नुपर्दछ । कुनै पनि कुरामा असफलता हुँदा चिन्ता मात्र लिन थालियो भने उ भित्र धेरै नकारात्मक सोच हावी हुन थाल्दछ । तपाईको जीवनमा सफलता हुँदा मात्र तपाई रमाउनहुन्छ भने त्यो गलत हो जस्तो मलाई लाग्छ । सफलतामा रमाउनु कुनै नौलो कुरा होइन । जीवनमा कहिलेकाहिँ असफलता हुँदा पनि त्यसलाई सहज ढंगले लिने कोसिस गर्नुस् । त्यसले मानिसलाई कहिलेपनि कमजोर बनाउँदैन । 

अहिले नेपालमा उद्यमशीलतालाई अगाडि बढाउनको निम्ति कत्तिका सहज वातावरण छ ? 
यदि उद्यमशीलताको निम्ति वातावरण सहज नभएको भए हामीजस्तो युवाहरु यो क्षेत्रमा किन आउँथे । मुलुक अहिले समृद्धिको बाटोमा अगाडि बढिरहेको छ । यो अवस्थामा निर्माण क्षेत्रमा काम गर्ने जनशक्ति र व्यवसायी पनि उत्तिकै जरुरी छ । यसरी हेर्दा नेपालमा उद्योग व्यवसायलाई अगाडि बढाउनको निम्ति वातावरण सहज भएको महसुस गर्न सकिन्छ । यो बीचमा सरकारको सोच र अवधारणा पनि सकारात्मक हुँदै गएको म पाउछु । तर नेपालमा धेरै नकारात्मक सोच र चिन्तनले मात्र काम गरेका कारण केही भएन कि जस्तो देखिएको हो । वास्तविकतामा यो होइन, धेरै सकारात्मक वातावरण सिर्जना हुन थालेको छ । हामी सबै कुरा सरकारले मात्र गरिदेओस् भन्छौ, त्यो गलत हो । हामी आफैले पनि कति गर्न सक्यौ भनेर हेर्ने हो भने यहाँ गर्न सकिने धेरै कुराहरु छन् । 

तपाई यो क्षेत्रमा सफलताको बाटोमा अगाडि बढिरहनुभएको व्यक्ति हुनुहुन्छ । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नको निम्ति के कुरा प्रमुख रहेछ भन्ने लाग्छ ? 
मुख्य कुरा भनेको तपाईमा इच्छाशक्ति, लगनशीलता, मिहिनेत र निरन्तता नै हो । अनि कुनै पनि कुरामा सफलता हासिल गर्नको निम्ति नैराश्यता हावी भयो भने त्यो बाधक हुनेगर्दछ ।