लक्ष्य अनुसार योजना सम्पन्न हुन्छ : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र ३, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाभित्र आर्थिक बर्ष २०७४/०७५ का निम्ति लक्षित कार्यक्रमअनुसार ७५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको छ ।

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै नगरप्रमुख थापाले नगरपालिकाभित्रका भौतिक निर्माणका योजनाहरु लगभग सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाभित्र हामीले लक्षित गरेको कार्यक्रम तथा योजनाहरु निर्धारित समयमा नै सम्पन्न हुनेछ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएका छन् बाँकी २५ प्रतिशत काम पनि सक्ने योजनामा हामी लागिरहेका छौं ।’  

यो आर्थिक बर्षमा भौतिक निर्माणका कार्यलाई बढी प्राथमिकता दिएको बताउँदै थापाले नगरपालिकाभित्र निर्माण लक्ष्य गरिएको सडक निर्माणको कार्य बर्षा नलाग्दै सकिने गरी काम अगाडि बढिरहेको बताउनुभयो । 

उहाँले नगरपालिकाभित्र रहेको विभिन्न शिवालयको जीर्णाेद्धार तथा भौतिक संरचना निर्माणमा विशेष सहयोग गरिएको समेत बताउनुभयो । हाल वडा नम्बर ८ मा अवस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको मूलद्वार निर्माणका लागि २० लाख, लटरम्बेश्वर महादेव मन्दिरका लागि १० लाख, वडा नम्बर ९ स्थित नन्दीकिशोर महादेव मन्दिरमा धर्मशाला निर्माणका लागि १० लाख, वडा नम्बर ५ स्थित सुवर्णेश्वर महादेव मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि १० लाख तथा वडा नम्बर १ स्थित सोमलिङ्गेश्वर महादेव मन्दिरको जीर्णाेद्वारका लागि १० रकम विनियोजन गरिएको बताउनुभयो । 

थापाले भन्नुभयो, ‘हामी लक्ष्यअनुसार काम गर्न लागिरहेका छौं, अहिलेसम्मको प्रगति हेर्दा निर्धारित समयसिमाभित्रै सबै योजना सम्पन्न गर्नेछौं ।’