सानो हेलचेक्राइँले ठूलो आगजनीको दुर्घटना हुन सक्दछ । सुनिता भारद्वाज, पहिलो नेपाली महिला फायर फाइटर

विमल थापा
विमल थापा

२०७५ चैत्र ३, आईतबार


सानो झिल्कोबाट सुरु हुने आगलागीले अपत्यारिलो ढंगले धनजनको क्षति पु¥याउने गरेको छ । नजिकिँदै गरेको सुख्खायाम र हावा हुरी चल्ने मौसमका बेला त आगजनीका दुर्घटनाहरु अत्याधिक मात्रामा हुने गरेका छन् । यो अवस्थामा आगलागी कसरी हुन्छ ? यसको रोकथाम र नियन्त्रण गर्नको निम्ति हामी कत्तिको सक्षम छौं । आगलागीबाट कसरी बच्न सकिन्छ र यसका भरपर्दाे उपायहरु के–के हुन् भन्ने बिषयमा केन्द्रित रहेर नेपालकी पहिलो महिला फायर फाइटर मध्ये एक सुनिता भारद्वाजसँग अनन्त सन्देशका विमल थापाले गरेको कुराकानीको सम्पादित अंश :

आगलागीबाट हुने जोखिम कसरी निम्तिने गर्दछ ? यसका कारणहरु के–के हुन्  ?
आगलागी हुने धेरैजसो घटनाहरु यस सम्बन्धी अज्ञानताका कारणले हुने गरेको पाइन्छ । यस बारेमा धेरै मानिसहरुलाई जानकारी नै छैन । आगो कसरी लाग्दछ ? भन्ने कुरा पनि धेरैलाई थाहा छैन । आगलागी भनेको सानो कुराबाट सुरु हुन्छ । यो भनेको एकदमै सानो झिल्कोबाट सुरु हुन्छ । आगोको विभिन्न अवस्था हुने गर्दछ । आगोलाई सानो झिल्कोबाट नै नियन्त्रण गर्न सक्यो भने कुनैपनि क्षति गर्दैन । यसको निम्ति तपाईको घरमा सानो एक्स्टेन्गुइसर राख्नुभएको छ र त्यसलाई सञ्चालन गर्ने विधि तपाईलाई थाहा छ भने पनि त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ । अहिले नेपालीहरुमा यस बारेमा आवश्यक रुपमा सचेतनाको अभाव म देख्दछु । सामान्यतया साना–साना तीनवटा बस्तुहरु मिलेर आगो लाग्दछ । जस्तै तापक्रम, इन्धन र अक्सिजनको संयोजनबाट नै आगो सिर्जना हुन्छ ।  
अहिले नेपालमा र विश्वव्यापी रुपमा भइरहेका आगजनीका घटनाहरुमा के कस्ता भिन्ताहरु देखिन्छन् ?
हाम्रो देशमा (काठमाण्डौको सन्दर्भमा) काठबाट बनेका चीजहरु कम मात्रामा प्रयोगमा आइरहेका छन् । यहाँ सिमेन्टबाट बनेको धेरै चीजहरुको प्रयोग धेरै देखिन्छन् । यस्तो अवस्थामा आगलागीका घटनाहरु धेरै नै कम हुन्छन् । यहाँ हुने आगजनीका दुर्घटना भनेको अज्ञातका कारण बेसी हुने गरेको देखिन्छ । खासगरी यहाँ प्रयोग हुने अत्याधिक प्रज्ज्वलनशील पदार्थहरु ग्याँस, पेट्रोल जस्ता बस्तुहरुको व्यवस्थापन गर्न नसक्दा पनि यस्ता आगजनीका घटनाहरु हुने गरेका छन् । अहिले हामीले ग्याँस तथा पेट्रोलियम पदार्थलाई एकैठाउँमा अव्यस्थित रुपमा राख्ने गरेका समेत छौ । कतिपय अवस्थामा त आवश्यकता भन्दा बढी भण्डारण समेत गर्ने गरेका छौं । जुन यस्ता दुर्घटना नित्याउने कारक हुने गरेको छ  । तर विदेशमा भने कस्तो छ भने उनीहरुको स्मोक डिटेक्टर समेत राख्ने गरेको पाइन्छ । सानो–सानो आगोहरु त्यसैले डिटेक्ट गर्ने गर्दछ । यस्तो हुँदा हुँदै पनि कतिपय अवस्थामा लापरबाहीका कारणले त्यहाँपनि यस्ता घटनाहरु हुने गरेको पाइएको छ । 
अहिले नेपालमा आगजनीका कारणका र रोकथामका उपायका बारेमा आधारभूत कुरा थाहा नहुँदा समेत ठूलो दुर्घटना व्यहोर्ने बाध्य भएका छौं । यसमा शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा कस्तो भिन्नता हुने गरको छ ? 
स्वभाविक रुपमा ग्रामीण क्षेत्रमा कच्ची तथा पराल तथा खरले छाएका घरहरु हुने गर्दछन् । त्यसको साथै तराई क्षेत्रमा साना–साना यस्ता झुपडीहरु पनि रहेका छन् । ती झुपडीहरु आगजनीको जोखिमका हिसाबले व्यवस्थित छैनन् । एकअर्कासँगै जोडेर बनाइएका यस्ता बस्तीमा एउटा झुपडीमा आगो लाग्दा सबै बस्ती नै खरानी हुने गरेको समेत पाइएको छ । यस्तो अवस्थामा हामीले बुझ्नुपर्ने कुरा भनेको आगलागी हुँदा बीचको कुनै एउटा झुपडीलाई हटाइयो भने पनि पूरै बस्तीमा आगलागीबाट क्षति हुनबाट जोखिन सक्दछ । तर यी साना–साना कुराहरु नजान्दा पूरै बस्ती सखाप हुने गरेको पाइएको छ । यी सबै कुरा हुनु भनेको अज्ञानताकै कारण हो भन्न सकिन्छ । 
अहिले शहरी क्षेत्रमा भएका आगजनीका घटनाहरु मुख्य रुपमा कसरी हुने गरेको पाइएको छ ? 
शहरी तथा नगर क्षेत्रमा हुने गरेका आगजनीका घटनाहरु विशेष गरेर अत्याधिक प्रज्ज्वलनशील पदार्थको उचित व्यवस्थापन नहुँदा तथा विजुलीका तारहरु जथाभावी राखेका कारण पनि आगजनी भएका छन् । त्यसको साथै अत्याधिक प्रज्ज्वलनशी पदार्थको अधिक संख्यामा भण्डारण गर्ने प्रचलन भएका कारण पनि कुनैपनि बेला आगलागी हुने सम्भावना बढी देखिएको छ ।  
 

भर्खरै मात्र नेपाल पहिलो पटक हिमालयन इन्स्टिच्यूट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस् (हाइफेस) खुलेको छ । जहाँ मैले एउटा कन्सल्टेन्टका   रुपमा समेत काम गरिरहेको छु । यो निजी क्षेत्रबाट सञ्चालित छ भने यसले नेपाली जनशक्तिलाई उपयुक्त तालिम प्रदान गर्न थालेको छ । जहाँ प्रशिक्षण लिएका फायर फाइटरहरु विदेशमा समेत राम्रो रोजगारी प्राप्त गर्न सक्ने अवसर पनि सिर्जना भएको छ । 

तपाई अन्तर्राष्ट्रिय स्तरमा अग्नि नियन्त्रण सम्बन्धी प्रशिक्षण प्राप्त गरेको व्यक्ति पनि हुनुहुन्छ । अहिले नेपालमा अग्नि नियन्त्रणका लागि कानुनी र नीतिगत व्यवस्था कस्तो छ ? 
नेपालमा यस सम्बन्धमा नीतिगत र कानुनी स्थिति हेर्ने हो भने दयनीय नै छ । अहिलेसम्म यस सम्बन्धमा कुनैपनि नीति नबन्नु बिडम्बना हो भन्न सकिन्छ । अहिले कुनै पनि घर बनाउँदा त्यो घरमा कम्तिमा पनि ५ जना मानिसहरु बसोबास गर्छन् । यस सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता के छ भने कुनैपनि एउटा घरमा ५ जनाभन्दा बढी मानिस बस्छन् भने कम्तिमा पनि एउटा फायर एक्टेन्गुइसर अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । अनि त्यसलाई कुनै स्थान र स्थितिमा राख्ने भन्ने समेत निर्धारण गरिएको हुन्छ । कुनै पनि आगजनीका घटनाहरु हुँदा लिफ्ट प्रयोग गर्ने नि नगर्ने ? कुनै दुर्घटना हुँदा अत्यावश्यक रुपमा कुन ढोकबाट बाहिर निस्कने ? जस्ता कुराहरु सहितको एउटा सुरक्षित अवतरण सम्बन्धी एउटा योजना नै हुने गर्दछ । मैले आफैले पनि मेरो घरमा यो योजना बनाएको थिए । जस्तो कुनैपनि बेला जानसक्ने भूकम्पको बेला मेरा छोराछोरीहरुलाई नै कसरी सुरक्षित अवतरण गर्ने ? भन्ने सिकाएको छु । यस्तो अवस्थामा कुनै पनि दुर्घटना हुँदा त्यसको प्रभाव प्रत्यक्ष रुपमा नपरोस् भनेर सुरक्षित क्षेत्रलाई निर्धारण गर्नुपर्दछ । जस्तो कुनै पनि घर, कम्पनी वा अफिसमा कुनैपनि बेला हुन सक्ने आगजनीको घटनाहरु हुँदा तपाईहरु कहाँबाट भाग्ने वा जोगिने भन्ने एउटै योजना हुनु जरुरी छ । अनि यो योजना सबैलाई जानकारी पनि दिनु जरुरी छ । जब तपाईहरु सुरक्षित ठाउँमा पुग्नुहुन्छ, अनि सबै छन् कि छैनन् भने जाँच गर्नुपर्दछ । यति कोही छुटेको छ भने आपतकालिन उद्धारकर्ताहरुलाई यस बारेमा जानकारी दिनुपनि जरुरी छ । 
 

यति ठूलो जोखिम भइरहेको आगजनी र यसका घटनाहरुका बारेमा राज्यले किन ध्यान दिन नसकेको हो जस्तो लाग्दछ ? 
यसमा मुख्य कुरा भनेको अज्ञानताकै कारण हो जस्तो लाग्दछ । आगजनी हुँदा यसको क्षति कहाँसम्म पर्न सक्दछ भन्ने कुरा हरेक क्षेत्रमा हुनु जरुरी छ । यस बारेमा आवश्यक सचेतना हुन नसक्दा नै आज यस्ता घटनाहरु भइरहेका छन् भन्ने मलाई लाग्दछ । अहिले नीति बनाउने तहमा पनि यस बारेमा आवश्यक सचेतना नभएका कारण पनि हुन सक्दछ भने हामी आफैले पनि यस बिषयमा आवश्यक मात्रामा सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न नसकेको पक्कै पनि हो । अहिलेको अवस्थामा हामीसँग २४७ वटा नगरपालिकामा आवश्यक र दक्ष जनशक्ति छैनन् । म आफैचाहिँ हवाई उड्डयनको क्षेत्रमा हेर्ने भएकाले मेरो सीमितता त्यहाँ मात्र छ । तर यसको आवश्यकता भनेको सबै क्षेत्रमा उत्तिकै छ । अहिले विद्यमान रहेको जनशक्तिलाई आवश्यक तालिम दिने कुनैपनि निकाय छैन अहिलेसम्म पनि । 
अबको अवस्थामा स्थानीय तहले यस्ता जनशक्तिहरुलाई आवश्यक तालिम र प्रशिक्षण कसरी प्रदान गर्न सक्दछ ? 
यसको निम्ति यहाँ भइरहेका तालिमप्राप्त जनशक्तिबाट पनि सहयोग लिन सक्दछ भने अग्नि नियन्त्रकहरुलाई कतिपय अवस्थामा आवश्यक प्रशिक्षणको निम्ति पठाउन पनि सक्दछ । त्यस्तै विदेशी विशेषज्ञहरुलाई नेपालमा बोलाएर अनुभव साट्न पनि सकिन्छ । अहिले नेपालमा फायर फाइटरलाई जनमानसले हेर्ने दृष्टिकोण पनि त्यति सकारात्मक देखिँदैन । तर यही फायर फाइटर विदेशमा जाँदा त्यहाँ भने उच्च सम्मानका साथ सल्यूट खान्छु । अहिले केही समययता नेपाली फायर फाइटरहरु विदेशतिर पनि जाँदैछन् र त्यहाँ आफ्नो सीप र कौशल प्रदर्शन गर्नसक्ने वातावरण भने सिर्जना हुन थालेको छ । अहिले यो क्षेत्रमा काम गर्ने सम्भावना विदेशमा समेत धेरै रहेको छ । 
यो क्षेत्रको सम्भावना बढिरेको अवस्थामा नेपाली युवा पुस्ता यो क्षेत्रमा कत्तिको आकर्षित हुन थालेका छन् ? 
अहिलेसम्म हेर्दा यो क्षेत्रका बारेमा धेरै युवाहरुलाई जानकारी नै छैन । अहिलेपनि नेपाली युवाहरु फायर फाइटरमा पनि विदेश जान पाइन्छ र ? भन्ने गरेका छन् । भर्खरै मात्र नेपाल पहिलो पटक हिमालयन इन्स्टिच्यूट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस् (हाइफेस) खुलेको छ । जहाँ मैले एउटा कन्सल्टेन्टका   रुपमा समेत काम गरिरहेको छु । यो निजी क्षेत्रबाट सञ्चालित छ भने यसले नेपाली जनशक्तिलाई उपयुक्त तालिम प्रदान गर्न थालेको छ । जहाँ प्रशिक्षण लिएका फायर फाइटरहरु विदेशमा समेत राम्रो रोजगारी प्राप्त गर्न सक्ने अवसर पनि सिर्जना भएको छ । 
हाइफेस अन्तर्गत फायर फाइटरको तालिम लिनको निम्ति न्यूनतम योग्यता कति हुनु जरुरी छ ? 
सुरुमा त फायर फाइटर बन्नको निम्ति शारीरिक रुपमा तन्दरुस्त हुन जरुरी छ । त्यसको साथै उसको शैक्षिक योग्यता भनेको न्यूनतम एस.ई.ई.पास गरेको हुनु जरुरी छ । यसमा केमेष्ट्री तथा फिजिक्स अफ फायरका बारेमा पनि पढाइ हुने भएकाले न्यूनतम शैक्षिक योग्यता हुनु जरुरी छ । यसमा आगो कसरी लाग्छ ? आगोको बृद्धि कसरी हुन्छ ? कसरी आगो निभाउन सकिन्छ भन्ने जस्ता बिषय पनि समावेश हुने भएकाले पनि न्यूनतम शैक्षिक योग्यता निर्धारण गरिएको हो । यसमा हामीले १ महिनाको कोर्षमा तालिम दिइरहेका छौं । यसको मूल ध्येय भनेको नेपाली फायर फाइटरहरुलाई आगलागीबाट रोकथान तथा नियन्त्रण गर्ने तौर तरिका पनि सिकाउनु नै हो । यस बाहेक विभिन्न खालका तालिमहरु हामीले प्रदान गर्ने योजना बनाएका छौं । यो जुनसुकै क्षेत्रका र वर्ग, समुदायका मानिसहरुले समेत लिन सक्दछन् । 
यस्ता खालका तालिमहरु तपाईहरुले स्थलगत रुपमै पनि प्रदान गर्नुहुन्छ ? 
हो, स्वभाविक रुपमा हामीले विभिन्न ठाउँमा पुगेर त्यहाँ यसबारेमा सचेतना अभिबृद्धिका साथै आवश्यक प्रशिक्षण दिने योजना बनाएका छौं । खासगरी पहिलो चरणमा छिट्टै तराईका विभिन्न जिल्लामा पुगेर यस बारेमा आवश्यक सचेतनामूलक कार्यक्रहरु आयोजना गर्दैछौं । अहिले पनि तराईका कतिपय समुदायमा एउटा सलाईको काँटीको लोभले गर्दा अँगेनामा विहानको आगो बालिरहने प्रचलन समेत भेटिन्छ । सोही आगो हावाहुरी आउँदा सल्केर पूरै घर र बस्तीमा समेत आगो लाग्ने गरेको उदाहरणहरु हामीले हरेक बर्षजसो देख्ने र सुन्ने गरेका छौं । त्यसैले पनि यो हावा हुरी लाग्ने मौसम अगाडि नै हामी तराईका विभिन्न जिल्लामा पुगेर यस बारेमा सचेतना अभिबृद्धि गर्ने तयारीमा छौं ।